दिक्तेल–खानीडाँडा कालोपत्र ४५ प्रतिशत सम्पन्न

Sep 11, 2019 10:08 AM RSS



कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो ।

करिब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताए। “कालोपत्र गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइसकिएको छ”, उनले भने, “तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।”

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक छ दशमलव २५ मिटर चौडाइ रहने र तीन दशमलव ७५ मिटर भाग कालोपत्र गरिने सम्झौतामा उल्लेख छ । अठार महीनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी गत वर्ष असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो ।

दशैँअघि कम्तीमा पनि ६ किलोमिटर सडकमा कालोपत्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक खत्रीले बताए। सो सडक गत मङ्सिर १ गते प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले औपचारिकरूपमा शिलान्यास गरेका थिए।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने उक्त सडकलाई निकै महत्वका साथ हेरिएको छ ।

यसअघिसम्म हिउँदको समयमा छ महीना मात्र सञ्चालन हुने सो सडक ढिलै भए पनि कालोपत्रको काम थालिएपछि जिल्लावासी हर्षित भएका छन् । दिक्तेल–खानीडाँडा सडक कालोपत्र भएर सञ्चालनमा आएपछि जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज हुने र दैनिक उपभोग्यवस्तुको मूल्यसमेत घट्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए।

दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल सोही सडकखण्डको खाल्लेमा पर्छ। हिउँदमा मात्र सञ्चालन हुने सो सडकखण्डमा करीब ६ महिना यातायात सञ्चालन नहुँदा जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई विमानस्थलसम्म पु¥याउन स्ट्रेचर प्रयोग गर्नुपर्ने अवस्था छ।




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।