कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने

Sep 11, 2019 01:02 PM RSS



तेत्तीस केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ ।

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत हुने तयारीमा रहेको र प्रसारण लाइन विस्तारका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए। प्रसारण लाइन विस्तारले सुर्खेत–दैलेखवासीले लामो समयदेखि भोग्दै आएको ‘लो–भोल्टेज’को समस्या अन्त्य हुने उनको भनाइ थियो।

उक्त लाइनको क्षमता विस्तारका सम्बन्धमा एक वर्षदेखि संसद्मा आवाज उठाउँदै आएका सुर्खेत–२ का सांसद नवराज रावतले निर्माण सम्पन्न नभएसम्म खबरदारी गरिराख्नुपर्ने बताए ।

प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले ‘इआइए’ अध्ययन गरेको थियो। आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सब–स्टेशनमा गएर टुङ्गिने उक्त प्रसारण लाइनको लम्बाइ करीब ५१ किलोमिटर हुने र ‘डबल सर्किटका एङ्गल टावर’ २६ वटा रहने छन्। आयोजनाको कुल टावरको सङ्ख्या १४५ रहने बताइएको छ।

आयोजनाको अनुमानित लागत रु एक अर्ब ८० करोड लाग्ने जनाइएको छ। प्रसारण लाइनले घना बस्तीका मुख्य संरचना तथा वनक्षेत्रलाई समेत असर पु¥याउने अनुमान गरिएको छ। आयोजना क्षेत्रको स्थलगत सर्वेक्षणअनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सामुदायिक र सरकारी वन पर्नेछन्। प्रदेश ५ को बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र रहने सो आयोजनाका कारण बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगङ्गा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिका प्रभाबित हुने इआइए प्रतिवेदनमा उल्लेख छ।

कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको थियो। तत्कालीन राजा वीरेन्द्रको भ्रमणलाई मध्यनजर गरी छ महीनाको अवधिमा हतारहतार प्रसारण लाइन विस्तार गरिएको थियो । मापदण्डबिनै लाइन विस्तार गरिँदा सामान्य हावाहुरी र वर्षात्मा पोल ढल्ने तथा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।