नेपालमा पहिलो पटक चल्यो बिजुली बस

Sep 11, 2019 03:27 PM RSS



नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ ।  एक करोड ६२ लाख मूल्यको सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । 

बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ। विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ। विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ।

प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताए। विद्युतीय बस सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेकाे र उहाँकै सुझावका आधारमा संस्थाको नाम ‘सुन्दर’ रहन गएको उल्लेख गरे। बस सञ्चालनका लागि विभिन्न चुनौती भए पनि त्यसलाई चिरेर अघि बढ्ने योजना प्रालिको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजना रहेको बताए।

नेपालमा विद्युत्को उत्पादन बढिरहेकाले सरकारले आन्तरिक रूपमा नै विद्युत्को खपत बढाउँदै जाने लक्ष्य लिएको छ । 

सामाजिक अभियन्ता महावीर पुनले विद्युतीय बस आर्थिक र वातावरणीय हिसाबले पनि आवश्यक रहेको बताए ।

  • सेवा विस्तार गरिँदै

विद्युतीय बस विस्तार गर्दै जाने सुन्दर यातायातले बताएको छ। कम्पनीले अहिले दुई वटा बस शुरुआत गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। यही वर्षभित्रमा ५० वटा बस भित्र्याउने लक्ष्य रहेको बताइएको छ । ८१ जना शेयर सदस्य रहेको प्रालिले काठमाडौँ उपत्यकासँगै प्रदेश नं १ र ५ मा पनि बस विस्तार गर्दै जाने योजना बनाएको छ।

  • बस किन्ने तयारी गर्दै साझा

तीनै तहको सहकार्यमा साझा यातायातले विद्युतीय बस खरीदको तयारी गरेको छ । तीन सय बस खरीदका लागि दुई महीना पहिले नै नेपाल सरकारले तीन अर्बको र प्रदेश ३ ले  ३० करोडको साझाको शेयर खरीद गरेका थिए।

त्यस्तै काठमाडौँ महानगरपालिकाले  १० करोड बराबरको साझाको शेयर खरीद गरेको थियो। सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताको किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ । आगामी वैशाखसम्ममा थोरै सङ्ख्यामा भए पनि बस भित्र्याउने तयारी भएको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।

  • इतिहास बन्यो ट्रली बस

काठमाडौँ उपत्यकामा एक दश पहिलेसम्म सञ्चालनमा रहेको ‘ट्रली बस’ नयाँ पुस्ताका लागि इतिहास बनेको छ । चीन सरकारको सहयोगमा काठमाडौँमा ट्रली बस सञ्चालन भएको थियो । नेपालमा २०३२ साल पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो।

तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो। त्यतिबेला बस काठमाडौँबाट मध्यपुर थिमि हुँदै सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको थियो। २०५२ सालमा दाताको सहयोगमा १० बस थपिएको भए पनि एक दशक पहिले सेवा बन्द हुँदा नौ वटा मात्र चालू अवस्थामा थिए।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।