सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, लाभांश अनुमोदन र मर्जर मुख्य एजेण्डा

Oct 03, 2019 11:36 AM Merolagani



सिद्धार्थ बैंक (SBL) ले कात्तिक ७ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा आब्हान गरेको छ।

बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थालाई  गाभ्ने/गाभिने विशेष प्रस्ताव सहित बैंकको १८ औं वर्षिक साधारण सभा बोलाएको हो।

साधारण सभामा बैंकले गत वर्षको मूनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ। बैंक सञ्चालक समितिले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज २९ गते शेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) गर्ने भएको छ। जसअनुसार असोज २८ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धको सम्पूर्ण आवश्यक काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव लैजाने भएको छ। 

साथै सभाले बैंकको स्वतन्त्र सञ्चालक पदमा बाँकी अवधिका लागि हसना शर्माको नियुक्तिलाई पनि अनुमोदन गर्ने छ।