पूँजी बजारको जानकारी र अनुभव दिने 'कुबेर बिज' कार्यक्रम

Oct 04, 2019 12:57 PM Merolagani



काठमाडौं कलेज अफ् म्यानेजमेन्टले चौंथो कुबेर बिज कार्यक्रमको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कलेजका विद्यार्थीहरुका लागि पूँजी बजारका बारेमा यथार्थ जानकारी र अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने गर्न सुरु गरिएको 'कुबेर बिज' एउटा शेयर लगानी सम्बन्धी कार्यक्रम हो।

जुन कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई पूँजी बजारमा के–कसरी लगानी गर्ने र नाफा वा घाटा के कारणले हुन्छ भन्ने बारेमा वास्तविक लगानी गरेर नै सिक्ने र अनुभव हासिल गर्ने अवसर प्रदान गरिन्छ।

जसमा कलेज र विद्याथीले एउटा फण्ड सिर्जना गरेर लक्षित विद्यार्थीहरुको ग्रुप बनाएर सो ग्रुपले पूँजी बजारमा गई कम्पनी छनोट गरी प्रत्यक्ष लगानी गर्नेछन् र नाफा र घाटाको वास्तविक अनुभव पनि हासिल गर्नेछन्।

यसअघि तीन वटा कार्यक्रम सम्पन्न गरिसकेको कलेजले चौंथो कुबेर बिज कार्यक्रमको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो। वित्तीय क्षेत्र र पूँजी बजारका तीन विज्ञहरुको उपस्थिति कार्यक्रममा कुवेर बिजको परिचयका साथै पूँजी बजारमा के कसरी प्रवेश गर्ने भन्ने बारेमा अन्तरक्रिया भएको थियो।

शेयर लगानी सम्बन्धी कुवेर बिज परिचयात्मक कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक निरन्जन फुयाँल, एबिसी सेक्युरिटिजका कार्यकारी अध्यक्ष नितेश अग्रवाल र मेरोलगानी डट कमका प्रमुख कार्यकारी अधिकृत अतीतलाल श्रेष्ठले पूँजी बजारमा कसरी प्रवेश गर्ने, लगानी कसरी गर्ने, कहिले गर्ने र किन गर्ने भन्ने विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका टिप्स र आफ्ना अनुभव साटेका थिए।

कार्यक्रममा नेपाल स्टक एक्स्चेञ्चका प्रबन्धक निरञ्जन फुयाँलले जोखिम र प्रतिफल एउटै सिक्काका दुईटा पाटा भएकाले लगानीकर्ताले जहिले पनि कम जोखिम र उच्च प्रतिफल दिने कम्पनी रोजेर लगानी गर्नुपर्ने बताए।

एबीसी सेक्युरिटिजका कार्यकारी अध्यक्ष नितेश अग्रवालले पूँजी बजार धन उपार्जन गर्ने ठाउँ भएको र ब्रोकर कम्पनीले लगानीकर्तालाई धनउपार्जन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने गरेको बताए।

यस्तै कार्यक्रममा मेरोलगानीका सीईओ अतीतलाल श्रेष्ठले वित्तीय सूचनाहरुलाई धितो बजारको सही विश्लेषण गर्नका लागि उपयोग गर्नुपर्ने बताए। उनले भने ‘हामीले कम्पनीको प्राविधिक कार्य कुशलता र उसको धितोसम्बन्धी सही विश्लेषण गर्नसक्यौं भने बाहिरी वित्तीय सूचनाहरुको आवश्यकता नै पर्दैन।’

कार्यक्रममा प्रश्नोत्तर सेसनअन्तर्गत कलेजका विद्यार्थीहरुले विविध प्रश्न सोधेका थिए र तीनै जना विज्ञ वक्ताहरुले आआफ्नो क्षेत्र र विषयसँग सम्बन्धित् प्रश्नहरुको उत्तर दिएका थिए।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।