कुनै पब्लिक कम्पनीले पूँजी संकलन तथा पूँजी वृद्धिका लागि पहिलो पटक निष्काशन गरेको शेयरलाई नै आईपिओ भनिन्छ। एकपटक आईपिओ जारी गरिसकेपछि पुनः पूँजी वृद्धि गर्न सर्वसाधारणलाई विक्री गरिने शेयरलाई एफपिओ भनिन्छ।
प्राथमिक बजार प्रवेश गर्नका लागि धेरै रकमको आवश्यकता पनि पर्दैन। न्यूनतम एक हजार रुपैयाँ लगानी गरेर नै प्राथमिक बजारमा प्रवेश गर्न सकिन्छ। प्राथमिक शेयर बजारमा लगानी सम्बन्धी सामान्य जानकारी पछि दोस्रो बजार छिर्न पनि सहज हुन्छ ।
सामान्यतया आईपिओमा प्रतिकित्ता एक सय रुपैयाँको दरमा लगानी गर्न सकिन्छ । तर एफपिओमा कम्पनीले वित्तीय अवस्था अनुसारको प्रिमियम मूल्य थप गरेर पनि शेयर निष्काशन गर्न सक्छन् । प्राथमिक बजारबाट आईपिओ र एफपिओ खरिद गर्न डिम्याट खाता अनिवार्य हुनु पर्दछ ।
डिम्याट खाता कुनै पनि बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त निक्षेप सदस्यको कार्यालयमा गएर खोल्न सकिन्छ ।
- प्राथमिक शेयरमा कसरी लगानी गर्ने?
अहिले प्राथमिक शेयरमा दुई तरिकाले प्राथमिक शेयरमा आवेदन गर्न सकिन्छ । पहिलो सि–आस्वा प्रणाली र दोस्रो मेरो शेयर मार्फत लगानीकर्ताहरुले प्राथमिक बजारमा लगानी गर्न सक्नेछन् ।
ईन्टरनेटको माध्यम बाट घरमै बसि–बसि कम्प्युटर मोबाईल तथा अन्य डिभाईसबाट शेयर आवेदन दिन सकिने व्यवस्थालाई सि–आस्वा प्रणाली भनिन्छ । यो प्रणालीबाट शेयर आवेदन दिनको लागि लगानीकर्ताले आफ्नो बैंक खाता भएको बैंकमा गएर सुरुमा सि–आस्वा प्रणाली सुविधा लिनुपर्ने हुन्छ ।
दोस्रो सिडीएससीले सञ्चालनमा ल्याएको मेरो शेयर डट सिडीएससी डट कम डट एनपी मार्फत् अनलाइनबाटै प्राथमिक शेयर भर्न सकिनेछ ।
सि–आस्वा प्रणाली र मेरो शेयर दुबै तरिकाबाट आवेदन गर्न सिआरएन नम्बर अनिवार्य चाहिन्छ । जुन तपाईले आफ्नो बैंक खाता भएको बैंकमा गएर प्राप्त गर्न सक्नुहुनेछ ।
शेयर खरिदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले शेयर बाँडफाँड नहुन्जेल सम्म झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकम रोक्का गरिदिन्छन्। दरखास्तमा माग गरे बमोजिमको शेयर किन्न लाग्ने रकम मात्र रोक्का हुनेछ।
शेयर बाँडफाँड भएको बढीमा तीन चार दिन भित्र शेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा हुनेछ । कम्पनीको शेयर प्राप्त गर्ने आवेदकको बाँडफाँडमा परेको शेयर बापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा सिधै स्थानान्तरण हुनेछ ।
यसरी लगानीकर्ताहरुले प्राथमिक शेयरका बारेमा बुझेर शेयर आवेदन गर्न सक्नेछन् ।