अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ । डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो ।
अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ । उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा त्यसको जडान र प्रविधि जडानको काम यो अवधिमा भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार उपकरणमा ‘सफ्टवेयर’ कै लागि लामो समय लागेको हो ।
उनले भने, “हाम्रो सबै विवरण भएका कम्प्युटर र प्रिन्टरको जडानका लागि समय लागेको हो ।” अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन बाँकी रहेको उनले बताए
परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरूपमा सञ्चालन गर्न समस्या छैन। छपाइका क्रममा कार्ड स्पष्ट आएको छ। उनले भने “पूर्णरूपमा चलाउन अब कुनै बाधा छैन। विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ। यो सङ्ख्या अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तिर्ण र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीको हो।” यो उपकरण पूर्ण रूपमा सञ्चालन हुँदा तीन देखि चार महिनामा सबै कार्ड छापि सकिने विभागले अनुमान गरेको छ।
काठमाडौँ उपत्यकामा सवेग्राहीले ट्रायल पास गरेकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने उनकाे भनाई छ। काठमाडौँ उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि बाटोमा समय लाग्दा मात्रै ढिलाइ हुन सक्ने उनले जानकारी गराए। उनले भने “उपकरणका कारण अब ढिलो हुँदैन।” ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो।
उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये चार लाख कार्ड आइसकेको र बाँकी छ लाख आउने क्रममा रहेको विभागले जनाएको छ।
विभागले गत वर्ष ग्लोबल खरीद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो। अहिले विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत अनुमतिपत्र पाएका छैनन्। कतिपय कार्ड भने छापिएको लामो समय हुँदा समेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको कार्यालयहरुले बताउँदै आएका छन् ।