नयाँ निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्सले एउटाले मात्रै गत आर्थिक वर्ष २०७५/७६ को एनएफआरस प्रणालीको वित्तीय विवरण स्वीकृत गरेर पुस ११ गते दोस्रो वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ। अन्य बाँकी सबै कम्पनीहरु एनएफआरस अनुरुपको वित्तीय विवरण तयार गर्ने क्रममा रहेका बीमा समितिले जनाएको छ। बुधबारसम्म अन्य कुनै पनि कम्पनीले समितिमा आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण पेश गरेका छैनन्।
यसअघि परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका कम्पनीहरुलाई बीमा समितिले आर्थिक वर्ष २०७४/७५ देखि बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा नेपाल वित्तीय प्रतिवेदमान (एनएफआरएस) प्रणालीमा लागू गर्दै सोही अनुरुप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो।
खासगरि नयाँ स्वरुपमा वित्तीय विवरण तयार पार्नुपर्दा सिक्न नै केही सकय लाग्ने गरेको छ भने विभिन्न शिर्षकमा राख्नुपर्ने व्यवस्थापनको रकमले पनि बीमा समितिबाट एनएफआरएस वित्तीय विवरण स्वीकृत हुन समय लाग्ने गरेको छ।
समितिको निर्देशन अनुसार हालसम्म पनि केही बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७४/७५ कै वित्तीय विवरण (एनएफआरएस प्रणालीमा) तयार पर्न सकेका छैनन्। वित्तीय विवरण तयार पारेका कम्पनीले पनि तोकिएको ढाँचामा तयार पार्न नसक्दा बीमा समितिबाट स्वीकृत गराएर हालसालै मात्र अघिल्लो आर्थिक वर्ष २०७४/७५ को साधारण सभा सम्पन्न गरेका छन्।
सरकारी स्वामित्व भएका कम्पनीको संस्थागत सुशासन नै कमजोर बन्दा लामो समयदेखि लेखापरिक्षण हुन सकेको छैन भने अन्य कम्पनीहरुमा पनि बीमा समितिको निर्देशन अनुसार लेखापरिक्षणको स्वरुप फेरिँदा नयाँ प्रणालीमा वित्तीय विवरण तयार गर्न कम्पनीहरुलाई कठीनाई उत्पन्न भएको देखिन्छ।
सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले लामो समयदेखि लेखापरिक्षण गराउन सकेका छैनन् भने नयाँ जीबन बीमा कम्पनी रिलायन्स लाइफले हालसम्म पनि आर्थिक वर्ष २०७४/७५ को एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गरेका छैन।
पछिल्लो समय शेयर बजारमा समेत सामान्य सुधार आईहरको छ। शेयर बजारमा सुधार आउँदा बीमा कम्पनीहरुको शेयरमूल्य पनि बढेको छ। बीमा कम्पनीहरुको लाभांश आउने आशामा लगानीकर्ताहरु बीमा कम्पनीहरुको शेयर कारोबारमा आकर्षित भएका छन्। तर अधिकांश बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीको प्रतिवेदन तयार गर्न बाँकी रहेकाले लाभांश घोषणामा समय लाग्ने देखिएको हो।
अजोड बाहेक सबै बीमा कम्पनीहरुले अहिलेसम्म पनि आर्थिक वर्ष २०७५/७६ को एनएफआरएस प्रणाली अनुसारको वित्तीय विवरण तयार पार्न नसक्दा बीमा कम्पनीहरुको लाभांश घोषणा गरी गत आर्थिक वर्षको साधारण सभा बोलाउन ढिलो हुने निश्चित छ।
- पछिल्लो पटक कुन कम्पनीले कति लाभांश वितरण गरे ?
नेपाली बीमा बजार २० निर्जीवन, १९ जीवन र एक पुर्नबीमा कम्पनी गरी ४० बीमा कम्पनीहरु सञ्चालनमा छन्। तर ७ जीवन बीमा र १५ निर्जीवन बीमा गरी २२ वटा कम्पनीहरु मात्रै नेप्सेमा सूचीकृत रहेका छन् ।
त्यसमध्ये अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट ४ जीवन बीमा र ६ निर्जीवन बीमा गरी १० कम्पनीहरुले मात्रै साधारण सभा सम्पन्न गरि आर्थिक वर्ष २०७४/७५ बाट लाभांश वितरण गरेका छन्। तीन जीबन बीमा कम्पनीले पनि आर्थिक वर्ष २०७४/७५ बाट लाभांश वितरण गर्न बाँकी छ। आर्थिक वर्ष २०७४/७५ बाट ८ निर्जीबन बीमा कम्पनीहरुले लाभांश बिना साधारण सभा सम्पन्न गरेका छन् भने राष्ट्रिय बीमा कम्पनीको ८ वर्षयताको लेखापरिक्षण हुन नसकेकोले लामो समयदेखिको साधारण सभा सम्पन्न गर्न बाँकी छ।
सूचीकृतमध्ये जीबन बीमा कम्पनी कम्पनीमध्ये आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट नेपाल इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले सबैभन्दा धेरै ३४.४६ प्रतिशत बोनस र ३५.५३ प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरिसकेको छ। यस्तै नेपाल लाइफले २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी ४८.५० प्रतिशत लाभांश वितरण गरिसकेको छ। नेशनल लाइफले २.५० प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी कूल १४.५० प्रतिशत र सूर्या लाइफले १२ प्रतिशत बोनस वितरण गरिसकेको छ।
त्यसैगरि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट गुराँस लाइफले १३.१० प्रतिशत लाभांश प्रस्ताव गरेपनि हालसम्म साधारण सभा आह्वान गरेको छैन।
एशियन लाइफले आर्थिक वर्ष २०७३/७४ देखि लाभांश वितरण गरेको छैन। एशियन लाइफले आर्थिक वर्ष २०७३/७४ बाट इन्स्योरेन्सले ४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो। यस कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न बाँकी छ।
प्राइम लाइफको पनि आर्थिक वर्ष २०७४/७५ को साधारण सभा सम्पन्न गर्न बाँकी छ। कम्पनीले
बीमा समितिको निर्देशन अनुरुपको एनएफआरएस वित्तीय विवरण तयार गर्न ढिलाई हुने भएपछि २०७६ असोज ७ गते विशेष साधारण सभा सम्पन्न गरि २०७३/७४ को सञ्चित मुनाफाबाट लाभांश वितरण गरि बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गरेको छ। अहिले भने बीमा समितिबाट कम्पनीको आर्थिक वर्ष २०७४/७५ को एनएफआरएस वित्तीय विवरण स्वीकृत भैसकेको छ।
बीमा समितिको निर्देशन अनुसार प्राइम लाइफले भने चुक्ता पूँजी कायम गर्न आर्थिक वर्ष २०७३\७४ बाट २ पटक लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०७३\७४ बाट १२.५ प्रतिशत बोनस वितरण र कर प्रयोजनका लागि नगद लाभांश वितरण गरेको गरेको प्राइमले न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्न दोस्रो पटक आर्थिक वर्ष २०७३/७४ को जगेडा तथा कोषहरुको उपयोग गरि २०७६ असोज ७ गते विशेष साधारण सभाबाट फेरि १२.५० प्रतिशत बोनस अनुमोदन गराएको छ ।
बीमा समितिले नयाँ प्रणाली अनुसार वित्तीय विवरण तयार गरि न्यूनतम चुक्ता पूँजी कायम गर्न ढिलाई हुने भएपछि जगेडा र महाविपत्ति कोषबाट रकम सापटी लिएर पूँजी कायम गर्ने छुट प्रदान गरेको थियो। सोही अनुरुप प्राइमले विशेष साधारण सभाबाट लाभांश पारित गरेको हो।
बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने बाध्यतामा रहेको प्राइमले आर्थिक वर्ष २०७४/७५ को साधारण सभा सम्पन्न गरि लाभांश पारित गर्न समय लाग्ने भएपछि विशेष साधारण सभाको छोटो बाटोबाट लाभांश पारित गरेको हो। विशेष साधारण सभाबाट पारित भएको बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ७९ लाख रुपैयाँ पुगेको छ।
यता सूचीकृत ६ निर्जीवन बीमा कम्पनीहरुले मात्र आर्थिक वर्ष २०७४/७५ बाट लाभांश वितरण गरेका छन्। आर्थिक वर्ष २०७४/७५ बाट ९ निर्जीबन बीमा कम्पनीहरुले पनि लाभांश वितरण गरेका छैनन्।
निर्जीवन बीमातर्फ गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सगरमाथा इन्स्योरेन्सले सबैभन्दा धेरै ८६ प्रतिशत बोनस वितरण गरेको छ। यस्तै प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सले १५.४८ प्रतिशत, नेकोले १३ प्रतिशत, नेपाल इन्स्यारेन्सले ७.५ प्रतिशत र आइएमई जनरलले ५ प्रतिशत बोनस वितरण गरेको छ।
निर्जीवन बीमा तर्फ आर्थिक वर्ष २०७४/७५ लाभांश वितरण नगरेका ८ बीमा कम्पनीहरुमा हिमालयन जनरल, एनएलजी, एभरेष्ट, लुम्बिनी जनरल, प्रभु, प्रुडेन्सियल, युनाईटेड, शिखर इन्स्योरेन्स रहेका छन् ।
त्यसमध्ये हिमालयन जनरल, लुम्बिनी जनरल, शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाई सकेका छन्।
यी कम्पनीहरुले एनएफआरएस प्रणालीमा तोकिए अनुरुप जगेडा कोष तथा अन्य व्यवस्थापनमा रकम खर्चनुपर्ने भएपछि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभांश वितरण गर्न नसकिएको जनाएका छन्।
राष्ट्रिय बीमा कम्पनीको भने लामो समयदेखि लेखापरिक्षण हुन बाँकी रहेकोले अवस्था अझै भद्रगोल छ। कम्पनीले पछिल्लो पटक आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको पाँच वर्ष अवधिको एकैपटक २०७५ असोज १९ गते ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कम्पनीको आर्थिक वर्ष २०६८/६९ देखिको अझै ८ वर्ष अवधिको साधारण सभा सम्पन्न गर्न बाँकी छ। यसअघि कम्पनीले २०७४ बैशाख २२ गते आर्थिक वर्ष २०६०/६१ देखि २०६२/६३ सम्मको गरि तीन आर्थिक वर्षको साधारण सभा सम्पन्न गरि ११४.२७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद वितरण गरेको थियो। सो पश्चात कम्पनीले १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेपनि बीमा समितिले स्वीकृति नदिँदा सो लाभांश वितरण गर्न सकेको छैन।