मुक्तिनाथ विकास बैंकको लिलामी शेयर बाँडफाँड

Dec 06, 2019 03:05 PM Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले मंसिर ८ गतेदेखि १५ गतेसम्म लिलामी बिक्रीमा ल्याएको शेयर बाँडफाँड गरेको छ । उक्त शेयर मंसिर १८ गते बोलपत्र दाताहरुको रोहबरमा शिलबन्दी बोलपत्र खुला गरि बैंक सञ्चालक समितिको बैठकले बाँडफाँड गरेको हो।

उक्त लिलामी शेयरमा सर्वसाधारण समूह तर्फ न्यूनतम २९१ रुपैयाँ र संस्थापकतर्फको शेयरका लागि १५० रुपैयाँ ०७ पैसा वा सो भन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गरेका आवेदकले पाएका छन्।

बैंकले हकप्रदमा अवितरित सर्वसाधारण तर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता र संस्थापक तर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता गरि कूल ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो।

लिलामीमा शेयर प्राप्त गर्न नसक्ने आवेदकहरुको रकम फिर्ता भुक्तानी मंसिर २२ गतेदेखि नेपाल क्लियरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत आवेदकले बोलपत्र भर्दा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने क्यापिटलले जनाएको छ।

बैंकले लिलामी शेयर बाहेक बाँडफाँड भएको २० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत गरिसकेको छ भने लिलामी शेयर सकारेका लगानीकर्ताले भने उक्त शेयर सूचीकृत भएपश्चात मात्र कारोबार गर्न सक्नेछन्।

लिलामी शेयर सकार्नेले बैंकले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पाउनेछन् भने साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले मंसिर २२ गते आइतबारसम्म बैंकको शेयर किन्नेहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउनेछन्।

मुक्तिनाथले गत आवको मुनाफाबाट १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश प्रस्ताव गरि अनुमोदनका लागि मंसिर ३० गते साधारण सभा बोलाएको छ।

लिलामी बाँडफाँड र बोनस पश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँ पुग्नेछ।

comments powered by Disqus