विश्वमा कसैले पनि शेयर बजारको बारेमा प्रक्षेपण गर्न सक्दैन। कतिपय सुत्रको आधारमा यसको चालको बारेमा आंकलन त गर्न सकिन्छ तर सानो सानो घटनाले पनि यसलाई तरगिंत गर्ने हुनाले ठ्याकै भविष्यवाणी गर्न भने सकिँदैन।
शेयर बजारका अधिकांश लगानीकर्ताहरु नेप्सेको सूचकको छायाँमा परि दिग्भ्रमित भई लगानी निर्णय गर्दा आफ्नो भएको सम्पत्ति गुमाउँँदैछन्। लगानीकर्ताको झुण्डमा यसैको चर्चा चल्छ र कोही अब केही समय पछि सूचक १ हजार बिन्दुमा आएपछि मज्जाले शेयर उठाईन्छ भन्छन् त कोही अब बजारले गति लियो त्यसैले १ हजार ५०० पुगेपछि मात्र आफू त शेयर फालिन्छ भन्छन्। यस्तै यस्तै भनाई फेसबुकको वालमा पनि पोष्ट भएको देख्न सकिन्छ।
तर, धेरै कम लगानीकर्तालाई मात्र सूचक कसरी घट बढ हुन्छ भन्ने कुराको ज्ञान हुन्छ। त्यसैले आम तथा सोझासाझा लगानीकर्ताहरु यस्तै झुण्डमा तथा फेसबुकको वालमा पोष्ट भएको सूचक सम्बन्धी भ्रमको जालबाट आफूलाई मुक्त गर्न नसकी गलत निर्णयहरु लिईरहेका हुन्छन् जसको फाईदा टाठा बाठा तथा खेलाडी लगानीकर्ताले उठाई रहेको हामी पाउँदछौं।
अत: यो सूचक के हो र यसको गणना कसरी गरिन्छ भन्ने कुराको जानकारी भएमा लगानीकर्ताले यसबाट लाभ उठाउन भने सक्दछन्।
- नेपाल स्टक एक्सचेञ्जको इण्डेक्सको गणना कसरी हुन्छ ?
कुनै पनि स्टक मार्केटको बजार सूचक उक्त बजारमा सूचीकृत कम्पनीहरुको भारित औसत हो जसको गणना ती स्टकको बजार मूल्यको आधारमा गरिन्छ। बजारको बारेमा वर्णन गर्नको लागि लगानीकर्ता तथा वित्तीय ब्यवस्थापकहरुले प्रयोग गर्ने औजारको रुपमा यसलाई लिन सकिन्छ। बजार सूचकले समग्र स्टक मार्केटको प्रतिनिधित्व गर्नुको साथै विगत देखिको बजारको परिवर्तनलाई ट्रयाक गरिरहेको हुन्छ।
लगानीकर्ता तथा अन्य बजारका सहभागीहरुले यसको प्रयोग स्टक मार्केटको पर्फरमेन्सको अध्ययन गर्नको लागि गर्छन्। साराशंमा भन्दा सूचक १ प्रतिशत बढ्यो भन्नुको अर्थ उक्त स्टक मार्केटमा सूचीकृत कम्पनीको मूल्यमा औसतमा १ प्रतिशतको बढोत्तरी भएको हो भन्ने बुझिन्छ।
स्टक मार्केटको सूचकको गणना गर्दा उक्त बजारको आधार वर्षको सूचक, आधार वर्षको बजार पूँजीकरण र गणना गर्ने दिनको बजार पूँजीकरणलाई आधार मानिन्छ। यहाँ बजार पूँजीकरण भन्नाले सूचीकृत सबै कम्पनीको शेयर संख्यालाई त्यस दिनको बजार मूल्यले गुणन गर्दा हुन आउने कूल योगफललाई जनाउँदछ।
उदाहरणको लागि 'क' भन्ने कम्पनीको शेयर संख्या १० हजार कित्ता छ र त्यसको बजार मूल्य १२० छ। त्यस्तै 'ख' भन्ने कम्पनीको शेयर संख्या ५ हजार कित्ता छ र त्यसको बजार मूल्य ९८ रुपैयाँ छ भने कूल बजार पूँजीकरणको गणना निम्न बमोजिम गरिन्छ।
अब यहाँ आधार वर्षमा सूचक १०० र बजार पूँजीकरण १५ लाख छ भन्ने अनुमान गर्दा सूचकको गणना निम्न सुत्रको आधारमा गर्न सकिन्छ ।
सूचक = (आजको बजार पूँजीकरण * आधार वर्षको सूचक) / आधार वर्षको बजार पूँजीरकण
यो सूत्रमा माथिको अंक राखेर सूचक निकाल्न सकिन्छ जस अनुसार,
सूचक = ( १६,९०,०००*१००)/१५,००,०००
= ११२.६७
यो ११२.६७ को सूचकले आधार वर्षमा गरिएको १०० रुपैयाँको लगानी ११२.६७ रुपैयाँ भएको संकेत गर्दछ ।
यो सूचकले सम्पूर्ण शेयर संख्यालाई गणनाको आधार मानेको छ। तर सम्पूर्ण शेयर बजारमा कारोबारका लागि उपलब्ध हुँदैनन्। बजारमा उपलब्ध हुने भनेको शेयर सर्वसाधारणलाई जारी गरिएको शेयर मात्र हो जुन संख्यात्मक हिसाबले कम हुन्छ। त्यसैले कूल सूचकले भन्दा यस्ता बजारमा कारोबारको लागि उपल्ब्ध हुने शेयर संख्याको आधारमा सूचकको गणना गर्ने विश्वब्यापी प्रचलन रहेको छ जसलाई फ्लोट इन्डेक्स (Float Index) भनिन्छ। नेप्सेले २०६५ भाद्र २६ बाट यस्तो सूचकको गणना गर्ने गरेको छ।
फ्लोट इन्डेक्सको गणना विधि पनि कूल सूचकको जस्तो नै हुन्छ तर फरक शेयर संख्यामा हुन्छ। अर्थात फ्लोट इन्डेक्समा सर्वसाधारणलाई जारी गरिएको शेयर, जुन बजारमा कारोबारको लागि उपलब्ध छ त्यसलाई मात्र गणनामा समावेश गरिन्छ।
अत: बजार मूल्य तल/माथि हुँदा तथा नयाँ शेयर सूचीकृत हुँदा सूचकको गणना कसरी गरिन्छ त्यसलाई तलको उदाहरणबाट बुझ्न सकिन्छ।
- आधार वर्षको नेप्से सूचक गणना गर्ने विधी
आधार वर्षको नेप्से सूचक = (जम्मा बजार पूँजीकरण / फेस भ्यालुको आधारमा सूचीकृत शेयरको जम्मा रकम) * १००
- पौष ३० पछि नेप्सेको सूचक गणना गर्ने विधी
नेप्से सूचक = (उक्त दिनको बजार पूँजीकरण / आधार वर्षको बजार पूँजीकरण ) * आधार वर्षको सूचक
- अब कुनै नयाँ कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुँदा बजार पूँजीकरणको आधार मूल्य कसरी पत्ता लगाउने ?
मानौं की माघ २ गते नेप्सेमा 'घ' भन्ने कम्पनीको १०० कित्ता शेयर १०० रुपैयाँका दरले सूचीकृत भयो भने माघ ३ गतेको बजार पूँजीकरणको गणना ( जसलाई समायोजित आधार बजार पूँजीकरण भनिन्छ) निम्न सुत्रको आधारमा गर्नुपर्ने हुन्छ।
समायोजित आधार बजार पूँजीकरण = ( नयाँ बजार पूँजीकरण /पुरानो बजार पूँजीकरण) * सूचीकरण पूर्वको आधार बजार पूँजीकरण
उक्त तथ्याङ्कको आधारमा माघ ३ को लागि समायोजित आधार बजार पूँजीकरण १,००,१९२.५३ हुन आउँछ।
सारांशमा भन्नुपर्दा इण्डेक्स घट/बढ हुनको लागि बजार पूँजीकरणमा घट/बढ हुनैपर्छ। पूँजीकरणमा बढोत्तरी तीन किसिमले हुनसक्छ:-
१. बजार मूल्य बढेमा,
२. कुनै नयाँ कम्पनी सूचीकृत भएमा वा
३. भैरहेका कम्पनीको थप शेयर सूचीकृत भएमा
त्यसैगरी बजार पूँजीकरणमा बढोत्तरी जस्तै पूँजीकरणमा ह्रास पनि विभिन्न किसिमले हुनसक्छ
१. बजार मूल्य घटेमा,
२. कुनै सूचीकृत कम्पनी बाहिरिएमा
त्यसैले नेप्से ९००/१००० मा झर्छ वा १५०० बाट १८०० हुँदै २२००/३००० पुग्छ भन्ने कुराको यथार्थता अहिलेको बजार पूँजीकरणमा कति प्रतिशतले वृद्धि अथवा ह्रास आउनुपर्छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ।
नेप्सेको सूचक घट /बढको अनुमान कसरी गर्ने भन्ने कुराको जानकारी अगामी लेखमा
(नोटः माथिको विश्लेषण उपलब्ध तथ्याङ्क तथा चलेका सुत्रका आधारमा प्रस्तुत गरिएको हो। यसैको आधारमा शेयर खरीद बिक्री गर्नुभन्दा पहिले आफैले पनि विश्लेषण गरि निर्णय लिनु राम्रो मानिन्छ।)
-लेखक भट्टराई अर्थ मन्त्रालयका अवकास प्राप्त उपसचिव हुन्।