स्वाभिमान लघुवित्तको शेयरमूल्य समायोजन

Jan 10, 2020 08:43 AM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको पुस २५ गते शुक्रबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ९४९ रुपैयाँ १९ पैसा कायम गरेको छ।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न माघ १० गते साधारण सभा डाकेको छ। लघुवित्तको तेस्रो वार्षिक साधारण सभा डार्सिज इन्टरनेशनल होटल, बुटवलमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३.३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र अन्य लघुवित्तसँग मर्जर वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ।

आइतबार लघुवित्तको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।