निर्जीवन बीमा कम्पनीहरुको लाभांश आउन थाल्यो, जीवन बीमाको कहिले ?

Jan 19, 2020 02:25 PM Merolagani



अरूण पाख्रेन ।

बजारमा आएका नयाँ बीमा कम्पनीहरू शेयरधनीप्रति बढी उत्तरदायी देखिएका छन् । उनीहरूले गर्नु पर्ने हिसाब किताब र साधारण सभामा बढी जबाफदेही देखिएका हुन् । तर उनीहरूको दाँजोमा लामो समयदेखि बजारमा काम गरिरहेका भने पछि परेका छन् । 

बजारमा आएका नयाँ कम्पनी अजोड इन्स्योरेन्स आर्थिक वर्ष २०७५/७६ को साधारणसभानै गरिसकेकाे छ । यस्तै  सानिमा जनरल इन्स्योरेन्सले माघ २४ गते साधारण सभा बाेलाएकाे छ।

पुरानाेमा प्रभु इन्स्याेरेन्सले पनि माघ २४ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ । बीमा समितिले दिएको निर्देशन अनुसारको एनएफआरस प्रणालीमा वित्तीय विवरण स्वीकृत गरेर उसले साधारण सभा बाेलाएकाे हाे ।

पुष मसान्त सम्ममा जम्मा पाँच निर्जीवन बीमा कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका छन्  ।आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नेपाल इन्स्योरेन्स, हिमालयन जनरल, आईएमई जनरल, प्रभु इन्स्योरेन्स र नेकाे इन्स्याेरेन्सले लाभांश प्रस्ताव गरेका हुन् ।

  •  कुन बीमा कम्पनीकाे लाभांश कति ?

नेपाल इन्स्योरेन्स (NICL) ले हाल कायम चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस र कर सहित २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरिसकेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत कर सहित गरी १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। आइएमई जनरल इन्स्योरेन्स (IGI) ले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत अर्थात् ६ करोड १२ लाख ३६ हजार बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षसम्मको वितरण योग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस्तै नेकाे इन्स्योरेन्स (NIL) ले ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकाे छ ।

यी कम्पनीहरूले नेपाल वित्तीय प्रतिवेदन(एनएफआरएस) प्रणालीमा वित्तीय विवरण तयार पारेर बीमा समितिबाट स्वीकृत भएपछि लाभांश प्रस्ताव गरेका हुन् ।

लाभांश प्रस्ताव गरेका प्रभु इन्स्याेरेन्स बाहेक कुनै पनि बीमा कम्पनीले अहिलेसम्म साधारण सभा भने बोलाएको छैन । प्रभु इन्स्योरेन्सले लाभांश पारित गर्न माघ २४ गते २४ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ । 

  • जीवन बीमा कम्पनीकाे लाभांश आउन अझै समय लाग्ने

निर्जीवन बिमा कम्पनीहरूले लाभांश वितरण गर्न थाले पनि जीवन बीमा कम्पनीहरूको लाभांश आउन भने समय लाग्ने भएको छ । हाल सम्म कुनै पनि जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न नसक्दा लाभांश आउन समय लाग्ने भएको हो ।

बीमा समिति स्रोतका अनुसार बिहीबारसम्म कुनै पनि जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न सकेका छैनन् । जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न अझै समय लाग्ने भएकाले करिब एक महिना पछि मात्रै लाभांश आउन सक्ने समिति स्रोतको भनाई छ ।

यसअघि परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका कम्पनीहरूलाई समितिले आर्थिक वर्ष २०७४/७५ देखि अनिवार्य रूपमा एनएफआरएस प्रणाली लागू गर्दै सोही अनुरूप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ ।

नियमन निकायको हैसियतमा समितिले कम्पनीहरूको गतिविधि तथा कार्य योजनामा सहजीकरणको भूमिका निभाउनु पर्ने हुन्छ । सोही कारण समितिलेनै एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न एक्चुरीको अभावले साधारण सभा बोलाउन ढिलाइ भएपछि साधारण सभा समयमै नगरिए पनि उसले कडिकडाउ भने गरेको छैन ।

समयमै एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न नसक्दा कम्पनीहरूले लाभांश घोषणा गरी साधारण सभा बोलाउन ढिलाइ भइरहेको बिमा समिति स्रोतले नै स्वीकार गरेको छ ।

यता सरकारी स्वामित्व भएका बिमा कम्पनीहरूको संस्थागत सुशासन कमजोर बन्दा लामो समयदेखि लेखा परीक्षण हुन सकेको छैन । अन्य कम्पनीहरूमा पनि बिमा समितिको निर्देशन अनुसार लेखा परीक्षण स्वरूप फेरिँदा नयाँ प्रणालीमा वित्तीय विवरण तयार गर्न कठिनाइ भइरहेको छ।सोही कारण उनीहरूको लाभांश आउन थप समय लाग्ने भएको हो ।

 

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।