कोरोना भाइरसको असरः विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने खतरा !

Jan 26, 2020 06:07 PM Merolagani

  सबिना बजगाई । 

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै २ हजार जना प्रभावित भएको जानकारी दिएका छन् । 

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसले चीनको अर्थतन्त्रमा प्रभाव पार्न सुरु गरिसकेको  विश्लेषकहरुको भनाई छ । यसैगरी उक्त भाइरसको संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको र युरोपमा पनि फैलिन थालेको खबरहरु आइरहेका छन् । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

यसले चीनमा मात्र नभई समग्र विश्व अर्थतन्त्रमा नै प्रभाव पार्ने विश्लेषकहरुले बताउँदै आएका छन्।

  • चिनीयाँ शेयर बजारमा गिरावट, तेलको मूल्य उच्च रुपले घट्दै

कोरोना भाइरसको असर चीनको समग्र अर्थव्यवस्थामा देखिइरहेको छ । यो भाइरस फैलिएको खबर आएसँगै चीनियाँ शेयर बजारमा ५ प्रतिशतको गिरावट आइसकेको छ । सन् २००३ मा आएको सार्स भाइरसको संक्रमणका कारण हङकङको सूचक त्यो समयमा २० प्रतिशतले घटेको थियो ।

यसैगरी चीनसहित कयौँ देशमा फैलिरहेको भाइरसका कारण कच्चा तेलको मूल्यमा पनि उच्च गिरावट देखिएको छ । भाइरसको संक्रमण फैलिएको खबरसँगै कच्चा तेलको मूल्य ४ प्रतिशतले घटेर ६२ डलर प्रतिब्यारेलमा झरिसकेको छ ।

चीनद्धारा वुहान प्रान्तमा मानिसहरुको आवतजावतमा रोक लगाएसँगै यसबाट चीनको अर्थव्यवस्थामा प्रत्यक्ष असर पर्ने बताइएको छ । विश्वको सबैभन्दा धेरै तेल खपत हुने स्थानमा मान्छेको आवतजावत र यातायातका साधन ठप्प बनाएसँगै यसबाट विश्वव्यापी रुपमा कच्चा तेलको मूल्य घट्नुका साथै चीनको विकासदर पनि कमजोर हुने बताइएको छ ।

चीनमा पर्यटकहरुको पनि आर्थिक विकासमा ठूलो हिस्सा रहेको छ । यसबाट चीनमा आउने जाने विमानमा पनि असर पर्न सुरु भइसकेको छ । यससँगै हवाई इन्धनको माग पनि अधिक घटेको छ।

  • विश्व स्वास्थ्य संगठनद्धारा आपतकालको घोषणा

कोरोना भाइरस एउटा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले पनि आपतकालको घोषणा गरिसकेको छ ।

संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले बताएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ ।

यसैगरी मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।

  • योभन्दा पहिलेको संक्रमणबाट पनि चीनलाई अर्बाै डलर घाटा भएको

चीनमा १७ वर्ष पहिले (सन् २००३ मा) फैलिएको सार्स भाइसबाट चीन सहित अन्य देशमा ८ हजारभन्दा बढी मानिसहरु प्रभावित भएका थिए । तीमध्ये १० प्रतिशत मानिसहरुको मृत्यु भएको थियो । योसँगै सन् २००३ मा चीनको विकासदर १२.५ प्रतिशतबाट घटेर ३.५ प्रतिशतमा झरेको थियो । यसबाट त्यो समयमा चीनको विकास दर ठप्प जस्तै भएको थियो ।

२००३ मा फैलिएको उक्त भाइरसका कारण चीनमा ५० अर्ब डलर नोक्सान भएको थियो । योसँगै चीनमा चीनमा पर्यटकहरुको संख्या २००२ को तुलनामा ४० प्रतिशतले घटेको थियो ।

यद्यपी सन् २००३ को तुलनामा अहिलेको अर्थव्यवस्था अधिक गतिशील रहेको छ । तर हाल चीनमा व्यापक रुपमा फैलिरहेको भाइरसले चीनको अर्थव्यवस्थालाई नराम्रोसँग प्रभावित पार्ने बताइएको छ ।

सन् २०१९ को डिसेम्बरको अन्त्यमा देखिएको कोनोरो भाइरसको संक्रमणको खतरा हालसम्म कयौँ देशमा फैलिसकेको छ र यसले चीनमा मात्र नभई विश्वव्यापी अर्थतन्त्रमा समेत प्रभाव पार्न सुरु गरिसकेको छ ।

यसैगरी २०१४–१६ का क्रममा इबोला भाइरसका कारण गिनी, लाइबेरिया र सिएरा लियोन जस्ता देशहरुलाई पनि २ अर्ब २० करोड डलरभन्दा बढी नोक्सान भएको थियो ।

कोरोना भाइरसको हालसम्म कुनै पनि प्रकारको औषधी उपचारको खोजी भइसकेको छैन । यो भाइरस यति धेरै खतरनाक छ कि, यसमा कुनै पनि एन्टीबायोटिकको असर हुदैन । एजेन्सीको सहयोगमा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।