नीलम झापाको दमकमा २०२५ साल मंसिर १४ गते जन्मिन् । बुवा जिल्ला शिक्षा कार्यालयमा कार्यरत र आमा शिक्षिका भएकाले उनको बाल्यकाल खासै संघर्षमय भएन । बुवाले नै अध्ययनका लागि उनलाई प्रेरणा दिइरहे । उनी बुवाकासाथ पूर्वी पहाडीका भेगमा धेरै स्थानमा घुमेकी पनि छिन् । एक बहिनी र एक भाईकी दिदी नीलमको बाल्यकाल रमाइलो पनि रह्यो । संयुक्त परिवारमा रहँदा बहिनी र भाई लिएर ऊनी कहिलेकाँही घाँस काट्न र भैँसी चराउन पनि जाने गर्थिन् । बालापनमा भैँसीमाथि चढेर भैँसी चराएको सम्झँदै उनी अहिले हाँस्छिन् ।
बुवा र आमाको संस्कारले नै नीलमलाई आत्मनिर्भर र आत्मअनुशासनमा बस्न सिकायो । छोरीलाई सरकारी विद्यालयमा पढाउने र छोरालाई बोर्डिंगमा पढाउने त्यो बेलाको समाजमा हुर्किन् उनी । छोरालाई सम्पत्ति नै बेचेर व्यवसायिक शिक्षा दिने तर छोरीलाई छिटै विवाह गरिदिने किसिमको विभेद पनि नीलमले देखिन् । तर समाजका ती लैंगिक विभेदले उनलाई छोएन । उनी निरन्तर अघि बढि नै रहिन् ।
एसएलसीमा राम्रो अंकले उत्तीर्ण गरेपछि नीलम कमर्स विषय लिएर पढिन् । दमक क्याम्पसमा उनले आइकम टप गरिन् । त्यसपछि उनी महेन्द्र मोरंग क्याम्पस बिराटनगरमा भर्ना भइन् । तर बी. कम. प्रथम वर्षको अन्त्यसँगै १९ वर्षकै उमेरमा नीलमको विवाह भयो विष्णु तिम्सिनासँग । तिम्सिना अहिले प्रा.डा. विष्णु तिम्सिना भएका छन् । त्यसपछि उनले केही संघर्ष गर्नुपर्यो । नीलमको पढाइमा केही समय अवरोध आयो । छोरीको जन्म पश्चात जिम्मेवारीका कारण टपर नीलमले ढिलै भए पनि स्नातक उत्तीर्ण गरिन् ।
छोरी डेढ वर्ष भएपछि परिवारका साथ छोरीलाई छोडेर नीलम स्नातकोत्तर पढ्न निस्किन् । नीलमले पोष्टग्रेजुयट क्याम्पस बिराटनगरबाट एमबीए संकायमा टप गरिन् । र त्रिभुवन विश्वविद्यालयमा महिला तर्फबाट स्वर्ण पदक पनि पाएकी छिन् नीलमले । स्वर्गीय युवराज दीपेन्द्र र नीलमले एकसाथै स्नातकोत्तरको प्रमाणपत्र लिएका थिए ।
नीलम अध्ययन सकिए लगत्तै सोही क्याम्पसमा एकाउण्ट र अर्थशास्त्र विषयमा अध्यापनमा लागिन् । पारिवारिक समयका लागि उनी दुई क्याम्पसमा मात्र अध्यापन गर्थिन् । यद्यपी उनलाइ एकाउण्टको ट्युसन पढाइदिन पनि निकै आग्रह आउँथ्यो । उनलाई ट्युसन पढाउनभन्दा घरमा नै बसी परिवार र अध्यनकोलागि समय दिन मनपर्थ्यो ।
राष्ट्र बैंकमा फारम भरिसकेकाले नीलम फुर्सदमा अर्थशास्त्रका किताब पढ्ने गर्थिन् । परीक्षाको समय तोकियो । नीलम झापादेखि आइन् तर परीक्षा विभिन्न राजनैतिक कारण देखाउँदै सर्यो ।
- सडकमा छरिएका पुस्तकले बदलिएको जिन्दगी
परीक्षा सरेपछि उनी राष्ट बैंकको कार्यालय भएको स्थान वालुवाटारबाट जेठाजुको घर एकान्तकुनामा जानुपर्ने भयो । बालुवाटारदेखि एकान्तकुना जाँदा उनलाई रत्नपार्क ओर्लिनु पर्यो । सोही क्रममा आँखा एक्कासी रत्नपार्कको सडक छेउको भुइँमा छरिएका किताबमाथि अड्कियो । बैंकको परीक्षाका लागि चाहिने तयारी सामग्री रहेछ त्यहाँ । उनले किनिन् ।
उनी झापामा नेपाल राष्ट्र बैंकका लागि तयारी त गर्दै थिइन् तर पढ्ने पर्याप्त किताब थिएन । पसल जाने, कहाँ किन्ने, के किन्ने, उनलाई केही थाहा थिएन । त्यसैले त्यो सडक छेउमा लगाइएको पुस्तक पसल उनको लागि ढुंगा नखोज्दै देउता मिले जस्तै भयो ।
दुुई वर्षपछि फेरि राष्ट्र बैैंकको सहायक निर्देशक पदमा परीक्षाको मिति तोकियो,परीक्षा दिइन् । परीक्षाका लागि आउँदा उक्त पुस्तक उनले रटान पारेकी थिइन् । उनले त्यो किताब आजसम्म पनि सम्हालेर राखेकी छिन् । बैंकको ढोका खोल्ने उनको जीवनको चाबी बन्यो त्यो किताब ।
परीक्षा सरेकोमा चिन्तित हुँदै पहिलोपल्ट जाँच दिन नपाई फर्किएकी नीलम कहिलेकाहीँ केही नराम्रो कुरा केही राम्रोको लागि पनि हुन सक्छ भन्ने भनाई त्यो क्षणका लागि उपयुक्त ठान्छिन् ।
- नेपाल राष्ट्र बैंककी नीलम
सपनालाई अंगालेर आर्थिक अभावलाई झेल्दै र सानी छोरीप्रतिको ममतालाई थाती राख्दै नीलम जागीरको लागि काठमाडौँ आइन् ।
नीलमले २०५४ साल मंसिर २२ गते नेपाल राष्ट्र बैंकमा प्रवेश गरिन् । सर्वप्रथम उनले विदेशी विनिमय विभागमा सहायक निर्देशकका रूपमा नियुक्ति पाइन् ।
एक वर्षसम्म विदेशी विनिमय विभागमा काम गरिसकेपछि उनको बिराटनगर सरूवा भयो र त्यहाँको कामले सहयोग उनलाई सहयोग गरेको सुनाउँछिन् नीलम ।
हालसम्म नीलमले हर परीक्षामा अब्बल हुँदै बढुवा भई बैंक सुपरिवेक्षण विभाग ,अनुसन्धान विभाग ,मौद्रिक सरकारी वित्त शाखा,आन्तरिक लेखा परीक्षण लगायतका विभागमा योगदान पु¥याइसकेकी छिन् ।
नीलमसँगै परीक्षा दिएर बैंकमा प्रवेश गरेका ४९ जना मध्ये सबैभन्दा अघि छिन् उनी ।
पढ्नमा अत्यन्त रूचि दिने नीलमले बैंकको दिएको अवसरलाई सदुपयोग गर्दै अष्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तरको शिक्षा पनि हासिल गरेकी छिन् ।
केहि दिनमा नीलम भारतको राजस्थानमा मोनिटेरी पोलिसी र बैंक ल्याण्डिंग विषयमा विद्यावारिधिको दीक्षान्त समारोहमा भाग लिँदै छिन् । निकै दुखका साथ उनले कार्यालयमा दिनभर काम र घरमा रातभर अध्ययन गरी विद्यावारिधि पूरा गरिन् । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेझैँ नीलमको उद्देश्य पनि नेपाल राष्ट्र बैंकको उपल्लो तहको नेतृत्व तहमा पुगेर इतिहास रच्ने छ ।
- कार्यकारी निर्देशक हुँदाका चुनौती
नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक हुँदाका चुनौतीका बारेमा नीलम भन्छिन् ,“सबै कर्मचारीलाई व्यवस्थापन गरेर संस्थाको उद्देश्य प्राप्ति गर्नु नै मुख्य चुनौती हुन्छ । नेपाल सरकार र वाणिज्य बैैंंक तथा वित्तीय संस्थाहरूको बीचमा समन्वय मिलाएर अघि बढ्नु पनि चुनौती हो ।“समग्र बैंकका हिसाबले भने वित्तीय क्षेत्र स्थायित्व कायम गर्ने चुनौती त सधैँ नै छँदै छ ।” थप्छिन् नीलम ।
- नेपाल राष्ट्र बैंकमा समस्या
नेपाल राष्ट्र बैंक वित्तीय संस्थाहरूको नियामक निकाय भएकाले जिम्मेवार संस्थाको जिम्ममेवार पदमा रहँदा नीलमलाई पनि जिम्मेवारीबोध सदैव भइरहेको छ ।“बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको जोखिम हुन्छ । वित्तीय संस्था जनताको निक्षेपको धरोहर र सुरक्षाकर्ता पनि हो । जहिलेपनि उत्पादनशील क्षेत्रमा कर्जा दिने र कर्जाको सदुपयोग भएको छ कि छैन भन्नेमा नेपाल राष्ट्र बैंक सर्तक छ । वित्तीय स्थायित्व कायम गर्नु नै हाम्रो मुख्य उद्देश्य रही आएको छ । ” नीलम सुनाउँछिन् ।
अहिले भने यसबाहेक बैंकका हिसाबले सरकारी ऋणपत्रको कारोबारलाई डिजिटलाइज प्रणालीमार्फत संचालन गर्ने बैंकको मुख्य उद्देश्य रहेको छ । नीलम बताउँछिन् ,“त्यसकालागि सफ्टवेयर जडान पनि हुँदैछ । ती कार्य निर्वाध रूपमा गर्नका साथै मौद्रिक उपकरणको कुशलतापूर्वक संचालन गर्ने मुख्य लक्ष्य हाम्रो छ ।”
इमान्दार कर्मचारी हुँदा नेपाल राष्ट्र बैंकको प्रतिष्ठा अभिवृद्धि र उद्देश्य प्राप्तिमा प्रभावकारिता आउँछ । सदैव बैंककै प्रतिष्ठा अभिवृद्धि गर्ने कोशिस गरेकी छु । ” नीलम जोड दिन्छिन् ।
वित्तीय संस्थाका हकमा पनि निर्देशक नीलम, नियामक निकायको निर्देशनअन्तर्गत रहेर जोखिम न्यूनीकरण गरेमा वित्तीय संस्थाको जोखिम न्यूनीकरण र प्रगति हुने सुझाव दिन्छिन् ।
अन्य महिला सरह नीलमले पनि जीवनमा महिला भएकै कारण धेरै चुनौती झेल्नुपर्यो । उनलाई लाग्छ,“प्राय मानिस संघर्ष गरेको देख्दैनन् तर सफलता देख्छन् ।” आजको यो चरणसम्म आउँदा उनले यस्ता समाजका नकारात्मक सोचलाई धेरै हदसम्म चिरेकी छिन ।
उनी भन्छिन् , “हरेक कदममा महिलालाई चुनौती छ । आर्थिक रूपान्तर पले सबल र स्वतन्त्र नभई महिला स्वतन्त्र हुन सक्दैनन् । अन्य कुनै उपकरणले मात्र स्वतन्त्रता आउन सक्दैन । महिला आत्मनिर्भर हुँदा हिंसा पनि कम हुन्छ ।”
महिलाका लागि घरायसी र कार्यस्थलको जीवनमा सन्तुलन राख्नु पनि चुनौतीपूर्ण छ । तर परिवारबाट नैतिक समर्थन पाएमा महिलाले धेरै उन्नति गर्न सक्छन् ।”
नीलमले सोच्छिन् , केही विभेद यस्ता हुन्छन् जुन हामीले अनुभव मात्र गर्न सक्छौँ , अभिव्यक्त गर्न सक्दैनौँ । मलाई लाग्छ महिला पु?षभन्दा बौद्धिक हिसाबले अघि हुन्छन् । सामाजिक सुरक्षाको मात्र महिलालाई आवश्यकता हुन्छ ।
मिहिनेतका साथ दत्तचित भएर लाग्दा महिलालाई आरक्षणको खाँचो पर्दैन भन्ने नीलमको धारणा छ ।
महिला श्रृंगारमा बढी ध्यान दिने र काममा ध्यान दिँदैनन् भन्ने सोच भएका व्यक्ति पनि देखेकी छिन् नीलमले । तर यस सवालमा महिलाले कामले नै प्रमाणित गर्नुपर्ने र क्षमताको विकाश गर्नुपर्ने उनको जोड छ ।
उनी आफ्नो अनुभवका आधारमा बैंकको जागिरेका लागि भन्छिन् ,“अध्ययनशीलता ,अंग्रेेेेेेेजी भाषाको ज्ञान , कम्प्युटरको ज्ञान, अर्थशास्त्र, लेखा र व्यवस्थापनको पर्याप्त ज्ञान तथा बकैंको ऐनकानूनको दख्खल भएमा संस्थाका साथै आफ्नो पनि उन्नति हुन्छ ।”
नेतृत्वमा सवाल भने उनीमाथि आजसम्म उठेको छैन । नीलमले आवश्यकताभन्दा पनि धेरै गर्न सक्छिन् भन्ने सोच्छन् आजभोली मानिसहरू । अहिले उनको नेतृत्व क्षमतामा सायदै कसैले शंका गर्ला ।
नेपाल राष्ट्र बैंकको राष्ट ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक नीलमलाई शेयर बजार अर्थतन्त्रको ऐना हो भन्ने लाग्छ । उनी आफ्नो ज्ञान बाँड्दै भन्छिन् ,“शेयर बजारको भूमिका देशको अर्थतन्त्रमा महत्वपूर्ण रही आएको छ । तर लगानीकर्ताले लगानी गर्ने भन्दैमा आफ्नो आर्थिक अवस्थाले नै धान्न नसक्ने र महँगो व्याजमा ऋण गरी तुरून्त नाफा गर्ने उद्देश्यले गर्नु हुँदैन । दीर्घकालिनसम्म होल्ड गर्न पनि सकिन किसिमले आफ्नो पूँजीले लगानी गर्नुपर्छ । उतार चढावमा विचलित नभई दीर्घकालीन रूपमा सोचेमा शेयर बजारमा राम्रो गर्न सकिन्छ । ”
शेयर बजारमा केही ज्ञान भए पनि उनको लगानी भने प्राथमिक बजारबाट जारी भएका शेयरमा मात्र छ । केही जलविद्युत कम्पनी र बैंकहरूमा उनी र उनको श्रीमानले लगानी गरेका छन् ।
- संघर्ष बिना सफलता हासिल गर्न सकिँदैन
अहिले आमा बुवा ,परिवार र समाजलाई गर्व गर्ने मौका दिएकी छिन् नीलमले । बुवाको प्रेरणा , श्रीमानको अनवरत साथ तथा योगदान र परिवारको सहयोगको कारण आज बेग्लै पहिचान बनेकोमा हर्षित छिन् नीलम । उनको जीवनलाई हरकिसिमको सकरात्मक स्थायित्व दिएको छ उनकै कठोर परिश्रमको फल ,नेपाल राष्ट्र बैंकको यस उपलब्धिले । एक छोरा र एक छोरीकी आमा नीलमको जीवनको निष्कर्ष नै संघर्ष बिना सफलता हासिल गर्न सकिँदैन भन्ने हो ।