लक डाउनकाे नवाैं दिनसम्म ७ अर्ब १३ कराेड राजस्व संकलन,३० करोड रुपैयाँ मात्र पूँजीगत खर्च

Apr 02, 2020 06:46 PM merolagani



कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले देश नै लकडाउन गरेपछि देशका अर्थिक गतिविधिहरु प्रभावित भएका छन्। जसले गर्दा पूँजीगत खर्च हुन सकेकाे छैन भने राजस्व पनि कम उठेको छ।

आर्थिक वर्षको सुरुवात देखि नै पूँजीगत  लक्ष्य अनुसार खर्च गर्न नसकेकाे  सरकारलाई पछिल्लो समय देखिएको कारोना भाइरसका असरका कारण पूँजीगत खर्च र राजस्व संकलन गर्न थप समस्या भएको छ।

महालेखा नियन्त्रक कार्यलयका अनुसार  चैत ११ गतेदेखि देश लकडाउनमा गएपश्चात गत ९ दिनमा सरकारले ७ अर्ब १३ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ भने ९ अर्ब ५८ करोड रुपैयाँ मात्र खर्च भएको छ।

यसमा पूँजीगत खर्च भने नगन्य रहेको छ। चैत ११ गतेदेखि १९ गतेसम्ममा सरकारले ३० करोड २८ लाख रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ।

चालु आर्थिक वर्षको चैत १९ गतेसम्ममा सरकारले ५ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा आर्थिक वर्ष सकिन झण्डै ३ महिना मात्र बाँकी रहदा आधा मात्रै राजस्व उठेको छ।

अहिले अत्यावश्यक भन्दा अन्य बस्तुको आयातमा रोक लगाइएको छ भने देशका अन्य गतिविधिहरु समेत ठप्प छन्। अहिले गत एक सातादेखि शेयर बजार समेत बन्द छ। जसले गर्दा राजस्व संकलनमा कमी आएको छ।

चालु आर्थिक वर्षको चैत १९ गतेसम्ममा सरकारले ६ खर्ब ३९ करोड रुपैयाँ बराबरको बजेट खर्च गरेको छ। जुन लक्ष्यको ४१.७४ प्रतिशत मात्र हो। सरकारले यस वर्ष १५ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो।
यस अवधिमा १ खर्ब ३ करोड रुपैयाँ पूँजीगत खर्च गरेको छ जुन लक्ष्यको २५.४५ प्रतिशत मात्र हो।

पछिल्ला बर्षहरूको तथ्याङ्क हेर्दा सरकारले आर्थिक वर्षको अन्त्यमा मात्रै अत्याधिक पूँजीगत खर्च गर्ने गरको थियो। तर यस वर्ष कोरोनाको असर लामै समय रहिरहेमा निकै कम मात्र खर्च हुने देखिएको छ।

कारोनाको असर अझै कति समय रहन्छ भन्ने यकीन नहुदा आर्थिक बृद्धिदर समेत खुम्चने देखिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले समेत नेपालको आर्थिक बृद्धिदर १ देखि २ प्रतिशतसम्म खुम्चन सक्ने बताएका छन्।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।