कोरोना कहरबीच जुरेको लगन : लकडाउनले रोकेन दुई जीवनको मिलन

May 23, 2020 12:06 PM Merolagani

ज्योति शाह ।
लकडाउनको समय शहर र सडक सुनसान छ । एक्कासी तीन वटा मोटरसाइकल बाटोमा देखिन्छन् । अन्य मोटरसाइकलमा मानिस सामान्य देखिन्छन् तर एकमा देखिएको दृश्य फरक छ । सामान्य सर्ट पाइन्टमा मोटरसाइकल कुदाएका युवकको पछिल्लो सिटमा बसेकी छिन् रातो सारी र घुम्टो ओढेकी युवती ।

यो दृश्य चितवनमा भएको वैशाख १३ गतेको विवाहको हो । मोटरसाइकलमा देखिएका बेहुला र बेहुली चोकबजार, चितवनका सुलभ न्यौपाने र श्रेया निरौला हुन् । उनीहरु वास्तविक बेहुला र बेहुली जस्ता देखिदैनन् थिए ।

विश्वमा कोरोना महामारी बढ्दै गएपछि कोरोना भाइरस नियन्त्रणकालागि सरकारले चैत्र ११ गतेदेखि लकडाउन जारी ग¥यो । मुलुकभर अन्यौल छायो । तर यी अन्यौलताका बिचमा अर्को अन्यौल थियाे बैशाखमा विवाहकालागि ताेकिएकाे लगन ।लकडाउनको समयमा विवाह कसरी गर्ने भन्ने प्रश्न र द्विधा सिर्जना भयो । कैयौँले विवाहको पूर्व तयारी, किनमेल र बुकिङ गर्न भ्याएका थिए भने केहिको तयारी सुन्य थियो ।

अचानक भएको लकडाउनका कारण धेरै विवाह रद्ध भए तर केहि वैवाहिक कार्यक्रम भने सफल भए । यस्तै विवाहको योजनालाई लकडाउनमा नै भएपनि सफल बनाए सुलभ र श्रेयाले । करिब एक वर्षको प्रेमलाई विवाहसम्म पु¥याउने योजना अनुरुप श्रेया र सुलभले लकडाउनका बिचमा विवाह गर्ने निर्णय गरे । सुलभ पाँच जना जन्ती बोकेर मोटरसाइकलमा १२ किलोमिटर परको मन्दिरमा श्रेयालाई लिन गएका थिए । श्रेया पनि नारायणगढबाट आमाको सारी र सामान्य श्रृंगार गरेर ६ जनाकासाथ मन्दिर पुगिन् । मन्दिरमा पण्डितले मास्कमा नै रहेर करिब एक घण्टामा उनीहरुको विवाह गराइदिए । नजिकैको पसलबाट किनेको सिन्दुर र पोतेले नै विवाह भयो यि जोडीको ।

सुलभ चितवनमा व्यापार गर्छन् भने श्रेया श्रीमानलाई सघाउँछिन् । 'सोंच सामान्य विवाह गर्ने थियो तर यसरी गर्नुपर्ला भन्ने कल्पना पनि गरेका थिएनौँ',श्रेया भन्छिन् । 'दुलाहादुलही बन्दा सुन्दर देखिने मन कसको नहोला र ?तर त्यो भएन ।' उनलाई कताकता खिन्न पनि लागेको छ । लकडाउन फुकवा भएपछि उनीहरुको भोज भतेर गर्ने कुनै सोंच नभएको र जे छ त्यसैमा खुशी र सन्तुष्ट भएको श्रेया बताउँछिन् । लाखौँ खर्च गरेर गरिने तडकभडकवाला विवाह र सामान्य खर्चमा भएको लकडाउनको विवाहले दम्पतिको खुशी तौलन नसक्ने यिनको हाँसोबाट झन्कन्छ ।

समाजमा देखिने औसत विवाह भन्दा फरक विवाह भयो यी जोडीको । महिनौँदेखि तयारी गर्ने,योजना बनाउने, बुकिंग गर्ने,सामान खरिद गर्ने तथा कैयौँ दिनको भोज भतेर देखिने समाजका अन्य विवाह भन्दा यो विवाह नौलो लाग्न सक्छ । तर समय र परिस्थितीको मारमा परेकाले लकडाउनमा विवाह गर्न बाध्य भएका छन् केहि जोडी ।

यस्तै लकडाउनमा विवाह भएका अर्का दम्पति हुन् गोरखाका निरज ढकाल र धादिङकी अप्सरा सिग्देल ।

'गोरखाका निरज ढकाल वैशाख २० गते बिहान ८ बजे ५ जना जन्ती बोकेर धादिङ निस्किए । जन्तीमा कुनै रौनक थिएन, दुलाहालाई उत्सुकता भन्दा डर धेरै थियो । दुलहीको घर नपुगुन्जेल उनको मन स्थिर थिएन लकडाउनमा बिहे गरेकामा प्रहरीले हप्काउँछकी भन्ने भय उनलाई थियो । करिब १० बजे दुलही अप्सराको घर धार्के पुगे जन्ती । दुलहीको माइती पक्ष पनि केवल ७ जना रहेका थिए । करिब दुई घण्टाको सामान्य विवाह पश्चात दुलही बोकेर पुनः गोरखा,आरुपोखरी फर्किए निरज । तर निरजका अनुसार उनले निर्धक्क विवाह भने गर्न पाएनन् । 'घर नपुगुन्जेल केहि बाधा आउला कि भनेर मनमा अनेक प्रश्न र डरले सतायो । कोरोनाको डर पनि थियो, कतै चेक जाँचमा परेर अप्ठ्यारो हुन्छ कि भन्ने डर रहेको थियो,'उनी सम्झन्छन् ।

परिवारको चिनजानमा वैशाख १७ गते यि जोडिको पहिलो पटक भेटघाट भयो । वैशाख १८ गते सबैको सहमतिमा बेलुका ४ बजे विवाह पक्का भयो । १८ गते नै बेलुका सामान्य किनमेल गरे यी दुईले ।फार्मेसी भएकाले पासका कारण किनमेलकालागि सजिलो भएको अप्सराले बताइन्। छिमेकीको सहयोगमा कपडा सिलाइएको थियो । विवाहकालागि लकडाउन खुल्नसम्म कुर्न नसक्ने निरजको बेग्लै बाध्यता थियो । कारण उनका हजुरबुवा बिरामी थिए ।

अप्सराको आँगन पोलेर,बाजा बजाएर,आफन्त,इष्टमित्र सबैको रहोवरमा धुमधामले विवाह गर्ने रहर भएको तर लकडाउनले सबै रहर लुटेकोमा उनी खिन्न छिन् । तर पनि लकडाउनको समयमा विवाह सम्पन्न भएकोमा भने सन्तुष्ट रहेको उनले टेलिफोनमा बताइन् । लकडाउनमा सामान जुटाउन सबै भन्दा ठुलो चुनौती रहेको पनि उनी सम्झिन्छिन् । 'हतारमा गहनामा किन्दा परिवार केहि ठगिनु भएछ',उनले सुनाइन् । अप्सरा हाँस्दै भन्छिन्,'विवाह जसरी पनि हुन सक्दो रहेछ, चाहना हुनपर्ने रहेछ । लकडाउनले जीवन रोकिदो रहेनछ ।जीवनको महत्वपुर्ण निर्णय गरियो लकडाउनमा,खुशी छौँ ।'

'हाम्रोलागि फरक रमाइलो र चुनौतीपुर्ण अनुभव भयो । लकडाउनमा विवाहको सम्भावना नै देखिएको थिएन । तर सन्तोषजनक विवाह रह्यो' नव दुलाहा निरज सन्तुष्ट सुनिन्छन् ।निरजलाई लकडाउनमा विवाहको सबैभन्दा दुखद पाटो आफ्नै दिदीबहिनी तथा आफन्तहरुलाई समेट्न नपाउनु भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।