मौद्रिक नीतिले बैंकास्योरेन्स ब्युत्याउँदै: बीमा विस्तारमा थप टेवा पुग्ने अपेक्षा

Jun 25, 2020 11:29 AM Merolagani

अरूण पाख्रेन
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकास्योरेन्स ब्युत्याउँने भएको छ । वाणिज्य बैकहरूको चर्को लबिङ र बीमा कम्पनीहरूको गुनासो बढेपछि राष्ट्र बैंंकले बैंकास्योरेन्समा पुनरावलोकन गरी ब्युत्याउँने तयारी गरेको हो ।

राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले बीमा कम्पनीहरूबाट गुनासो आइरहेकोले बैंकास्योरेन्सलाई पुनरावलोकन गरी पुनः लागु गर्न लागेको बताए ।‘बीमा कम्पनीहरूबाट गुनासो आइरहेकोले बैंकास्योरेन्सको विषयलाई पुनरावलोकन गर्ने सन्दर्भमा छलफल भइरहेको छ । तर निर्णय भने भइसकेको छैन्’ उनले भने ।

पछिल्लो समय बैंकास्योरेन्सको व्यवस्थालाई नियमन गर्ने निकायको दायरामा ल्याएर बीमा कम्पनीहरूलाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा राष्ट्र बैंक रहेको समेत उनले प्रष्ट पारे । ‘बैंकास्योरेन्सलाई लिवरल ढंगबाट ल्याउनु पर्छ भन्ने बैंक तथा बीमा कम्पनीहरूको माग छ,’ उनले भने, ‘हामीले पनि बैकिङ्ग तथा वित्त बजारमा सकरात्मक प्रभाव पर्ने गरी बैंकास्योरेन्स पुनरावलोक गर्ने तयारी गरेका छौ ।’ त्यस विषयमा असार अन्तिममा मात्रै निर्णय हुने डेपुटी गर्भनर सिवाकोटीले मेरो लगानीलाई जानकारी गराए ।

बीमा समितिका अध्यक्ष चिरन्जिवी चापाँगाईले पनि विभिन्न फोरमहरूमा बैंकास्योरेन्स सेवा बन्द गर्न नहुने बताउँदै आएका छन् । बैंकास्योरेन्स बन्द भएकोमा उनले असन्तुष्टि जनाउँदै आएका छन् । इन्स्योरेन्स कम्पनीहरूलाई गर्नु पर्ने नियमन बीमा समितिले गर्ने र बैंकहरूलाई गर्नुपर्ने नियमन राष्ट्र बैंकले गर्नुपर्ने उनको जोड छ ।

समितिका कार्यकारी निदेशक राजुरमण पौडेले भने त्यस विषयमा राष्ट्र बैंकसँग कुनै छलफल नभएको बताए । ‘बैंकास्योरेन्सबारेमा हाम्रो राष्ट्र बैंकसँग छलफल भएको छैन् । तर व्यवस्थित बनाएर बैंकास्योरेन्स व्यवस्था पुनः सञ्चालनमा ल्याउनुपर्छ भन्ने हाम्रो पहिले देखिकै धारणा हो,’ उनले भने ।

जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्समा भएका विकृतिको अन्त्य गरी पुनः सञ्चालनमा ल्याउने पर्ने बताए । ‘हामीले पहिले देखिनै बैंकास्योरेन्स बन्द गर्नु हुदैन भनेर जोड दिँदै आइरहेका छौं । बैंकास्योरेन्सलाई व्यवस्थित बनाएर पुनः सञ्चालनमा ल्याउनु पर्छ,’ उनले भने, ‘मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकास्योरेन्स पुनः सञ्चालनमा ल्याए हामी खुलेर स्वागत गर्छौं ।’

मौद्रिक नीति मार्फत बैंकास्योरेन्स पुनः सञ्चालनमा आए बीमा पहुँचको विस्तारमा टेवा पुग्ने उनको भनाइ छ ।
बैंकर्स संघले पनि मौद्रिक नीतिमा सुझाव पेश गर्दै बैंकास्योरेन्सलाई पुन सञ्चालनमा ल्याउनुपर्ने माग रखेका छन् ।

किन बन्द गरिएको थियो बैंकास्योरेन्स

राष्ट्र बैंकले विकृति बढेको भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकास्योरेन्स बन्द गराएको थियो । बैंकका कर्मचारीहरूले इन्स्योरेन्सको कमिशनको लोभमा अफिसको काम छोडेर इन्स्योरेन्स मात्रै गर्न थालेको आरोप लाग्ने गरेको थियो ।

बीमा पोलिसी विक्रीबाट मासिक ढेड दुई लाख आम्दानी हुने भएपछि बैंकका कर्मचारीहरूले बैंकास्योरेन्सको नाममा बेतिथि बढेको भन्दै राष्ट्र बैंकले रोकेको हो ।
यस्तै बैंक र बीमा कम्पनीहरूको स्वार्थका लागि बैंकमा आएका सबै ग्राहकहरूलाई बीमा पोलिसी खरिद गर्न बाध्य पारिने गरेको सर्वसाधारणहरूको गुनासो समेत थियो ।

बैंकास्योरेन्सको नाममा बैंकका कर्मचारीहरूलाई बीमा टार्गेट दिएको भएर राष्ट्र बैंकले यो व्यवस्था मौद्रिक नीति मार्फत बन्द गरेको हो । बैंकास्योरेन्सका नाममा बैंकहरूले अप्रत्यक्ष रूपमा बीमा एजेन्टको रूपमा काम गर्दै मोटो रकम कमिसन पाउँदै आएका थिए ।
पछिल्लो समय वाणिज्य बैंकहरूको शाखा विस्तार तिव्र भएकोले बीमाको पहुँच समेत विस्तार हुने सरोकारवालाहरूको भनाइ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।