तर पछिल्लो तीन महिनादेखि लकडाउनले ट्याक्सी घरमा थन्क्याएर राख्नुपर्दा निकै मुश्किल परेको उनी बताउँछन् । 'घरमा बसेर खानुपरेको छ,काम गर्न पाइएको छैन परिवार कसरी पाल्ने ? 'सन्तोषले चिन्ता व्यक्त गरे ।
काठमाडौँंको वनस्थली क्षेत्रमा ट्याक्सी चलाउने विकास राना मगरको कथा पनि सन्तोषको भन्दा कम छैन । ट्याक्सी चलाएरै विकासले भाई,श्रीमती र दुई बच्चासहितको परिवारको जिम्मेवारी पुरा गर्नु पर्छ । यसका अलावा बैंक र फाईनाइन्समा ट्याक्सीको किस्ता तिर्नु पर्ने उनले सुनाए। 'दुई वटा ट्याक्सी छन्, यसैको कमाईले परिवार पालेको थिएँ, अलिअलि भएको मौज्दात पनि सकिन थाल्यो', विकासले भने । सन्तोष र विकासहरु त प्रतिनिधि पात्र मात्रै हुन । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने हजारौँलाई कोरोनाका कारण लगाइएको लकडाउनले यस्तै पिरलो थपिदिएको छ ।
- २० हजार ट्याक्सीका चालक मारमा
काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा चल्ने २० हजार ट्याक्सीहरु लकडाउनको मारमा परेको ट्याक्सी व्यवसायीहरुको भनाई छ । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने ११ हजार ट्याक्सी चालक र तीनमा आश्रीत झण्डै ८० हजार परिवारका सदस्य लकडानको मारमा परेको दावी उनीहरुको छ ।
ट्याक्सी चलाउन नपाउँदा र बचत नहुँदा ऋणमा जाने चिन्ता बढेको चालकहरु बताउँछन् । सरकारबाट ब्याज छुट हुने आशा गरेका उनीहरुले सरकारसंग जसरी पनि ट्याक्सी चलाउन दिनु पर्नेे माग गरेका छन् ।
निजी सवारी र ट्याक्सीमा खासै फरक नभएको भन्दै ट्याक्सी चालकहरुले सुरक्षाको उपाय अपनाएर
व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । सुरक्षाको उपाय अपनाएर जोर बिजोर प्रणालीअनुसार ट्याक्सी सञ्चालन गर्न पाउनु पर्ने अखिल नेपाल यातायात मजदुर संघको माग छ ।
'हामीलाई चलाउन दिनुपर्यो, एक बोरा चामल दिएर समस्याको समाधान हुँदैन,मासिक ३० हजार किस्ता चालकहरुले कसरी तिर्छन?', संघ आवद्ध एक चालकले भने। 'हाम्रो समस्याको समाधान हामी आफैले गर्ने हो ।कोरोना हामीलाई मात्र लाग्ने? ट्याक्सी चढ्दा मात्र कोरोना लाग्ने नत्र नलाग्ने भन्ने त नहोला !' तिनले प्रतिप्रश्न गरे ।
- कार्यविधि बनाएर सेवा सञ्चालन
ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै राजधानीमा केहीदिन अघि ट्याक्सी चालकहरुले आन्दोलन गरे। हातमुख जोड्ने पेशा लामो समय बन्द हुँदा उठीबास लाग्ने अवस्था आएको भन्दै उनीहरुले सरकारसंग ट्याक्सी चलाउने अनुमति मागेका थिए । तर दबाबमुलक आन्दोलन दोस्रो दिननै स्थगन गरिएको छ । ट्याक्सी व्यवसायी तथा मजदुरहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको भन्दै आन्दोलन फिर्ता लिइएको नेपाल यातायात मजदुर संघले जनाएको छ ।
संघीय संसद विकास तथा प्रविधि समितिले नेपाल सरकारलाई मजदुर तथा व्यवसायीहरुको माग सम्बोधन गर्न निर्देशन दिएको,वागमती प्रदेशका सरोकारवाला प्रादेशिक मन्त्रालयहरुसँग समेत छलफल भइ माग सम्बोधन गर्न प्रतिबद्धता आएको संघ आबद्ध चालकहरुले बताए । सुरक्षा कार्यविधि बनाएर ट्याक्सी सञ्चालन गर्न दिने विषयमा यातायात व्यवस्था विभागले काम थालिसकेका कारण पनि आन्दोलन स्थगन गरिएको उनीहरुको भनाई छ ।