लगानीकर्ताले दैनिक हेर्नै पर्ने शेयरबजार सम्बन्धी महत्वपुर्ण सरकारी तीन वेबसाइट

Jul 30, 2020 08:16 PM Merolagani

सूचना वा डाटा त्यस्तो हतियार हो जसको सदुपयोग र दुरुपयोगका विषयमा विश्वका शक्तिशाली देशका प्रमूखहरु बीच पनि विभिन्न समयमा विभिन्न किसिमका वाक युद्ध र शीतयुद्ध नै चलिरहेका हुन्छन्।

हाल अमेरिका र चिन बीच यस्तै सूचना वा डाटा चोरीको विषयलाई लिएर शित युद्ध चलिरहेको छ। बदलिदो विश्व परिवेशमा सूचना वा डाटा भौतिक सम्पती भन्दा महत्वपुर्ण र बलियो बन्दै गइरहेको छ। अहिलेको चासो र चिन्तनको विषय भनेको यस्तो सूचना वा डाटालाई कसरी जोगाउने वा सुरक्षित गर्ने भन्ने नै हो। यस विषयमा ठूला ठूला बहस शुरु भईरहेका छन्। महामहिमहरु बीच सूचना वा डाटा चोरीको आरोप प्रत्यारोप चल्नु र ह्याकिगं बढ्नुले पनि के देखाउछ भने अबको दुनियामा सबैभन्दा ठूलो सम्पती भनेको त सूचना वा डाटा नै रहेछ।

शेयर कारोबारको क्षेत्रमा त्यो व्यक्तिले मात्र मनग्य नाफा आर्जन गर्दछ, जसको सूचना वा डाटामा सबैभन्दा राम्रो पहुँच हुन्छ। शेयर कारोबारको लागि अति नै आवश्यकिय कुरा भनेकै सही सूचना वा डाटा समयमा नै प्राप्त गर्नु हो। धेरै जसो लगानीकर्ताहरुले सूचना वा डाटाको प्राथमिक श्रोतभन्दा पनि दोश्रो श्रोतमा निर्भर रहेको पाईन्छ। प्राथमिक वा आधिकारिक सूचना वा डाटा प्राप्त गर्न शेयरबजार सम्बन्धी महत्वपुर्ण ३ वटा वेबसाईटहरु बारे यस लेखमार्फत जानकारी दिन चाहन्छु जुन शेयर लगानीकर्ताले हरेक दिन जसो हेर्नै पर्ने हुन्छ। यी ३ वेब साइटहरुबाट शेयरबजार सम्बन्धी महत्वपुर्ण जानकारी, डाटा वा सुचना सित्तैमा पाउन सकिन्छ जुन निम्नासार रहेका छन्ः

१. नेपाल धितोपत्र बोर्डको वेबसाइट (www.sebon.gov.np)

पूँजीबजारको नियमन, अनुगमन, सुपरिवेक्षण र विकास एवं सुधार गर्ने जिम्मेवार भूमिका भएको नियमक निकाय हो, नेपाल धितोपत्र बोर्ड। यसको वेबसाईटमा विषेशत धितोपत्र सम्बन्धी महत्वपुर्ण ऐन, कानून, नीति, नियम, निर्देशिकाहरु पाईन्छ। त्यसैगरि पूँजीबजारको विकास र विस्तारका विषयमा भएका प्रयासहरु, योजना र रणनीतिका साथै विभिन्न समयमा भएका सर्कुलरहरु पढ्न पाइन्छ। कुन–कुन कम्पनीको प्राथमिक निष्काशन वा थप निष्काशन, हकप्रद शेयर निष्काशन स्वीकृत भयो वा प्रकृयामा छ त्यो थाहा पाउन सकिन्छ। धितोपत्र सम्बन्धी विभिन्न किसिमका प्रतिवेदनहरु, बुकलेट, जर्नल आदि पनि यहाँ हेर्न र पढ्न पाईन्छ। बोर्डले लगानीकर्तालाई शेयर शिक्षा समेत दिने भएकोले शिक्षामूलक सन्दर्भ सामाग्रीहरु डाउनलोड गर्न सकिन्छ। शेयर सम्बन्धी प्राथमिक एवं आधिकारिक सुचना, डाटा र जानकारीको लागि लागनीकर्ताले सदैब यस साईटबाट अध्यावधिक हुनु जरुरी छ। विभिन्न मिडियाहरुले यसै साइटबाट समाग्रीहरु लिएर समाचार एवं रिपोर्टहरु बनाइरहेका पनि हुन्छन्।

२. नेपाल स्टक एक्स्चेन्ज लि. (www.nepalstock.com.np) 

नेप्सेले नेपाल सरकार तथा संगठित संस्थाहरुले जारी गरेका धितोपत्रहरुको कारोबारका लागि दोस्रो बजार उपलब्ध गराउँदछ। यसले कारोबार गर्ने लगानीकर्ताको हित प्रबद्र्धन गर्नुका साथै सदस्य दलालहरु मार्फत शेयर, ऋणपत्र, म्युचुअल फण्डका इकाई लगायतका धितोपत्रहरुको कारोबार गर्ने÷गराउने गर्दछ । सूचीकृत कम्पनी एवं धितोपत्र व्यवसायीहरुको नियमन गर्ने जिम्मेवारीसँगै ५० सदस्य दलालमार्फत काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिरका प्रमुख शहरहरुमा सर्वसाधारण लगानीकर्तालाई धितोपत्र किनबेच सुविधा उपलब्ध गराउँछ। नेप्सेको साईट (www.nepalstock.com वा www.nepalstock.com.np) मा शेयर सम्बन्धी विभिन्न सुचना, डाटा, जानकारी, रिपोर्ट, चार्ट र ग्राफ हेर्न र पढ्न पाईन्छ।

 

शेयरको लाईभ कारोबार र मुल्य,आजको कारोबार सिट,उच्च संख्याको शेयर कारोबार गर्ने कम्पनीहरु, उच्च मुल्यमा कारोबार गर्ने कम्पनीहरु, न्यून मुल्यमा कारोबार गर्ने कम्पनी आदिको सूचि समेत छानेर हेर्न सकिन्छ। कारोबारको समग्र सूचक नेप्से परिसूचकका साथै कूल कारोबार रकम र संख्या समेत यहाँ हेर्न सकिन्छ । अघिल्लो कारोबारभन्दा कतिले अंकले वा प्रतिशतले कुन कम्पनीको शेयर मुल्यमा कतिले घटी वा बढी भयो त्यो जानकारी पनि यहाँबाट प्राप्त गर्न सकिन्छ। समग्र नेप्से परिसूचकमा अघिल्लो दिनको कारोबारभन्दा पछिल्लो दिनमा कतिले फरक पर्यो, त्यो पनि यहाँ हेर्न सकिन्छ। विगतमा कुन दिनको नेप्से परिसूचक कति थियो त्यो पनि थाहा पाउन सकिन्छ।

यसका अलवा यहाँबाट लगानी गर्न लिइने महत्वपुर्ण निर्णयको लागि आवश्यक पर्ने विश्लेषण, किन्ने वा बेच्ने निर्णय लिन आवश्यक सूचना वा डाटा प्राप्त गर्न सकिन्छ। जस्तो कि कुनै कम्पनीको ९० दिन वा १२० दिनको औषत मुल्य,कारोबारको विस्तृत सिट, मार्केट डेप्थमा मूल्य सहित शेयर किन्ने र बेच्नेको सूची, सूचीकृत कम्पनीको सूची आदि। कारोबारमा समूहगत अवस्थाको जानकारी यहाँबाट प्राप्त गरी आफ्नो निर्णय लिन सजिलो हुन्छ। जस्तो कि अहिलेको कारोबारमा समूहगत रुपमा शेयर मुल्यवृद्धिको अवस्था बैंकिगभन्दा इन्स्योरेन्स र माइक्रोफाइनान्सको राम्रो रहेको देखिन्छ । नेप्सेले सूचीकृत कम्पनीहरुमध्ये कम्पनीहरुलाई चार वटा समुह A, B, G, Z मा वर्गीकरण गरेको छ, जसबाट के थाहा पाउन सकिन्छ कुन, कुन कम्पनी अब्बल,मध्यम, ठिकै र न्यून रहेछन्। ती कम्पनीहरुको सूची यहाँ देख्न सकिन्छ जसले लगानीकर्तालाई लगानीको निर्णय लिन सहज हुन्छ। ग्राफको माध्यमबाट दिन, हप्ता, महिना, त्रैमासिक र वर्ष दिनमा नेप्सेको अवस्थाका साथै कुनै पनि कम्पनीको अवस्था हेर्न सकिन्छ। जसबाट कुन कम्पनीको शेयर मूल्य वा समग्र बजार कुन दिशामा गईरहको छ भनेर अनुमान लगाउन सजिलो हुन्छ।

३. सिडीएससी (www.cdsc.com.np)

धितोपत्रहरुको अभौतिकरण गरि त्यसको रेकर्ड राख्ने तथा कारोबार भएको धितोपत्रहरुलाई राफसाफ गर्ने महत्वपुर्ण जिम्मेवारी यस संस्थाको रहेको छ। यसको वेबसाइटमा धितोपत्र कारोबारमा संलग्न डिपीको संख्या र सूची, सि–आस्वामा सदस्यहरुको संख्या र सूची, डिम्याट खाता संख्या, अभौतिकरण भएका धितोपत्रको संख्या, धितोपत्र राफसाफ सदस्यहरुको संख्या र सूची फ्रन्टपेजबाटै थाहा पाउन सकिन्छ। यसका अलवा, www.meroshare.cdsc.com.np मा लगईन गरी आफुसँग भएका धितोपत्रको समग्र मूल्य (पोर्टफोलियो) अघिल्लो कारोबार र पछिल्लो कारोबारको तुलनात्मक विवरण हेर्न सकिन्छ भने उच्च मूल्य भएका शेयर लिष्ट फ्रन्टपेज वा ड्यासबोर्डमै हेर्न सकिन्छ। ट्रान्जेक्सन हिस्ट्रीमा समय वा स्क्रिप्ट छानेर नयाँ धितोपत्रहरु (आइपीओ, हकप्रद, बोनश) आए नआएको कुरा आएको मिति सहित सजिलै थाहा पाउन सकिन्छ। कुनै धितोपत्र रोक्का राखेको भएको त्यसको विवरण पनि यहाँ देख्न सकिन्छ। माई आस्वा मार्फत कुनै कम्पनीको नयाँ आइपीओ खुलेको भए वा हकप्रद शेयर खुलेको भए त्यो जानकारी पनि यहाँबाट थाहा पाईन्छ। पहिले भरिएको दरखास्तको विवरण पनि आवश्यकता अनुरुप हेर्न सकिने व्यवस्था रहेको छ। धितोपत्र बिक्री गर्न खरिद श्रोत सहित औसत भारित मुल्य (WCC) गणना गर्नुपर्ने प्रावधान भएकोले त्यो लगानीकर्ता आफैले यस साइटमार्फत गर्न सकिने व्यवस्था रहेको छ। बेचिएका धितोपत्रको स्वामित्व हस्तान्तरण गर्न स्विकृत प्रदान अनलाईन मार्फत नै (EDIS) गर्ने व्यवस्था यसै साइटमा छ। जसले गर्दा डिआइएस स्लिप वा चेक बोकेर ब्रोकर कार्यालय धाईरहनु पर्दैन। नगद लाभांश प्राप्त गर्ने बैंक परिवर्तन गर्नु परेमा त्यो सुविधा पनि यसै साईटमार्फत अनलाईननै गर्न सकिन्छ।

निष्कर्षः

लगानीकर्ताले आधिकारीक सुचना, जानकारी वा डाटाको लागि सदैव यी वेवसाईटहरु भिजिट गर्नुपर्ने हुन्छ । शेयरबजार सम्बन्धी मिडियामा आउने समाचार, विश्लेषण जे जति छन् ति सबै यिनै साईटमा भएको अपडेटलाई आधार बनाएर विभिन्न च्यालनहरुमा सम्प्रेषण गरिएका हुन्छन्। कुनै मिडियाले कितिपय प्राविधिक कुराको समाचार, विश्लेषण गर्दा वास्तविकताभन्दा फरक ढंगले पनि सम्पे्रषण गरिएको पाईएकोले त्यस्तो फरक र गलत समाचार,रिभ्यु र विश्लेषण पत्याउने भन्दा त्यसको वास्तविकता यी साईटहरुमा हेरेर जाँच्न सकिन्छ। त्यसैले जहिले पनि प्राथमिक सूचना, जानकारी र डाटालाई पछ्याईयो भने कहिले पनि धोका हुँदैन। धोका नभएपछि तपाईँको लगानी जोखिममा पर्ने सम्भावना पनि न्यून हुन जान्छ।

लेखकः देब गुरागाँई (devmorang@gmail.com)

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।