बजार अनुकुल भयो भने बैंकमा थुप्रिएको अहिलेको यो पैसाले पुग्दैन

Aug 03, 2020 07:15 PM Merolagani

अनिल कुमार उपाध्याय
बैंकमा अहिले लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण व्यापार, व्यवसाय ठप्प भएका कारण कर्जाको माग हुन छाडेपछि बैंकमा लगानीयोग्य रकम थुप्रिएको हो ।

नेपाल राष्ट्र बैंकले पनि तरलता बढाउने मौद्रिक नीति ल्यायो । त्यसले पनि लगानीयोग्य रकम बैंकमा थुप्रिन मदत गर्यो । मौद्रिक नीतिले कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) बढायो । मौद्रिक नीतिले सिसिडी रेसियो ८० बाट ८५ प्रतिशतमा पुर्यायो । यसले पनि तरलता बढाउने काम गर्यो । त्यस्तै अन्य उपकरणका कारण पनि लगानीयोग्य रकम बैंकमा बढ्न पुग्यो । खासगरी, विदेशमा गएका नेपाली नागरिकले पठाउने रकम रेमिट्यान्सले पनि बैंकमा तरलता थुप्रिन पुगेको छ ।

तर लगानी गर्ने ठाउँ खुम्चिदै गएको छ । कर्जाको माग कम हुँदै आएको छ । कारोना भाइरसका कारण करिव १२० दिन व्यापार व्यवसाय ठप्प भए । अहिले फाट्ट फुट्ट खुलेपनि गति लिन सकेको छैन् । अहिले बैंक पनि कर्जा प्रवाह गर्न डराइ रहेका छन् । व्यवसायी पनि ऋण लिएर मात्र के गर्ने लगानी गर्दा समस्या हुन सक्छ भनेर डराइ रहेका छन् । उद्योग व्यापार व्यवासाय चल्न नसकेका कारण थप कर्जा लिएर जोखिम मोल्ने पक्षमा उद्योग व्यवसायी छैनन् ।

बैंकले पनि जोखिम लिएर कर्जा प्रवाह गर्न सकिरहेका छैनन् र व्यवसायी पनि जोखिम लिएर ऋण लिन सकिरहेका छैन् । बैंक जोखिम लिएर ऋण दिन र व्यवसायी जोखिम लिएर ऋण लिन डराएपछि कर्जा प्रवाह खुम्चिने नै भयो । दुवै पक्षमा त्रास देखिएपछि बैंकमा रकम थुप्रिएको हो । तर यो अवस्था सधै रहिरहन्छ भन्ने छैन ।

कोरोना भाइरसको त्रास हटदै जाने हो भने ऋणको माग बढने छ । बजार अनुकुल हुने वित्तिकै अहिले बैंकमा जम्मा भएको पैसाले पुग्ने अवस्था छैन् ।

अनुकुल परिस्थितिको पर्खाइमा बैंक र व्यवसायी छन् । कारोना भाइरसको त्रास कम हुने वित्तिकै कर्जाको माग ह्वात्तै बढने छ र बैंकहरूले पनि कर्जा प्रवाह गरि हाल्ने छन् । अहिले दुवैथरी ‘पर्ख र हेर’को अवस्थामा छन् ।

अनुकुल वातावरण हुने वित्तिकै उद्योग,व्यापारीले कर्जाको माग गर्ने छन् । त्यस्तै कृषि कर्जाको माग पनि बढने छ । सरकारले कृषि कर्जा बढाउने उद्देश्य सहितका कार्यक्रम ल्याएको छ । कृषि विकास बैंकलाई कृषि कर्जा प्रवाह गर्नका लागि ‘लिड’ बैंक बनाएको छ ।

कृषि विकास बैंकले पहिलेदेखि नै कृषि कर्जालाई बढी प्राथमिकता दिँदै आएको थियो । नेपाल राष्ट्र बैंकले गत साउन २ गते ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कृषि विकास बैंकलाई कृषिमा लगानी गर्नका लागि अगुवाइ बैंक बनाउने उल्लेख छ ।

केन्द्रीय बैंकले २७ वटा वाणिज्य बैंकमध्ये कृषि विकास बैंकलाई कृषिमा लगानी गर्नका लागि ‘लिड’ बैंकको रूपमा राखेको छ । पहिलेदेखि नै कृषिमा लगानी गर्दै आएकाले पनि कृषि विकास बैंकलाई कृषि कर्जा प्रवाह गर्न सहज हुने अवस्था छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले अगुवाइ गर्ने बैंकको रूपमा मान्यता दिएपछि कृृषि विकास बैंकले त्यही अनुसारको सञ्जाल विस्तार गर्नेतिर लागेको छ । कृषि क्षेत्रमा नै लामो अनुभव हासिल गरेको बैंक भएकाले पनि कृषि विकास बैंकलाई कृषिमा लगानी गर्न त्यती असजिलो हुँदैन । सहज तरिकाले कृषिमा लगानी गर्न सकिन्छ भन्ने हामीलाई लागिरहेको छ ।

स्रोतको सुनिश्चिता भयो भने कृषिका लगानी गर्न सकिन्छ । ‘क’ वर्गका अरू २६ वटा वाणिज्य बैंकले गर्न नसकेको काम कृषि विकास बैंकले गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं । कृषिका लगानी गर्न जनशक्ति पनि त्यही अनुसारको दक्ष चाहिन्छ । अहिले बैंकमा भएको दक्ष जनशक्तिले काम गर्न नसक्ने अवस्था भएमा थप जनशक्तिलाई प्रशिक्षण गर्नु पर्ने हुन्छ।अहिले बैंकमा भएको जनशक्तिलाई पनि कृषिमा लगानी गर्ने गरी अझै ‘टे«न’ बनाउँदै लैजानु पर्ने हुन्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरे अनुसारको काम गर्नका लागि बैंकले योजना बनाउन थालेको छ । कृषिका सम्भावित क्षेत्रका पहिचान गर्ने, ती क्षेत्रमा कसरी तथा कति कर्जा प्रवाह गर्ने र त्यसका लागि कति जनशक्ति आवश्यक हुन्छ भन्ने खालको योजना बनाउने तयारीमा कृषि विकास बैंक जुटेको छ । कृषि क्षेत्रमा कति लगानी गर्ने भन्ने किसिमले ‘टार्गेट’ मिट गरेर नै अगाडि बढने योजना बनाएका छौ ।

कृषि विकास बैंकले अहिले पनि एक तिहाइ लगानी कृषि क्षेत्रमा गरेको छ । अहिले कृषि विकास बैंकको कुल १ खर्ब २२ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसरी कर्जा प्रवाह भएको लगानीको ठूलो हिस्सा कृषिमा नै छ । कृषिमा अन्तरगत बिभिन्न शिर्षक छन् । जस्तो माछापालन व्यवसाय, कखुरा पालन, तरकारी, बिउ बिजन, खेतीपाती छ । ती सबै क्षेत्रमा कृषि विकास बैंकले कर्जा प्रवाह गर्दै आएको छ । त्यसमा पनि कृषि विकास बैंकले ठूलो मात्र नभइ सानो सानो कृर्जा पनि कृषि क्षेत्रमा लगानी गरेको छ । सानोतिनो कर्जालाई पनि कृषि विकास बैंकले महत्वका साथ लगानी गरिरहेको छ । कृषि विकास बैंकले ‘पोर्टफोलियो’ कायम गर्दै कर्जा प्रवाह गरिरहेको छ ।

कृषिमा लगानी गर्नका लागि कृषि विकास बैंकले भौतिक पूर्वाधार पनि त्यही अनुसार तयारी गरिरहेको छ । कुन शाखाबाट बढी कृषि कर्जा प्रवाह गर्ने भन्ने खालका योजना पनि बैंकले बनाइ रहेको छ । त्यही अनुसारको जनशक्ति ती शाखामा राख्ने तयारी पनि बैंकको छ ।

कृषिसँग सम्बन्धित कामलाई पनि जोडने प्रयास पनि कृषि विकास बैंकले गरेको छ । कृषकलाई अत्यावश्यक पर्ने कुटो कोदालोजस्ता सामग्रीमा पनि कर्जा प्रवाह गर्ने कुरा पनि कृषि विकास बैंकले गरिरहेको छ । कृषकका लागि अति आवश्यक पर्ने औजारमा ऋण दिन सकिएको खण्डमा कृषिमा आधुनिकीकरण गर्न सकिन्छ । यसतर्फ पनि बैंकले ऋण दिने सोचाइ बनाएको छ ।

कृषि विकास बैंकले सहायक कम्पनी ‘मर्चेन्ट बैंक’को अवधारणा पनि ल्याएको छ । कृषकका लागि आवश्यक पर्ने कुटो कोदालोको व्यवस्था त्यही मर्चेन्ट बैंकबाट उपलब्ध गराउने योजना पनि बनाएको छ ।

बैंकले नगदलाई निरूत्साहित गर्दै क्रेडिट तथा डेबिट कार्ड, इ बैंकिङ, मोवाइल बैंकिङ जस्ता नविन अवधारणा ल्याएको छ । बैंकले नगद बोकेर हिडदा जोखिम बढने भएकाले पनि नगदरहित कारोबारलाई प्रोत्साहन दिने गरी काम गरिरहेको छ । कृषकलाई पनि त्यही अनुसार अभ्यस्त बनाउने योजाना बैंकले बनाएको छ । भुक्तानी प्रणालीलाई पनि सहज बनाउने र त्यही अनुसारको प्रशिक्षण दिँदै जाने योजना पनि बैंकले बनाएको छ ।

कृषि कर्जालाई व्यवस्थित बनाउन कृषि कार्ड बनाउने योजना पनि बैंकले बनाएको छ । कार्डको व्यवस्थाले गर्दा लक्षित वर्गसम्म कृषि कर्जा पुग्यो कि पुगेन भनेर ‘भेरीफिकेसन’ गर्न पनि सहज हुने छ । सूचना कार्डको तयारीमा पनि बैंक जुटेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कृषि कर्जा प्रवाह गर्नका लागि अगुवा बैंकको रूपमा कृषि विकास बैंकलाई अगाडि सारेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार काम गर्नका लागि कृषि विकास बैंकलाई निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार कृषि विकास बैंकले बजेट बनाइरहेको छ । कार्यविधी पनि त्यही अनुसारको बनाउँदै छौं । त्यसपछि केन्द्रीय बैंकले दिएको निर्देशन अनुसारको कार्यान्वयनमा जाने छौं ।

केन्द्रीय बैंकले कृषि विकास बैंकलाई कृषि कर्जा प्रवाहका लागि अगुवा बैंकको अवधारण सहितको व्यवस्था मौद्रिक नीति ल्याएको छ र हालैमात्र त्यसको कार्यान्वयनका लागि निर्देशन दिएकाले त्यही अनुसारको काम कृषि विकास बैंकले गर्ने तयारीमा जुटेको छ । प्राविधिक र वितरण प्रणालीलाई व्यवस्थित गरेर कृषि विकास बैंकले कृषि कर्जा प्रवाह गर्ने छ । त्यसका लागि जनशक्ति थप गर्नु पर्ने हुन सक्छ ।
अहिले भइरहेको जनशक्तिमा ५ सय वा एक हजार जना थप्नु पर्ने हुन सक्छ । ती जनशक्तिलाई थप ‘टेनिङ’ दिनु पर्ने हुन सक्छ । ती जनशक्तिलाई कृषि कर्जा प्रवाहमा लगाउन सकिन्छ । कृषि कर्जा कुन शाखाबाट बढी प्रवाह गर्ने भन्ने पनि छ । कुन शाखालाई कृषि कर्जामा केन्द्रीत गर्ने भन्ने योजना पनि बनाउँदै छौं ।

कृषि कर्जा प्रवाह गर्ने व्यवस्था ल्याउनु मात्र ठूलो कुरा होइन् । त्यसलाई व्यवस्थित गर्ने ठूलो कुरा हो । कृषि कर्जाबाट मुलुकलाई पनि फाइदा पुगोस भन्ने हो । कृषि कर्जाको लाभ कृषक,सर्वसाधारण र सरकारले पनि लिन सक्नु पर्छ । कृषि कर्जाको अनुभूती समाज र सरकारले गर्न सक्नु पर्छ । न्यून स्तरका कृषकले पनि कृषि कर्जाको अनुभूती हुने गरी काम गर्ने योजना बनाइरहेका र्छौ ।

अहिले पनि कृषि विकास बैंकले ठूलो स्केलमा कृषि कर्जा प्रवाह गरिरहेको छ । तर एक अर्ब ऊर्जामा क्षेत्रमा लगानी गर्याे भने कृषि क्षेत्रमा जाने कर्जा स्वतह घटछ । बैंकको ऋण लगानी बढेपनि कृषि क्षेत्रमा जाने कर्जाको प्रतिशत घट्छ । यसले कृषि क्षेत्रमा जाने कर्जालाई असर पार्छ ।

त्यसैले पनि कृषि विकास बैंक त्यस्तो बिषयमा सचेत छ । कृषि क्षेत्रमा जाने कर्जा घट्नु हुँदैन बढनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यही अवधारणका आधारमा हामीले आगामी योजना बनाउँदै छौं । केही दिन भित्र त्यस्तो योजना सार्वजनिक गछौं र त्यही अनुसारको काम कृषि विकास बैंकले गर्ने छ ।

(कृषि विकास बैंक प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँग गरिएको कुराकानीमा आधारित लेख)

 


comments powered by Disqus

दश कित्ते नीतिलाई पुनरविचार गर्ने बोर्डको निष्कर्ष, तर तत्काल नचलाउने

Sep 30, 2020 06:26 PM

शेयर बजार प्रविधिमैत्री हुँदै जाँदा यसमा लगानीकर्ताको आकर्षण पनि बढेको छ। पछिल्लो समय आइपीओ जारी गरेका कम्पनीहरुको शेयरमा आवेदन गर्ने लगानीकर्ताको संख्या लगातार बढ्दो क्रममा छ।