कारोबार भइरहेको कम्पनी बन्द हुँदा लगानीकर्तामा मनाैबैज्ञानिक असर,यसरी बन्द हुन्छ कम्पनी

Aug 06, 2020 06:52 PM Merolagani



  • सुधा देवकाेटा

केही दिन पहिले दोस्रो बजारमा कारोबार भइरहेको श्रीराम सुगर मिलले सञ्चालनमा आउन नसक्ने भन्दै कम्पनी बन्द गर्ने निर्णय बजारमा आएसँगै यसले चर्चा पाएको छ । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता आफूले लगानी गर्ने कम्पनी बन्द भएको खण्डमा के होला भन्ने प्रश्नकाे उत्तर खाेज्न थालेका छन् ।

देशको पहिलो सुगर मिल त्यसमा पनि देशको नामी व्यापारिक घरानाहरूद्वारा सञ्चालित कम्पनी एकाएक बन्द हुने अवस्था सिर्जना भएपछि लगानीकर्ताहरू आफूले गरेको लगानी सुरक्षित छ भन्ने विश्वास गर्न सकिरहेका छैनन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव उद्योगहरूमा पनि परिसकेकाे छ । जसले गर्दा उद्योग सञ्चालन गर्न नै धौ धौ भइरहेको खबर आइरहँदा लगानीकर्ताहरू शंशकित हुनु स्वभाविकै पनि हाे। त्यही माथि बजारमा सूचीकृत कम्पनी नै बन्द भएका खवरले बजारमा लगानी गर्ने लगानीकर्ताको मनोभावनामा असर पारेको पाइन्छ । 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको कम्पनी बन्द हुने अवस्थासम्म पुग्दा पनि कम्पनीको अवस्थाको बारेमा सूचना समयमा नआउनु,वित्तीय अवस्थाको विषयमा त्रैमासिक विवरण समयमा प्रकाशन नहुनुले पनि कम्पनीको बारेमा लगानीकर्ताहरू अनविज्ञ भएको पाइन्छ।कम्पनीको अवस्थाको बारेमा पर्याप्त जानकारी पाउन नसक्दा पनि कम्पनीमा गरेको लगानी डुब्ने खतरा बढ्ने अवस्थामा पुग्छ । 

कुनै समयमा मुलुकमा ख्याती कमाएका कम्पनीहरू पनि व्यवस्थापनको कमजोरी र सरकारको गैर जिम्मेवारीपनले गर्दा बन्द हुने अवस्थासम्म पुगेका छन्।सरकारको स्वामित्वमा रहेका र नेप्सेमा सूचीकृत भएका उत्पादनमूलक कम्पनीहरू एकाएक बजारबाट गायव हुँदा लगानीकर्ताहरूमा यस्ता कम्पनी प्रति विश्वास घट्न थालेको हो ।

  • कम्पनी कसरी हुन्छ बन्द ?

कम्पनीको दर्ता खारेजी प्रकृया अनुसार कम्पनी खारेज भएको प्रतिवेदन प्राप्त भएपछि कम्पनी रजिष्ट्रार कार्यालयले ऐन बमोजिम त्यस्तो कम्पनीको नाम कम्पनी दर्ता किताबबाट हटाई कम्पनीको दर्ता खारेज भएको आदेश जारी गर्न सक्ने व्यवस्था रहेको छ । उक्त आदेश जारी भए पश्चात कम्पनीको नाम कम्पनी दर्ता किताबबाट हटाई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कम्पनी ऐन २०६३ मा व्यवस्था गरेको छ ।

विशेषत तीन किसिमबाट कम्पनी बन्द गर्न सकिने व्यवस्था रहेको छ । १. कम्पनीको स्वैच्छिक खारेजी, २. कम्पनीको बदर तथा टाट पल्टिएको अवस्था र ३. कम्पनी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेमा कम्पनी बन्द गर्न सक्ने प्रावधान रहेको कर्पोरेट अधिवक्ता गान्धी पण्डित बताउँछन् ।

यदि कुनै कम्पनीको स्वैच्छिक खारेजी गर्नका लागि कम्पनीका शेयरधनीहरूले साधारण सभामा विशेष प्रस्ताव पारित गरी प्रबन्ध पत्र,नियमावली वा सर्वसम्मत सम्झौतामा भएको व्यवस्था अनुसार कम्पनी खारेज गर्न सक्ने व्यवस्था रहेको छ । जुन केही समयको लागि बन्द भए पनि पछि त्यसलाई सञ्चालन गर्न सकिने हुन्छ ।

ऋण तिर्न सक्षम कम्पनी भए कम्पनी रजिष्ट्रार कार्यालयले नै बन्द गरिदिन सक्छ । उसले लिक्युडेटर नियुक्त गरेर कम्पनी खारेजीमा लैजान्छ । यो सबैभन्दा सरल उपाय हो ।

यदि कम्पनी दामासाहीमा परेर बन्द हुने अवस्थामा पुगेको छ भने सरकारले त्यसको कारण सोधपुछ गरी बन्द गर्न सक्ने व्यवस्था रहेको अर्का कर्पोरेट अधिवक्ता ज्योति दाहाल बताउँछन् । दाहालका अनुसार,कम्पनी सञ्चालन गर्न नसकेको,ऋण दायित्व बढ्दै गएको अवस्था छ वा धन भन्दा पनि ऋण बढी भएको खण्डमा त्यस्ता कम्पनी दामासाही ऐन अनुसार खारेजीमा जान सक्छन्।

दामासाहीमा मुख्यतः चार विधि अन्तर्गत खारेज गर्न सकिन्छ । पहिलोमा कम्पनीका शेयरधनीले नै खारेजीमा लैजान सक्छन । निश्चित प्रतिशत कम्पनीका शेयरधनीले खारेजीमा लैजान सक्छन । अर्को कम्पनी आफैले टाट पल्टिएर खारेजीमा जान चाहन्छु भन्नु पर्छ । 

त्यस्तै कम्पनीलाई ऋण दिनेहरूले समेत कम्पनीलाई खारेजीमा लैजान सक्छन जस्तै कम्पनीलाई सामान बेच्नेहरू समेतले यस्तो विधि अपनाउन सक्छन्। उनीहरूको रकम उठाउन समेत खारेजीमा लैजान सक्छन । उनीहरूको पनि निश्चित संख्याका लगानीकर्ताले यो कम्पनी बिक्री गरी मेरो लिने असुल गरी पाँउ भनी खारेजीमा लैजान सक्छन ।

सुरक्षित लगानीकर्ताको सम्पत्तिको ग्यारेन्टी हुन्छ ।तर सामान्य सप्लायर्स कुनै ग्यारेन्टी नहुने भएकोले ऋण भुक्तान गरिसकेपछि रहेको रकममा समानुपातिक रुपमा सप्लायर्स पाउने व्यवस्था छ ।

अर्कोकारणमा, नियामकले पनि उसको कारोबार चित्त नबुझाए खारेजीमा लैजान सक्छन् ।

 सूचीकृत कम्पनी बन्द भएको अवस्थामा शेयरधनीहरूलाई के हुन्छ ?

दामासाहीमा परेको कम्पनीको शेयरधनी समेत रहेको कुनै व्यक्ति (साहू)ले कम्पनी उपर दाबी गरे भने कम्पनीको शेयरबापत चुक्ता गर्नुपर्ने किस्ता रकम ती व्यक्तिले भुक्तानी नगरेको भए कम्पनीले भुक्तानी गर्नुपर्ने सम्भावित रकमसम्म ती व्यक्तिकाे दाबी हुँदैन ।

दामासाही ऐन बमोजिम सुरक्षित साहूको चलन चलाउने अधिकारको कार्यान्वयन,वा कम्पनीले पट्टामा लिएको सम्पत्ति पट्टा दिनेलाई फिर्ता लिने अधिकारको कार्यान्वयन हुनेछ ।

तर साधारण शेयरधनी वा सञ्चालक भने कम्पनीका मालिक भएको नाताले उनीहरूको रकम भने अन्तिम चरणमा मात्रै फिर्ता पाउँछन् । सबै ऋण दायित्व भुक्तानी पछि मात्रै उनीहरूको पालो आउँछ । अन्तिममा तिरो तारो गरेर बचेको रकमबाट उनीहरूले पाउने छन । तर तिरो तारो गर्नै नपुगेमा शेयरधनीले केही पनि नपाउने दाहालले बताए ।

श्री राम सुगर मिलको अवस्था के हो ?

श्री राम सुगर मिलको अवस्था के हो भन्ने अझै यकिन भएको छैन । कम्पनीले कुन विधिबाट कम्पनी बन्द गर्न लागेको स्पष्ट छैन । कम्पनीले कुन विधि अन्तर्गत खारेजीमा जाने भनेको हो स्पष्ट खुलाउनु पर्छ । कम्पनीले भने बमोजिम जान सक्ने वा नसक्ने भन्न सकिने कर्पोरेट अधिवक्ता दाहालले भने । कम्पनीले अझैसम्म आफ्नै मासिक वासलात समेत प्रकाशित नगरेको अवस्थामा कसरी खारेजीमा जाने हो यकिन गर्न नसकिने दाहालको भनाई छ ।

कम्पनीले साँच्चै खारेज गर्ने हो भने शेयरधनीको समेत मन्जुरी लिनु पर्छ । मन्जुरी लिन कम्पनीले विशेष साधारण सभा डाक्नु पर्छ । विशेष साधार सभाले अख्तियारी दिए पछि कम्पनीले कारबाही अघि बढाउन सक्छ । कुन विधिबाट जाने कम्पनीले शेयरधनीलाई जानकारी दिनु पर्ने हुन्छ । तर श्री राम सुगरले त्यस्तो कुनै विधिको बारेमा जानकारी दिएको छैन । कम्पनीले ऋण बढी भएको र कम्पनी चलाउन नसकिने मात्रै दलिल पेस गरेको छ । जुन दलिलले मात्रै यति सजिलै कम्पनी खारेजीमा जान सक्ने अवस्था भने नहुने दाहालले बताए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।