४२ जिल्लामा निषेधाज्ञा भएपनि 'सप्लाइ चेन' ताेडिन दिन्नाै,खाद्यान्न अभाव हुँदैन: मन्त्री भट्ट

Aug 21, 2020 07:07 PM merolagani

चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि पछिल्लो समयमा संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गर्दै आएको छ ।गृृह मन्त्रालयका अनुसार, हाल देशका आधाभन्दा बढी जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । अहिलेसम्म ७७ मध्ये ४२ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्याकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा पनि बुधबार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा दैनिक उपभोग्य बस्तुको आपूर्ति कसरी भइरहेको छ,अहिलेको खाद्यान्नको भण्डारले कति समय पुग्छ,दुर्गम क्षेत्रमा खाद्यान्न पुर्याउन के कस्तो व्यवस्था गरिएको छ, चाडपर्वमा चिनी लगायतका दैनिक उपभोग्य बस्तु कमी हुन नदिन मन्त्रालयले के कस्तो पहल गरेको छ । कोरोना भाइरसले महामारीको रुप लिएको यस्तो अफ्ठ्याराे परिस्थितिमा कालो बजारिया गर्नेलाई के कस्तो गरिरहनु भएको छ भन्ने लगायतका बिषयमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग मेरो लगानीका सह सम्पादक विष्णु बेल्वासेले गरेको कुराकानी गरेका छन् ।

मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको छ । यस्तो अवस्थामा खाद्यान्नको आपूर्ति सहज बनाउन के गरिरहनु भएको छ ?

नियमित रुपमा खाद्यान्न आयात भइरहेकाले डराउनु पर्ने अवस्था छैन् । आयात नहुने खपत मात्र हुने भएको भए समस्या हुने थियो । त्यस्तो अवस्था नभएकाले आतिनु पर्ने अबस्था छैनन् । आयात पनि भइरहेको छ र खपत पनि भइरहेको छ । अन्य दिनमा जस्तै निषेधाज्ञामा पनि खाद्यसामग्री आयात भइरहेकाले निर्धक्कसँग खाद्यबस्तु उपभोग गर्न पाइन्छ । अतालिनु पर्ने कुनै कारण नै छैन् ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउन अन्त्य भएपनि पुनः निषेधाज्ञा जारी भएको छ । यसबीचमा के कति उपभोग्य बस्तुहरु आयात भए ?

चैत ११ गतेदेखि लकडाउन सुरू भएको थियो । चैत ११ देखि साउन २८ सम्म १४२ दिनमा ६ लाख ६२ हजार ७ सय ३९ मेट्रिकटन खाद्यान्न आयात भएको छ । १ लाख ३७ हजार ९६ मेट्रिकटन दाल आयात भएको छ । १ लाख ८२ हजार २ सय ७ मेट्रिकटन तरकारी आयात भएको छ । ६८ हजार ४ सय ७२ मेट्रिकटन फलफूल आयात भएको छ ।
१२ हजार ७ सय ८५ मेट्रिकटन दुग्धजन्य पदार्थ आयात भएको छ । २ अर्ब ८२ करोड ५५ लाख ८० हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । ८ अर्ब ६१ करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ ।

बजारमा चिनीको अभाव भएको गुनासो आइरहेको छ नि ?

चिनीको कृत्रिम अभाव गर्न खोजिएको थियो । तर, हामीले चिनीको अभाव हुन नदिने गरी पर्याप्त चिनी ल्याउदै छौं । हामीले ३० हजार मेट्रिकटन चिनी आयात गर्दै छौं । उक्त चिनी साल्ट ट्रेडिङ कम्पनीले ल्याउने क्रममा छ ।

दुर्गम जिल्लाहरुमा खाद्यान्नको अभाव हुन नदिन के कस्तो पहल गर्नु भएको छ ?

दुर्गम जिल्लाहरूमा हरेक डिपोमा २ हजार ५ सय ३० मेट्रिकटन खाद्यान्न मौजदात छ । जहा छैन त्यहा हामीले पठाउने तयारी युद्धस्तरमा गरिरहेका छौं ।

निजी क्षेत्रको साथ सहयोग कस्तो छ ?

निजी क्षेत्रले पुरै भन्सार तिरेर पनि सामान ल्याइरहेका छन् ।

पेट्रोलिय पदार्थ आयात नियमित रुपमा भइरहेको छ कि छैन ?

पेट्रोलिय पदार्थ पनि नियमित रूपमा आयात भइरहेको छ । साउन २८ गते एक दिन मात्र १ हजार ४० किलोलिटर डिजेल आयात भएको छ । ६ सय १२ किलो लिटर पेट्रोल आयात भएको छ । ५ सय ५ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ ।

चैत ११ गतेदेखि लकडाउन सुरू भएपछि साउन २८ गतेसम्म डिजेल ४ लाख ४२ हजार ४ सय ४२ किलोलिटर आयात भएको छ । पेट्रोल १ लाख १७ हजार ७ सय ७५ किलोलिटर आयात भएको छ । खानापकाउने ग्यास १ लाख ५२ हजार ४३ मेट्रिकटन आयात भएको छ ।

अहिले कति खाद्यसामग्री स्टक छ र त्यसले कति समयलाई धान्न सक्छ ?

नुनले ९ महिनाको माग धान्न सक्छ । नुन नल्याउदा पनि ९ महिनासम्मको माग धान्न सक्ने भएकाले समस्या छैन् । चिनी बजारमा कम देखिएको जस्तो छ । त्यसो भएको हुनाले ल्याउनका लागि तुरून्तै प्रक्रिया थाल्नु परेको हो । दसैभन्दा अगाडि नै ३० हजार मेट्रिकटन चिनी आउँदै छौं । त्यसपछि चिनी पनिको पनि अभाव हुने छैन् ।

आयल निगमका कर्मचारी कोरोनाबाट संक्रमित भएका भन्ने सुनिन्छ । यस्तो अवस्थामा के कसरी काम गर्ने व्यवस्था गर्नु भएको छ ?

आयल निगमका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि टेकुमा आइसोलेसन सेन्टर आफ्नै भवनमा बनाएका छौं । आयल निगमका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिए आफ्नै भवनमा आफै व्यवस्थापन गर्ने र अरुमा निर्भर नहुने भन्ने नीति लिएका छौं ।
खाद्य बिक्री कक्षमा एक जना कर्मचारी कोरोना भाइरस संक्रमण देखिएको छ । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडलाई आइसोलेसनको व्यवस्था गर भनेको छ ।

आयल निगमका कर्मचारीलाई पनि तीन भागमा बिभाजन गरेका छौं । एक कर्मचारीलाई कोरोना संक्रमण देखिए अर्कोलाई राख्ने त्यसलाई पनि कोरोना भाइरसको संक्रमण देखिए अर्कोलाई ल्याउने व्यवस्था गरेका छौं । पहिलो व्यक्ति कोरोना भाइरसबाट मुक्त भएपछि पुन उसले काम सुरू गर्ने व्यवस्था गरेका छौं ।
दैनिक रुपमा प्रयोगमा आउने खाद्य वस्तुहरूको ढुवानीमा कुनै खालको दायाँ बायाँ नहोस भनेर त्यस्तै व्यवस्था गरेका छौं । अत्यावश्क बस्तुको आपूर्तिमा कुनै कमी नहुने मन्त्री परिषदले निर्णय गरेको छ । दैनिक उपभोग्य बस्तुमा कुनै समस्या आउदैन्, आउन पनि दिइदैन् ।

निषेधाज्ञा लामो समयसम्म रहेपनि खाद्यान्नमा समस्या आउदैन भन्न सकिने अवस्था छ कि छैन ?

निषेधाज्ञा लामो समयसम्म रहेपनि खाद्यान्न आपूर्तिमा कुनै अष्ठयारो हुँदैन् । बारीमा मकै पाकेको छ । कतिपय ठाउँमा पाक्दै पनि छ । त्यसले पनि केही समस्या हुँदैन् । भोलीको दिनमा धान पाक्दै छ । मौसमले पनि धान खेतीलाई साथ दिइरहेको छ । धान पनि राम्रै फल्छ होला । अहिले कृषि मन्त्रालयले आकंलन गरे अनुसार धानको उत्पादन पनि बढछ भन्ने छ ।
करिव १० हजार मेट्रिकटन चामल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले खरिद गरिसकेको छ । खाद्यान्नको समस्या आउन दिइदैन् । कालो बजारी नियन्त्रणका लागि मन्त्रालयका २० जना कर्मचारीलाई वाणिज्य विभागमा पठाएका छौं । कृषिको खाद्य प्रविधि विभागसँग पनि समन्वय गरेका छौं ।
खाद्य प्रविधि विभागलाई पनि जोडेका छौं ।

असहज परिस्थितिमा कालो बजारी गर्ने सम्भावना हुन्छ,यसबारेमा के गर्दै हुनु हुन्छ ?

कालो बजारिया गर्ने कसैलाई छोडिदैन् । यस्तो अवस्थामा कालोबजारी गर्नेलाई त छोडने कुरा हुँदैन् । हिजो लकडाउनको बेला पनि छोडिएन । जो सुकै होस जति सुकै ‘पावरसँग टच’ भएको होस कसैलाई छोडिएन् । अब पनि गल्ती गर्नेलाई छाडिदैन् ।
लकडाउनका बेलामा ठूला ठूला व्यक्ति कारबाहीमा परेका थिए । त्यो त तपाईहरुलाइ पनि थाहा छदै छ । निषेधाज्ञामा पनि त्यतिकै छाडिदैन् ।

निषेधाज्ञाको समयमा खाद्य सामग्री खरिद गर्न असहज भएको जनगुनासो आएको छ । यस्तो अवस्थामा कस्तो कदम चाल्दै हुनुहुन्छ ?

कोरोना भाइरसको संक्रमण हुने सम्भावना बढेकोले निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक बस्तुहरु विहान बेलुका खरिद गर्दा पनि आम नागरिकलाई पनि बढी भिडभाडमा नजान आग्रह गरिरहेका छौं । कोरोना भाइरसको सक्रमण पनि नफैलियोस र सर्वसाधारणले पनि उपभोग्य बस्तु सहज रुपमा खरिद गर्न सकुन भन्ने हाम्रो उद्देश्य हामीले राखेका छौं । यही उद्देश्य पूर्तिमा हामी लागिपरेका छौं ।

तरकारी, दूधलगायतका खाद्यबस्तु सहज तरिकाले उपलब्ध हुँदै आएको छ । आम नागरिकले उपभोग्य बस्तुहरुको सामान खरिद गर्दा पनि भिडभाड नगरी आलो पालो मिलाएर खरिद गरिदिनु हुने छ भन्ने बिश्वास लिएका छौं । असहज परिस्थितिमा सबै मिलेर खाद्यसामग्री खरिद तथा बिक्री गरिदिनु हुने छ भन्ने विश्वास लिएका छौं ।

पेटोलियम पदार्थको अभाव हुने अवस्था त छैन् ?

पेटोलियम पदार्थको पनि अभाव छैन् । हवाइ यातायात बन्द छन् । त्यसैले पनि अभाव हुने कुरै भएन् । सञ्चालनमा आए भने पनि स्टकमा छ अभाव हुने सम्भावना नै छैन् । यसैगरी, डिजेल तथा पेटोलको पनि अभाव छैन् । अहिले त निषेधाज्ञा भएकाले पनि यातायातका साधान सञ्चालनमा आएका छैनन् । यातायातका साधान सञ्चालनमा नआएपनि पेटोल र डिजेलको खपत पनि धेरै हुने कुरै भएन् । खपत नै भएपनि अभाव हुने सम्भावना छैन् । निषेधाज्ञाका अवधिमा पनि पेटोलियमपदार्थको आयात भइरहेकाले अभाव हुने सम्भावना पनि छैन् । अभाव हुन दिने छैनौं ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।