अर्थमन्त्री नपाए सुरेन्द्र पाण्डे सरकारमा सहभागी नहुने, इश्वर हटाएर बामदेव ल्याउन प्रचण्डकाे दबाव

Sep 15, 2020 04:24 PM Merolagani

विष्णु बेल्वासे

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकार गठन भएदेखि नै मन्त्री भएकालाई विदा गरी उक्त ठाउँमा नयाँ अनुहार ल्याउने योजना सहित मन्त्री परिषद पुनर्गठन गर्न लागेका हुन् ।

मन्त्री परिषदको पुनर्गठनका लागि प्रधानमन्त्री ओलीले आफू निकट नेतासँगको छलफललाई तिब्रता दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्ना विश्वासनीय नेता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा लगायतका नेतासँग  छलफल थालेको बालुवाटार स्रोतले जनाएको छ ।

दशैंअघि नै मन्त्री परिषदको पुनगर्ठन हुने सम्भावना रहेको छ । प्रधानमन्त्री ओलीले पुराना मन्त्रीहरुलाई विदा दिएर त्यसको ठाउँमा नयाँ अनुहार ल्याउने गरी काम थालेको बालुवाटार स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने मनस्थिति बनाएका थिए । तर, उनले महाधिवेशनको समय नजिकिदै आएकाले आफू त्यतातिर केन्द्रीत हुनु परेकोले अर्थमन्त्रीको जिम्मेबारीमा बस्न नसक्ने बताएपछि प्रधानमन्त्री ओली उक्त मन्त्रालयको जिम्मेबारी समेत आफै राख्दै आएका छन् । तर, यसरी अर्थमन्त्रालयको जिम्मेबारी आफैमा राख्दा प्रतिउत्पादक हुने ठहर उनको छ ।

पौडेलले अर्थमन्त्री हुने चाहना नराखेपछि प्रधानमन्त्री ओली दोधारमा परेका हुन् । बालुबाट स्रोतका अनुसार, प्रधानमन्त्री ओली अहिलेसम्म अर्थमन्त्री कसलाई बनाउने भन्नेमा निस्कर्षमा पुग्न सकेका छैनन् । प्रधानमन्त्री ओलीले उपयुक्त पात्र नभएसम्मका लागि पूर्व अर्थमन्त्री खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार रुपमा राख्ने र उनैको सल्लाह अनुसार अर्थमन्त्रालय सञ्चालन गर्ने तयारी गरेपनि सधैका लागि यो सम्भव नभएको बताउन थालेका छन् ।

अर्थमन्त्रीको दावेदारका रुपमा पूर्व एमालेबाट सुरेन्द्र पाण्डे र पूर्व माओवादीबाट जनार्दन शर्माको नाम आएपनि प्रधानमन्त्री ओलीकोे चाहना दुवैलाई नबनाउने भन्ने छ । पाण्डे र शर्मा दुवै विश्वासनीय पात्र नभएकाले अर्थमन्त्री दिन नसकिने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेको बालुवाट स्रोतको भनाइ छ । तर, पाण्डेले आफू अर्थमन्त्री हुन नपाए सरकारमा सहभागी नहुने जनाएकाे स्राेतकाे भनाइ छ ।

‘प्रधानमन्त्री ओलीले बरु अर्थमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेल वा प्रदीप ज्ञवालीलाई दिन सक्छन । तर, पाण्डे र शर्मालाई दिन सक्दैनन्,’ बालुवाटार स्रोतको भनाइ छ ।

सोमबार बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री ओलीको चाहना विपरित बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बामदेव र नारायणकाजीले मन्त्री बन्ने आकांक्षा राखेका छन् । उनीहरूलाई कहाँ समेटने भन्ने समस्या पनि प्रधानमन्त्री ओलीलाई छ ।

यता, पूर्व माओबादीबाट पम्फा भुसाल,जनर्दन शर्मा, पूर्व एमालेबाट विरोध खतिवडा, महेश बस्नेत, प्रेम आलेलाइ मन्त्री बनाउनु पर्छ भन्ने दवाव सिर्जना भएको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्र महेश बस्नेतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने चर्चा पनि चलेको छ ।

अहिले नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ईश्वर पोखरेल र वादलसहितलाई बिदा गरेर नयाँ मापदण्डसहित क्याबिनेट पुनर्गठन हुनुपर्ने अडान राख्दै आएको बालुवाटार स्रोत बताउँछ । तर, ओलीले आफूलाई साथ दिएका पोखरेललाई बिदा गर्न चाहेका छैनन् ।

प्रधानमन्त्री ओली पार्टीभित्रको सन्तुलन र आगामी महाधिवेशनलाई समेत ध्यानमा राखेर मन्त्रीपरिषद हेरफेर गर्ने तयारीमा रहेको उनका निकटहरु बताउँछन् ।

दशैअघि नै पुनर्गठन हुनसक्ने अनुमान प्रधानमन्त्री निकटहरु बताउन थालेका छन् । प्रधानमन्त्री ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवाली दिएका छन् । प्रधानमन्त्री ओली आफू निकटलाई जिम्मेबारी थप्दै जाने र अरु नेता निकटलाई पन्छाउँदै जाने तयारीमा रहेको बुझिएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।