नेप्से सञ्चालक समितिलाई बोर्डको अल्टिमेटम, नयाँ स्टक देखि सफ्टवेयर सम्म, तीन विकल्पमा छलफल

Sep 20, 2020 02:43 PM Merolagani



सुवास निरौला

नेपाल सरकारको सबैभन्दा बढी लगानी भएको कम्पनीले धितो पत्रको दोस्रो बजारमा हुने कारोबारमा अनिश्चितता बढाउँदै लगेपछि नेपाल सरकार अर्थ मन्त्रालयले वैकल्पिक उपायमा छलफल गर्न निर्देशन दिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाल सरकारकै बेइज्जत हुने गरी कारोबारमा बारम्बार अवरोध हुन थालेपछि अर्थ मन्त्रालयले वैकल्पिक उपायमा छलफल गर्न सुझाएको हो।

"बारम्बार समस्या दोहोरिएपछि यसलाई जसरी पनि समाधान गर्न मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले वैकल्पिक उपायमै जानुपरे पनि तयारी गरी अघि बढ्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ " अर्थ मन्त्रालयका एक उच्च अधिकारीले मेरो लगानीसँग भने।

मन्त्रालयको सोही निर्देशन पछि नेपाल धितोपत्र बोर्डले नेप्से सञ्चालक समितिलाई पत्र लेखेको छ। पछिल्लो समय देखिएको समस्या के हो ? के गर्न सकिन्छ ? कहिले सम्म गर्न सकिन्छ ? वैकल्पिक उपाय के हुन सक्छन् ? लेखेको पत्रमा उल्लेख छ। "हामीले नेप्से सञ्चालक समितिलाई पत्र लेखेको छौ। पछिल्लो समय देखिएको समस्या के हो ? के गर्न सकिन्छ ? कहिले सम्म गर्न सकिन्छ ? वैकल्पिक उपाय के हुन सक्छन् भनेर सोधेका छौ" नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले मेरो लगानीसँग भने।

त्यसको जबाफ अझै नेप्सेले पठाएको छैन। उसले दिने जबाफको आधारमा बोर्ड अघि बढ्ने बताइएको छ। "पत्रको जबाफ आएको छैन। उसले दिएको जबाफको आधारमा हामी अघि बढ्छौ" ढुङ्गानाले भने।

लगातार कारोबारमा समस्या देखिएपछि बोर्डले आन्तरिक छलफल तीव्र बनाएको छ। उसले तीन वटा विकल्पमा जान सक्ने गरी छलफल अघि बढाएको छ। नेप्सेले हाल चलाइरहेको सिस्टमलाई नै काम गर्न सक्छ भन्ने ग्यारेन्टी गर्नु पर्ने, यो सफ्टवेयरले काम गर्न नसकेको हो भने अर्को नयाँ सफ्टवेयरको खरिद प्रक्रियालाई अघि बढाउनु पर्ने वा नेप्सेले कामै गर्न नसकेको अवस्थामा नयाँ स्टक एकस्चेन्जको अवधारणामा जानुको विकल्प नरहेको भन्दै उसले छलफललाई तीव्रता दिएको हो।

"नेपाल सरकारको कम्पनी जसले दिएको सेवा सबैभन्दा भरपर्दो हुनु पर्ने हो । तर उसैको सेवामा बारम्बार अवरोध भएपछि त्यसलाई निकास दिनुको विकल्प छैन । निकास खोज्न कै लागि बोर्डले वैकल्पिक उपायहरुमा छलफल गरिरहेको हो" ढुङ्गानाले भने। नेप्से सञ्चालक समितिले दिने जबाफको प्रतिक्षामा बोर्ड छ। उसले दिएको जबाफ चित्त बुझ्दो नभए मन्त्रालयसँग समन्वय गरी तीन वटै विकल्पको बारेमा बोर्ड अघि बढ्ने ढुङ्गानाले बताए।

पूँजी बजारको नियामक निकायको रुपमा स्थापित बोर्डले बारम्बार प्रयास गर्दा समेत समस्या नसुल्झिएपछि बोर्ड सधैँ  खराब अबस्थालाइ हेरेर बस्ने स्थितिमा छैन। अन्तर्राष्ट्रिय स्तरमा समेत दोस्रो बजारको कारोबारको विषयमा प्रश्न उठ्न थालेको छ। जसले गर्दा अन्य विकल्पमा जानै पर्ने बाध्यतामा बोर्ड रहेको बताइएको छ।

यसअघि नै मन्त्रालयले बारम्बार देखिएको समस्याका बारेमा बुझ्न नेप्से र बोर्डका प्रमुखलाई बोलाएको थियो। उक्त छलफलमा प्राविधिक समस्या रहेको र यसलाई समाधान गर्न सकिन्छ भन्ने प्रतिबद्धता दुवै निकायका अधिकारीले गरेका थिए। तर, त्यसपछि पनि समस्या जस्ताको त्यस्तै रहेपछि मन्त्रालय थप क्रुद्ध बनेको थियो। वास्तविकता के हो भनी बुझ्न भन्दै अर्थ मन्त्रालयका अधिकारी नै नेप्से कार्यालय समेत पुगेका थिए। अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख झक्क प्रसाद आचार्य र नेप्सेकै बोर्ड सदस्य सहेका मन्त्रालयका उप सचिव रमेश अर्याल नेप्से पुगेरै समस्याको बारेमा बुझेका थिए। उनीहरूले निकै लामो समय नेप्सेको कार्यालयमा बिताएका थिए। उनीहरूले नेप्सेले गरिरहेको गतिविधिको पूर्ण जानकारी लिएका थिए। त्यसपछि मन्त्रालयले तत्काल समस्या समाधान गर्न कुनै वैकल्पिक उपायमा जान सकिने भए त्यही अनुसार अघि बढ्नु पर्ने धारण उनीहरूले राखेका थिए। सोही अनुसार बोर्डले तीन विकल्पका बारेमा छलफललाई तीव्रता दिएको बुझिएको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।