विज्ञापन बोर्ड गठनको प्रक्रिया मन्त्रिपरिषद पुग्यो,कार्तिक आठबाट क्लिन फीड लागु गरेरै छाड्ने

Sep 21, 2020 03:32 PM Merolagani

सुवास निरौला

पटक पटक क्लिन फीड ( विज्ञापनरहित प्रसारण)को म्याद सार्दै आएको सरकारले यस पटक भने तोकिएकै मितिबाट क्लिन फीडमा जाने बताएको छ।

ऐनले तोकेको व्यवस्था अनुसार आउँदो कार्तिक आठ गतेबाट क्लिन फिड लागु हुने सूचना तथा सञ्चार मन्त्रालयको भनाई छ। "ऐनले तोकेको म्यादबाटै क्लिन फीड लागु हुन्छ" सूचना तथा सञ्चार मन्त्रालयका सह-सचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडीले मेरो लगानीसँग भने।

दुवाडीका अनुसार सरकारले क्लिन फीडका लागि गर्नु पर्ने सबै तयारी गरिसकेको छ। सरकारले उक्त ऐन कार्यान्वयनको लागि प्रविधि र नियमावलीको समेत व्यवस्था गरिसकेको छ। करिब दुई साता अघि मन्त्रालयले नियमावली स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेस गरेको छ भने क्लिन फिड भए नभएको अनुगमनका लागि मन्त्रालयमा प्रविधि समेत जडान गरी सकेको छ।

मन्त्रिपरिषदले नियमावली पास नगरे के हुन्छ भन्ने प्रश्नको जबाफ दिँदै दुवडीले भने "ऐनले तोकेको विषय हो। जसलाई कार्यान्वयनमा लैजाने जिम्मा नेपाल सरकारकै हुन्छ। त्यसकारण स्वीकृतिमा विलम्ब हुन्छ भनेर सोच्न सकिँदैन । प्राथमिकताको आधारमा नियमावली पास हुनेमा कुनै शङ्का छैन"

कथम् कदाचित नियमावली पास नभए के हुन्छ भन्ने अर्को प्रश्नको उत्तर दिँदै दुवाडीले भने " पहिले कुरा त कथम् कदाचित भन्ने विषय नै यसमा जोडिँदैन । तर पनि क्लिन फिड नै लागु गर्न नियमावलीकै पनि आवश्यकता पर्ने छैन। किनकि विज्ञापन ( नियमन गर्ने) ऐन,२०७६ को दफा ६ मा क्लिन फीडको लागि स्पष्ट व्यवस्था गरेको छ। सोही बमोजिम मन्त्रालयले कार्यान्वयनमा लैजाने छ"।

तर उक्त ऐनकाे दफा १४ मा विज्ञापन बोर्ड गठन गर्नु पर्ने भनिएकाे छ। गठन भएको उक्त बोर्डले दफा ३७ अनुसार ऐन अन्तर्गत बनेको नियमावलीको अधीनमा रही आवश्यक मापदण्ड बनाउन सक्ने भनिएको छ। तर यति बेलासम्म ऐन मात्रै जारी भएको अवस्था छ। नियमावली बनाएर स्वीकृतिको लागि पठाइएको बताइएको छ। तर स्वीकृत भने भएको छैन। उक्त नियमावली स्वीकृत भएपछि बोर्ड गठन हुने दुवाडीको भनाइ छ।

उता कार्तिक लाग्न अब एक महिना पनि छैन। च्यानल बोर्डकाष्टरहरुले भने मन्त्रालयलाई केही समय पर सारिदिन अनुरोध गरिरहेका छन्। उनीहरूले लक डाउनका कारण आवश्यक प्राबिधिक सामाग्री ल्याउन नसकिएकोले त्यसलाई अलि पर धकेल्न भन्दै मन्त्रालयमा निवेदन दिएका छन्। ती निवेदन उपर कुनै सुनवाइ नहुने प्रवक्ता दुवाडीले बताए। "कानुन निर्माता र पालकका आआफ्नै मान्यता हुन्छ। नियम बनाउनेले तोकिएको मिति बाट कार्यान्वयनमा जानुपर्छ भन्ने हुन्छ भने पालनकर्ताले अलिकति सारिदिए हुन्थ्यो भन्छन्। यो स्वभाविक हो । कहिले निवेदन दिनु भएको छ। तर त्यस विषयमा मन्त्रालयले अहिले नै हेरेको अवस्था छैन। किनकि समय लाग्छ भनेरै एक वर्षको समय ऐनले नै दिएको हो। त्यसबाट पछि हट्न सकिँदैन "दुवाडीले भने।

यता केबल टेलिभिजन सेवा प्रदायक हरूको संस्था केबल टेलिभिजन महासंघ समेत क्लिन फीडको लागि तयारी अवस्थामा छैन। कार्तिक आठ गते महाअष्टमी पर्व पर्ने भएकोले पनि त्यस दिनबाट क्लिन फीड लागु हुनेमा   महासंघले शङ्का व्यक्त गरेकाे छ। "कार्तिक आठ गते महाअष्टमीको दिन पर्छ। त्यही दिनबाट लागु हुनेमा शङ्का छ" केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले भने।

"दसैँ तिहार वा जुन सुकै पर्व परे पनि ऐनले तोकेको दिन कार्यान्वयनमा जान्छ। चाडबाडको बेलामा ऐनले काम नगर्ने भन्ने हुँदैन। त्यो दिन पनि ऐनले तोकेको काम गर्नु पर्छ। ऐनले बन्देज लगाएको काम चाडबाडमा समेत गर्न पाइँदैन" दुवाडीले भने।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।