सहकारीले कम ब्याज दिँदा त्यस्तो रकम ‘छचल्किएर’ शेयर बजारसम्म आउने

Sep 23, 2020 08:19 AM Merolagani

बिष्णु बेल्बासे

सहकारीमा सर्वसाधारणले निक्षेप संकलन गरेको ब्याज कम पाउन थालेपछि सहकारीमा भएको रकम शेयर बजारमा आउने सम्भावना बढेको छ । सरकारले सर्वसाधारणले सहकारीमा राखेको रकमको ब्याज ८.७५ प्रतिशतभन्दा बढी दिन नपाउने व्यवस्था गरेपछि उक्त रकम शेयर बजारमा आउने सम्भावना बढेको हो ।

सहकारी विभागले कार्तिक १५ देखि लागु हुने गरी सर्वसाधारणले सहकारीमा जम्मा गर्ने रकमकोे ब्याज ८.७५ प्रतिशत भन्दा बढी दिन नहुने व्यवस्था गरेपछि उक्त रकम शेयर बजारमा आउने सम्भावना बढेको हो । अहिले सहकारीमा जम्मा गर्नेले १० प्रतिशतसम्म ब्याज पाउँदै आएका थिए ।

सहकारीले एकैचोटी सर्वसाधारणले जम्मा गर्ने ब्याजमा २ प्रतिशतले कटौती गर्ने भएपछि उनीहरुले सहकारीबाट रकम झिकेर अन्य क्षेत्रमा लगाउन सक्ने सम्भावना पनि देखिएको हो । प्रतिफल  बढी आउने क्षेत्रमा लगानी जान सक्ने सम्भावना पनि उत्तिकै रहेको सहकारी विभागका सूचना अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।

‘बैंकहरुले ब्याज घटाउँदा सहकारीमा आएजस्तै सहकारीले ब्याज घटाउँदा अन्य बढी आम्दानी हुने क्षेत्रमा लगानी जान सक्ने सम्भावना पनि छ,’ उनले भने, ‘बैंक, फाइनान्स, सहकारीको ब्याज घटदा जग्गा, शेयर बजारलगायतमा पुँजी गएको विगतको अनुभवले पनि देखाउँछ ।’

सहकारी विभागका अनुसार, अहिले मुलुकभर छरिएका सहकारीमा सर्वसाधारणले करिव ४ खर्ब रुपैयाँ जम्मा गरेका छन् । उक्त रकम मध्ये केही शेयर बजारमा आउने सम्भावना रहेको बिज्ञहरुको भनाइ छ ।

सहकारीमा जम्मा हुने कुल रकममध्ये धेरैजसो रकम शहर बजारका सहकारीमा राख्ने गरिएको छ । सहकारीमा राख्दा बढी ब्याज पाउने आशाले पनि सर्वसाधारणले सहकारीमा रकम राख्ने गरेका हुन् । तर, सहकारीले पनि निक्षेपको ब्याज घटाएपछि त्यस्तो रकम शेयर बजार, घरजग्गा वा अन्य व्यवसायमा जाने सम्भावना बढेको हो ।

सहकारीले कम ब्याज दिँदा त्यस्तो रकम छचल्किएर शेयर बजारमा पनि आइपुग्ने अनुमान गरिएको एक शेयर ब्रोकरले बताए । ‘विगतमा पनि बैंक तथा वित्तीय संस्थाहरुले कम ब्याज दिँदा त्यस्तो रकम शेयर बजारमा आएको थियो,’ ती ब्रोकरले भने, ‘अहिले पनि त्यही पुनरावृति हुने सम्भावना बढेको छ ।’
अहिले पनि सहकारीमा लगानीयोग्य रकम (तरलता) थु्प्रिएर बसेको विभागका सूचना अधिकारी पौडेलले बताए । ‘सहकारीमा थुप्रिएको रकम कुनै न कुनै तरिकाले अन्य क्षेत्रमा पनि लगानी हुन जान्छ,’ उनले भने, ‘त्यसले कुनै अर्को क्षेत्रमा सुधार हुन सक्छ ।’

अहिले नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयरको भाउ कम भएकाले पनि सहकारीको रकम शेयर बजारमा आउन सक्ने सम्भावना देखिएको हो । गत आर्थिक वर्षको लाभांश वितरण गर्ने समय आएकाले पनि अहिले शेयर बजारमा लगानी गर्नेले ती कम्पनीले वितरण गर्ने लाभांश पनि पाउने सम्भावना छ । यसले गर्दा पनि सहकारीको रकम शेयर बजारमा आउने सम्भावना बलियो बनेको हो ।
ब्याजदर नियन्त्रण गर्न चुनौती

गत वर्षको साउन १९ गते देखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो । उक्त निर्णयलाई पुनरावलोकन गर्दै सहकारी विभागले कार्तिक १५ गतेदेखि लागु हुने नयाँ ब्याजदर तोकेको छ ।

अर्को महिना १५ गतेदेखि सहकारीमा पैसा राख्नेले कम ब्याज पाउने छन् । सहकारले ऋण लगानी गरेको रकममा पनि १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको छ ।

ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले जानकारी दिए ।

तर, केही सहकारीले भने चर्को ब्याजदर असुल्दै आएका छन् । १६ प्रतिशत ब्याज लिने निर्णय गरेका सहकारीले पनि सेवा शुल्कको नाममा मनपरी रकम लिई कायम राखेका छन्।

अहिले पनि केही सहकारीले १८–२० प्रतिशतसम्म ब्याज लिइरहेका छन् । सहकारी विभागको निर्णयलाई बेवास्था गरिदै आएको छ । सर्वसाधारण विभागको पछिल्लो निर्णय कदम कार्यान्वयनमा आउने हो भने राहत हुने बताउँछन्।

विभागले ल्याएको सन्दर्भ ब्याजदर कार्यान्वयनमा जटिलता देखिएको छ । सहकारी विभाग कार्यान्वयन गराउने पक्षमा देखिए पनि नियमन गर्न सकेको छैन । नियमनको अभावमा धेरैजसो सहकारीले अहिले पनि ऋणमा चर्को प्रतिशत ब्याज लिइरहेका छन् ।

मुलुकभर छरिएर रहेका करिव ३५ हजार सहकारी भएकाले पनि नियमन गर्न समस्या परेको विभागको भनाइ छ । संख्या धेरै भएपछि नियमन गर्न कठिन भएको भन्दै मर्जरमा लैजानुपर्ने दबाब पनि बढ्दै गएको छ ।

comments powered by Disqus

सुनचाँदीको मूल्यमा भारि गिरावट, कति घट्यो?

Apr 14, 2024 10:44 AM

२०८१ सालको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।