युनाइटेड इदी–मार्दीको आईपीओमा आवेदन दिने म्याद थप

Oct 08, 2020 08:09 AM Merolagani



युनाइटेड इदी–मार्दीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। सो आईपीओमा अब कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यस अनुसार कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ। सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता जारी गरेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले चैत १० गतेदेखि आइपीओ निष्काशनको तयारी गरेको थियो। तर, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सो निष्काशन स्थगित गरिएको थियो। बोर्डबाट स्वीकृती प्राप्त भएको दुई महिनाभित्र सार्वजनिक निष्काशन गर्न नसकिएकोले कोभिड १९ को असर समेत समावेश गरी कम्पनीले संशोधित वित्तीय विवरण सहितको विवरणपत्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गरी प्रकाशित गरेको बताएको छ।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

प्रकाशित विवरण पत्र अनुसार गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ८५.८२ रुपैयाँ रहेको छ। चालु आव अर्थात आव २०७७/७८ मा कम्पनीले प्रतिशेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२.९७ रुपैयाँ ऋणात्मक रहेको छ भने चालु आवमा ८.३३ रुपैयाँ धनात्मक हुने प्रक्षेपण गरेको छ।

२०७६ असोज २० गतेदेखि माथिल्लो मार्दि खोलन जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरेको यस कम्पनीले गत आवको अन्त्यसम्ममा विद्युत बिक्रीबाट १० करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको प्रति मेगावाट लागत २० करोड ३९ लाख ७६ हजार १४२ रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १४.९६ वर्ष रहेको छ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।