साढे ९ अर्ब रुपैयाँ बराबरको २३ कम्पनीको आइपिओ निष्कासन अब दशैंपछि मात्र

Oct 14, 2020 03:41 PM merolagani



साढे ९ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आइपिओ) को तयारीमा रहेका २३ कम्पनीले अब दशैंपछि मात्र शेयर निष्कासन गर्ने भएका छन् ।

२३ कम्पनी मध्ये प्रभु लाइफ इन्स्योरेन्स समेत १५ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिएका छन् । बाँकी ८ जीवन बीमा कम्पनीले पनि आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिने तयारीमा छन् ।

पाइपलाइनमा रहेका कुल २३ कम्पनीमध्ये करिव एक तिहाइले दशैंपछि आइपिओ निष्कासन गर्न तयारी गरिरहेका छन् । करिव ७ कम्पनीले धितोपत्र बोर्डले स्वीकृति दिएमा दशैं लगतै आइपिओ निष्कासन गर्ने सोच बनाएका छन् ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले दशैं अगाडि आइपिओ निष्कासन गर्ने सम्भावना कम रहेको बताए । पछिल्लो समय प्रभु लाइफ इन्स्योरेन्सले आइपिओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको जानकारी पनि उनले गराए । योसँगै बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिएर पाइपलाइनमा बसेका कम्पनी १५ पुगेका छन् । आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको ८ जीवन बीमा कमपनीले पनि बोर्डमा निवेदन दिँदै छन् ।

एक साताअघि मात्र प्रभु लाइफले ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपिओ निष्कासन गर्नका लागि बोर्डमा निबेदन दिएको छ । यसैगरी, १० वटा जलविद्युत् समूह, ३ वटा अन्य समूह र एउटा मर्चेन्ट बैंकिङले आइपिओ निष्कासनका लागि निवेदन दिएका छन् । बोर्डबाट अनुमति पाएपछि शेयर निष्कासन गर्ने तयारीमा ती कम्पनीहरु छन् ।

शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १५ कम्पनीले ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । साथै, ८ बीमा कम्पनीले करिव ५ अर्ब ५ करोड रुपैयाँको शेयर बिक्री गर्ने तयारीमा रहेका छन् । ती सबै कम्पनीको करिव साढे ९ अर्बको आइपिओ आउँदै छ । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिएका मध्ये धेरैजसो जलविद्युतका छन् । हाल शेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

शेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् ।

शेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् ।

मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । अन्य समूहअन्तर्गत रहेर शेयर निष्कासन गर्ने उल्लेखित तीन कम्पनीमध्ये आ आफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन् । यसअघि ती क्षेत्रका कम्पनीले शेयर निष्कासन गरेका छैनन् ।

यसैगरी, रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, आइएमइ लाइफ, सिटिजन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सन नेपाल लाइफले पनि आइपिओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।