लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Oct 16, 2020 07:57 AM Merolagani



शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले कात्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा पाँचौ वार्षिक साधारण सभा डाकेको हो।

सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभामा भिडियो कन्फ्रेन्स मार्फत पनि सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन शेयरधनीहरुलाई जुम आईडि र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।

सभामा चुक्ता पूँजीको २४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। सभामा लेखापरीक्षक नियुक्त गर्ने र गत आवको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ।

वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।