लङटर्म इन्भेष्टरलाई शेयर भाडामा लगाएर पैसा कमाउने लगायतका नयाँ इन्स्ट्रुमेण्टको लागि पहल गर्छु

Nov 13, 2020 04:51 PM merolagani

नेपाल स्टक ब्राेकर एशाेसियनले सन्ताेष मैनालीकाे नेतृत्वमा नयाँ टीम पाएकाे छ । मैनालीकाे अद्ययनशील  छवि छ । पूँजी बजारकाे बहु आयामहरूमा उनले लेखहरूमार्फत  बहस पैरवी गर्ने गरेका छन् । तर, अब मैनाली संस्थागतरूपमा आवाज बुलन्द पार्ने स्थानमा पुगेका छन् ।

मैनालीसँग मेराे लगानीका उप सम्पादक  सुवास निराैलाले ब्राेकरेज सेवा बिस्तार,ब्राेकर कमिशन, मार्जिङ ल्याण्डिङ लगायतकाे समसामयिक बिषयमा कुराकानी गरेका छन् ।

सबैभन्दा पहिले नेपाल स्टक ब्रोकर एसोसिएसनको अध्यक्ष हुनुभएकोमा यहाँलाइ  शुभकामना छ 

धेरै धेरै धन्यवाद

अध्यक्ष पदमा सर्वसम्मत नियुक्त हुनुभएको छ। के छन् तंपाईका योजना ?

मैले आफ्नो कार्यकालको योजना दुई कसिमले बनाएको छु। हामी क्यापिटल मार्केटको तलको तप्कामा बसेर काम गर्ने भएकोले पहिले आँफैले गर्न सक्ने र अर्को आफू भन्दा माथिल्लो निकायका दायरा भित्र रहेको कामलाई छुट्टाएर योजना बनाएको छु।

आफूले बनाएको योजना भित्र सबैभन्दा पहिले अहिले चलाइरहेको टिएमएसको परिवर्तनको विषय छ। अहिले भएको टिएमएस कम्पिलट सोलुसन नभएर लगानीकर्ताहरुको लागि अर्डर राख्ने माध्यम मात्रै भयो। तर अन्तर्राष्ट्रिय स्तरको र लगानीकर्ताहरुलाई अरू सुबिधा समेत उपलब्ध हुने किसिमको भने छैन। जसले गर्दा लगानीकर्तालाई अर्डर राख्न पनि मिलोस् र लगानी सम्बन्धी अरू सुविधा पनि त्यसै भित्र समावेश भएको अत्याधुनिक टिएमएस भयो भने उहाँहरुलाई लगानीको निर्णय गर्न पनि सजिलो हुन्छ भन्ने हिसाबले त्यसको परिवर्तनका लागि मैले भूमिका निर्वाह गर्ने प्रयत्न गर्ने छु।

हामीले ल्याउन लागेको वा भनौँ हामीले परिकल्पना गरेको टिएमएस कस्तो छ भने अर्डर सँगसँगै त्यसमा डेटा बेस पनि होस्। सूचिकृत कम्पनीहरूको सबै डेटा बेस त्यही राख्ने। डेटा बेसको आधारभूत र प्राविधिक विश्लेषण गर्न, विभिन्न टेक्निकल इन्डिकेटर त्यहाँबाट हेर्न मिल्ने होस् भन्ने छ। पछि गएर पोर्टफोलियो ट्रयाकर सहितको कम्लिट सोलुसन गर्ने गरी ल्याउने भनेर हामी लागिराखेका छौ। हुन त यो योजना भरत जी कै कार्यकालबाट सुरु भएकाे हो। हामीले  क्याप टेक प्राली दर्ता गरिसकेका छौ। जुन हाम्रो टंक गौतमजीले नेतृत्व गरिरहनु भएको छ।

त्यसपछि हामीले गर्नु पर्ने सामाजिक उत्तरदायित्व भित्र पर्ने र व्यवसाय बिस्तारमा पनि यसले ठूलै भूमिका खेल्छ।

लगानीकर्ता सचेतना र प्रशिक्षणको कार्यक्रम छ। त्यसलाई चाहिँ एउटा प्याकेज नै बनाएर रुटिङ प्रोग्राम नै गर्ने भन्ने योजना छ। जसमा पछिल्लो कोभिड पछिको अवस्थालाई मध्यनजर गर्दा, निश्चित ठाउँमा गएर गर्ने भन्दा त्यसलाई अनलाइनकै माध्यबाट लैजाँदा व्यापक हुने रहेछ भन्ने बुझाइमा त्यसबाटै नियमित गर्ने योजना छ।

त्यसपछि बजार बिस्तारको लागि हामीले सहयोग गर्ने, तर धितोपत्र बोर्ड र नेप्सेले गर्नु पर्ने छन्। जसमा अहिलेको बजारलाई हेरेर के के उपकरणहरू प्रयोगमा ल्याउन सकिन्छ भन्ने छ। अन्तर्राष्ट्रिय बजारमा धेरै नै उपकरण छन्। तर ती सबै यति बेलै ल्याउने बेला भएको छैन। हाम्रो लगानीकर्ताको सचेतनाको स्तर,वित्तीय प्रणालीलाइ हेरेर केही ल्याउनै पर्ने भने देखिन्छ।

जसमा अहिले भइरहेकै मार्जिन ट्रेडिङ पनि छ। तर त्यसले पूर्ण काम गर्न सकिरहेको छैन। जसलाई कसरी फुल फेजमा लैजान सकिन्छ भन्ने छ। भर्खरै मात्र यसैको माध्यमबाट बजारमा तरलता वृद्धि गर्ने भनेर बोर्डले भनेको छ। बोर्ड र नेप्सेको सहयोगमा यसलाई कसरी अपरेसनल बनाउने भन्ने योजनामा काम गर्ने छौ। 

त्यसपछि लगानीकर्ताको मनोभावनालाई मध्यनजर गर्नै त्यही अनुरूपको इन्स्ट्रुमेण्ट विकास गर्ने। कोही लगानीकर्ता छिटो छिटो कारोबार गर्न रुचाउँछन्। कोही लामो समय राख्नु पर्छ भन्ने भावनाका छन्। त्यस अनुरूप छिटो छिटो कारोबार गर्न चाहनेको लागि इन्ट्रा डे कारोबार सुरु गराउन प्रयत्न गर्ने।

इन्ट्रा डे ट्रेडिङ सुरुवात गर्न सेक्युरिटी ल्यान्डिङ एन्ड बोरोइङ पनि चाहिन सक्छ। त्यो भयो भने जो सँग शेयर छ, उसले शेयर नै भाडामा लगाएर पैसा कमाउन सक्छ। जसले लङटर्मको लागि शेयर राख्न चाहन्छ, उसको लागि पनि फाइदा हुन्छ। किनकि आफ्नो शेयर पनि हुन्छ। उसले भाडामा लगाएर पनि निश्चित पैसा आम्दानी  गर्न सक्छ। बजारमा त्यसले नयाँ आयाम पनि थप्छ भन्ने लाग्छ।

अर्को ऋणपत्रको बजारलाई असाध्यै तरल बनाउनु पर्ने छ। ऋणपत्रको बजार सुरु त भयो तर कारोबार कम हुने,यथार्थ विवरण प्राप्त नहुने स्थिति छ। त्यसको लागि लगानीकर्तामा चेतना बढाउने र तरलता पनि कसरी बढाउन सकिन्छ भनेर  त्यसमा पहल गर्ने।

हुन त बोर्ड अध्यक्षले यसमा पहल गरिरहनु भएको छ। त्यसमा हाम्रो तर्फबाट के सहयोग गर्न सकिन्छ, त्यसमा काम गर्ने याेजना छ।

ब्रोकरको दायरा बिस्तारमा पनि जोड दिने छु। यसले अल्टिमेटली ब्रोकरलाई नै लाभ हुन्छ। लगानीकर्तालाई पनि लाभ हुने गरी दायरा बिस्तार गर्ने। अन्य सेवामा पनि जोड दिने। जस्तै पोर्टफोलियो म्यानेजमेन्टका सेवाहरू,अन्डर राइटिङ,बुक बिल्डिङमा संस्थागत लगानीकर्ताको रुपमा सहभागिता जनाउन पाउन भन्ने प्रयास पनि गर्ने।  

इन्स्ट्रुमेण्ट  नै बनाउनु पर्ने कुरामा रियल स्टेट  इन्भेस्टमेन्ट ट्रस्टको आवश्यकता छ। जसको लागि बोर्डले नयाँ नियमावली बनाउनु पर्ने हुन्छ। जुन ट्रस्टले आर्थिक खाडल कम गर्न पनि सहयोग गर्ने छ। पछिल्लो समय रियल स्टेटको मार्केट बुम हुँदै आएको छ। हाम्रो सामाजिक परिवेश नै कस्तो छ भने अलिकति पैसा हुने बित्तिकै घर जग्गामा लगानी गरी हाल्ने। तर यति हुँदा हुँदै पनि थोरै पैसा भएकाको भने यसमा पहुँच कम हुँदै गएको छ। उनीहरूले यसमा लगानी गर्न नसकिरहेको अवस्था छ। किनकि शेयर जस्तो धेरै सानो टुक्रा जग्गा पाइँदैन। त्यसैले थोरै बचत भएका मानिसको पहुँच यसमा कहिल्यै नपुग्ने भयो। उनीहरूले यसबाट हुने फाइदा लिन बाट वञ्चित छन्।

हाम्रो मुलुकमा यति बेला ठूला व्यवसायिक घराना पनि रियल स्टेट कारोबारमा छन्। उनीहरू अर्गनाइज रुपमा यो बजारमा छन्। उनीहरूकै सहयोगमा यसलाई म्युचुअल फन्डको अवधारणामा रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्ट छिराउन सकियो भने दुई तीन लाख रुपैयाँ हुनेले पनि त्यो ट्रस्टको युनिट किन्छ। त्यो ट्रस्टले लगेर केही प्रपर्टिमा लगानी गर्छ। यसले गर्दा दुई तीन लाख भएको मानिसले पनि रियल स्टेटमा भएको बृद्धिकाे लाभ लिन पाउँछ।

मेरो बिचारमा यसकोलागि इन्भेष्टर पनि सजिलै  पाइन्छ। यसलाई ल्यायो बजारमा निक्कै चल्छ पनि। यसको लागि पनि धितोपत्र बोर्डले पहल गर्‍यो भने बजारमा लिक्विडिटि पनि एड हुने र बजारमा विविधता पनि हुन्छ भन्ने लाग्छ।

किनकि विविधताको कुरा धेरै पहिले देखिनै गर्दै आएका छौ। फेरि पूँजी बजारमा बैक वित्तीय संस्थाको मात्रै प्रभुत्व रहँदा यसले वास्तविक अर्थतन्त्रको जनाउ पनि दिन सकेको छैन। तर यस्ता प्रडक्टले विविधतामा पनि सहयोग गर्छ। यो अवस्थालाई हेरेर पनि त्यसको आवश्यकता टड्काराे देखिसकेको छ।

त्यसपछि डेरिभेटिभ प्रडक्टमा जाँदा खेरि इक्युटिमा आधारित मात्रै ल्याउन पहल गर्नु पर्छ। जस्तो एउटा इन्डेक्स बनाएर इन्डेक्सको आधारमा गर्न सकिने भयो। अर्को चाहिँ एकदमै लिक्युड शेयरहरूको आधारमा  डेरिभेटिभ सुरु गर्न सकिन्छ।

यति गर्न सकियो भने धेरै उपलब्धि हासिल गर्न सकिन्छ। धेरै कम्प्लेक्स प्रडक्ट पनि यी होइनन्। यसकालागि त्यति धेरै कसरत पनि गर्नु पर्दैन। नियम बनाउने,प्रविधि ल्याउने,लगानीकर्तामा सचेतना बढाउने र ब्रोकरले चाहेको क्षमता बिस्तार गर्ने हो भने, बजारले एउटा छलाङ मार्छ।   

यी प्रडक्टलाई प्राथमिकतामा राखेर त्यसलाई सुचारु गर्न हाम्रो तर्फबाट के गर्न सकिन्छ,के के सुझाव दिन सकिन्छ । हामीले के के तयारी गर्नु पर्छ, भनेर नियामकलाई  घच्घचाउदै लैजाने कामलाई प्राथमिकता दिँदै जाने योजना छ।

तपाईका योजना बजार मैत्री देखिए। तर नेपालको बजार र ब्रोकर कम्पनीलाई नियामक निकायले यति धेरै विश्वास गरेको देखिँदैन। किनकि बजारमा नयाँ इन्स्ट्रुमेण्ट पनि भित्र्याइएको छैन र ब्रोकर कम्पनीलाई कमिसन ब्रोकर भन्दा माथि उठ्न पनि दिइएको छैन। यस्तो अबस्थामा नियामकले बजार र तपाईँहरूलाई विश्वास चाहिँ किन नगरेको जस्तो लाग्छ ?

मलाई ब्रोकर माथि लिएको अविश्वास नै हो जस्तो लाग्छ। क्षमता कम छ, भन्ने आँकलन पनि हुन सक्ला। तर त्यसले कुनै अर्थ राख्दैन। ब्रोकर माथि अविश्वास भन्ने हो भने ५० सालदेखि यति बेला सम्म २७ वर्ष भयो। यिनै ब्रोकरहरु छन्। केही ब्रोकरहरु परिवर्तन भए होलान्। केही पछि आएर थपिएका होलान्। तर २७ वर्षको इतिहास हेर्ने हो भने आजसम्म कुनै पनि लगानीकर्ताले ब्रोकरको कारणले किनेको शेयर नपाएको,डिफल्ट भएको छैन।

बैकिङ सेक्टरमै हेर्ने हो भने नेपाल राष्ट्र बैंक जस्तो विश्वासिलो नियामकले नियमन गरेको संस्थाहरूबाट सर्वसाधारणले निक्षेप नै गुमाउनु पर्‍यो। कति संस्थाहरू विलीन भएर गए। त्यस कारण  ब्रोकर हरूलाई विश्वास नगर्नुपर्ने कारण छैन।

क्षमता अभिबृद्धि गर्नु पर्ने बिषयमा त नियामक निकायले पनि सहयोग गर्नु पर्ने हुन्छ।मापदण्ड बनाइदिनु पर्‍यो। पूँजी कति चाहिने हो ? प्रविधि कस्तो चाहिएला ? त्यो सबै बनाएर अब यो गर्ने भनेको बिषयमा आजासम्म कोहि ब्रोकरहरु नियामकका विरुद्ध  गएको छैन।

पूँजी बढाउने विषयलाई हामीले सहजै स्वीकार गर्‍यौ। मार्जिन ट्रेडिङकोलागि २५ गुणा पुजी  बढाउने भन्दा बढाएर २१ वटा संस्थाले लाइसेन्स लिएको अवस्था छ।

हैन,हैन । तपाईहरू बाधक हुनु भएको होइन कि तपाईँहरूलाई विश्वास किन नगरिएको भन्ने प्रश्न हाे मेराे ।

विश्वास नगर्नु पर्ने आधारचाहिँ अब केही पनि छैन। व्यक्तिगत कारण छ भने बेग्लै कुरा होला।तर समग्र इन्डस्ट्रीमा हेर्दा के छ त कारण ? कि त डिफल्ट भएको हुनु पर्‍यो । नियामकले भनेको कुरा अटेर गरेको हुनु पर्‍यो। क्षमता बिस्तार गर भनेको कुरामा नमानेको हुनु पर्‍यो । सबै कुरा मानेकै छाै । बजारको विश्वसनीयतामा आँच आउने केही पनि काम गरेको छैन भने विश्वास नगर्ने भन्ने त कारण नै छैन। विश्वास नगर्ने,अगाडि नबढ्ने हो भने त आइस ब्रेक भएन । 

हो यही आइस ब्रेक गर्नलाई कुनै कुरा मागेर पाइएन भने अधिकारकोलागि लड्नु पनि पर्छ भनिन्छ। के तपाइ लड्न सक्नु हुन्छ?

यसमा लड्ने भन्दा पनि समन्वय गर्नेमा बढी विश्वास राख्छु। पछिल्लो समय केही परिवर्तन हुँदै आएको छ। गएको तीन चार वर्षलाई  मात्रै हेर्ने हो भने मार्जिन ट्रेडिङ भन्ने थप सुविधा पाएका छौ। सिडिएससि आएपछि निक्षेप सदस्यको भूमिका पाएका छौ। भलै पछिल्लो समय मार्जिन ट्रेडिङमा ब्रोकर कम्पनीलाई कम विश्वास गरिएको छ। अन्तर्राष्ट्रिय मान्यता हेर्ने हो भने हरेक ब्रोकरसँग निक्षेप सदस्यको सुविधा हुनै पर्छ भन्ने छ। हाम्रोमा त्यसमा पनि थोरै अविश्वास गरिएको छ।यति भन्दा भन्दै पनि जुन किसिमले पछिल्लो समय संवाद गरिरहेका छौ,फेरि बोर्ड अध्यक्षले जसरी पोजेटिभ रुपमा लिईरहनु भएको छ। त्यसले सकारात्मक सन्देश दिएकाे छ ।

यता पहुँच बिस्तारको लागि आधिकारिक प्रतिनिधि नियुक्तिको विषयमा उहाँले सकारात्मक रुपमा लिनु भएकाले, समन्वयबाटै सबै उपलब्धि प्राप्त हुँदै जान्छ भन्नेमा हामी विश्वास राख्छौ।त्यसले गर्दा अधिकारकोलागि  लड्नु नै पर्ने स्थिति छैन। 

तपाइले नयाँ इन्स्ट्रुमेण्टमा रियल सटेट सेक्युरिटी ट्रस्टको कुरा उठाउनु भयो। जबकि नियामकले रियल स्टेटलाई शेयर निष्कासनको अनुमति त दिँदैन भने ट्रस्टमा झन् सकारात्मक होला र ?

मैले नेपालमा दुईवटा एक्टको खाँचाे देखेको छु। ट्रस्ट एक्ट र इन्भेस्टमेन्ट कम्पनी एक्ट। यसलाई नियमावली मार्फत वा कम्पनी ऐनको भरमा चलिरहेको छ। भोलि लगानीकर्ताको सुरक्षाको लागि, भोलि बिदेशीलगानीकर्ता भित्र्याउनको लागि,विश्वासको वातावरण बनाउन पनि यो आवश्यक छ। त्यसैले यसलाई कानुनी पाटोबाट जोड दिन जरुरी छ। किनकि अहिले पनि भइराखेको इन्स्ट्रुमेण्टमा ट्रस्टीको व्यवस्था छ। त्यसले गर्दा पनि ट्रस्ट एक्ट आइदियो भने आर्थिक बृद्धिमा छलाङ मार्न सहयोग गर्छ।

प्रसङ्ग बदलौँ, पछिल्लो समय ब्रोकर कमिसन घटाउनु पर्छ भनिराखिएको छ। उता नियामक निकायले समेत अध्ययन गरिसकेको छ। यसमा तपाईको भनाइ के हो ?

मैले त भइरहेको कमिसनमै धेरै छलफल गर्नु पर्ने देखेको छु। कमिसन घटाउने भन्ने कुरा कहाँबाट आयो भन्ने कुराले अर्थ राख्छ। विगतमा पनि दुई चोटी घटिसकेको हो। पछिल्लो समय पनि तीन वर्ष अघि घट्दा पनि एकै पटक ४० प्रतिशत घटेको हो। कमिसनको विषयमा केही ब्रोकरले कमाए भनेर हेर्नु भएन। दुई तीन महिना कारोबारमा उछाल आयो भनेर पनि हेर्नु हुँदैन। विदेशमा कमिसनको दर जिरो छ भनेर पनि हेर्नु भएन। कुनै 

यसलाई कसरी हेर्नु पर्छ भन्ने लाग्छ भने मलाइ, एक चोटी घटिसकेको कमिसन बढ्दैन। कसैले पनि कमिसन बढाउ भनेर आवाज उठाउँदैन र कसैले बढाउने आट पनि गर्दैन। यो निर्णय लिँदा खेरि  एउटा लामो टाइम फ्रेम चाहिन्छ।

एउटा मार्केट साइकल नै हेरेर निर्णय गरे अझै राम्रो। मार्केट साइकल लामो देखिए एक वर्ष वा दुई बर्षको कारोबार भोल्युम हेरेर गरे झनै राम्रो। अर्को तर्फबाट हेर्दा ५० वटै ब्रोकरलाई हेर्नु पर्छ। दुई चार वटाले कमाएको देखिन्छ। तर त्यसमा धेरैको अवस्था उनीहरूको जस्तो नहुन पनि सक्छ। अर्को कुरा लगानीकर्ताले पैसा तिरेपछि सेवा पनि पाउनु पर्छ। त्यो सेवाको गुणस्तर बृद्धि गर्न हामीले ठूलो लगानी गर्दै छौ। कर्मचारीमा खर्च बढाउँदै छौ। प्रविधिमा लगानी बढाउँदै छौ। पूँजी बढाउँदै छौ। रकम तिरेर राम्रो सुबिधा पाइन्छ भने लगानीकर्ताले यसलाई त्यति विरोध गरिरहनु पर्छ भन्ने मलाई लाग्दैन।

थोरै कमिसन हुने तर सेवा केही पनि नहुने भयो भने त्यसले पनि केही अर्थ राख्दैन।

अन्तर्राष्ट्रिय अभ्यासमा टु इन वान ब्रोकर र थ्री इन वान ब्रोकरको प्रचलन  छ। थ्री इन वान ब्रोकरले क्लाइन्टको पैसा प्रयोग गर्दैन। उसले कारोबार राफसाफ हुने बेलामा लगानीकर्ताको खाताबाट पैसा झिक्छ र राफसाफ गरिदिन्छ। त्यसमा ब्रोकरलाइ केही पनि लाभ हुँदैन। तर यस्ता ब्रोकर कम्पनीको कमिसन दर ४० पैसा देखि ५० पैसा (ब्रोकर कमिसन मात्रै) हुने गर्छ।

टु इन वान भनेको ब्रोकरको खातामै लगानीकर्ताले पहिले नै पैसा पठाउनु पर्छ। बेचिसकेपछि पनि आफूलाई चाहिएको बेलामा अनुरोध गरे पछि २४ घण्टा भित्रमा मात्रै पैसा पाइने गर्छ। यस्तो ब्रोकर कम्पनीको कमिसन भारतमा जिरो पनि देखिन्छ। तर भारतमा त्यही ब्रोकरले सबैभन्दा बढी कमाउँछ । कसरी भन्दा उसले लगानीकर्ताको पैसाबाट आउने व्याज मार्फत कमाउँछ।

हाम्रो देशमा भएको ब्रोकर टु इन वान ब्रोकर हो। तर अन्तर्राष्ट्रिय टु इन वान ब्रोकर र नेपालको टु इन वान ब्रोकरमा के फरक छ, भने उनीहरूकोमा टु इन वान ब्रोकरले लगानीकर्ताको पैसा हमेसा चलाउँछ।तर नेपालमा ब्रोकरको पैसा लगानीकर्ताले सधैँ चलाइरहेको अवस्था छ। हामीले बैँकबाट ठूलो ओडी लिएका छौ। त्यो ओडी  लिन हामीले हाम्रो जायजेथा राखेका छौ। व्याजमा लिएको त्यही पैसा हरेक दिन कारोबार राफसाफमा प्रयोग भइरहेको छ। यो भिन्नता पनि हेर्नु पर्छ।

त्यो सँगै अन्तर्राष्ट्रिय बजारको साइज पनि हेर्नु पर्छ।त्यहाँ हुने कारोबार भोल्युम हेरौँ। त्यहाँका ब्रोकरले दिने सेवामा विविधता छ।

तै पनि धितोपत्र बोर्डले अद्ययन गरिसकेकाे छ। त्यसमा यी सबै कुरा हेर्नु पर्छ। उहाँहरुले हामीलाई पनि बोलाउने भन्नु भएको छ। सबै बसेर छलफल गरेर निचोडमा पुग्न सकिन्छ। अझै पनि मलाई लागेको कुरा कमिसन घटाउने बेला भएको छैन।

बजार बिस्तारको बहस अहंम छ। त्यसकालागि ब्रोकर कम्पनीले दूर दराज सम्म पनि सेवा दिनु पर्छ।बैकका सहायक कम्पनीले पनि ब्रोकर सेवा दिने भन्दै छन्। तर त्यसको विरोध तपाईहरू नै गर्दै हुनुहुन्छ ?

जसरी भएपनि बजार बिस्तार हुनु पर्छ भन्ने हाम्रो मान्यता हो। आस्वा आएपछि प्राथमिक बजार हरेक कुनामा पुग्यो। लगानीकर्ताको हातमा शेयर थमाइएको छ। तर त्यसलाई क्यासमा परिवर्तन गर्न दिएका छैनौ। नगदलाई शेयरमा परिवर्तन गरिदिएको छ। अब त्यो शेयरलाई पुन: नगदमा सजिलै परिवर्तन गर्न पाइएको छैन। त्यो हुनु पर्छ। त्यसमा कुनै अब्जेक्सन होइन।त्यसमा हामी कहिले पनि बाधक छैनौ।

हामीले सबै क्षेत्रमा जान शाखा बिस्तारको निवेदन दिएका छाैं । अहिलेको प्रावधान अनुसार सबै गाउँमा ब्रोकर अफिस खोल्न सक्ने अवस्था हुँदैन। त्यसको लागि हामीलाई सब ब्रोकर दिनुहोस्। प्रतिनिधिको व्यवस्था गरिदिनुहोस् भनेर मागिरहेकै छौ।

यस्तो अवस्थामा बैंक आउने कुरा छ। बजार बिस्तारको कुरा छ। तर बैकले पनि त्यो काम गर्ने होइन। बैकको सहायक कम्पनीले गर्ने हो। उसले पनि गाउँमा शाखा खोल्न सक्दैनन्। उसले पनि गर्ने त्यही हो। बैकलाई ब्रोकर दिने तर उनीहरूले काठमाण्डौमै सेवा दिने हो भने किन चाहियो थप ब्रोकर ? अहिले ५० वटाले उपत्यकामा सेवा दिएकै छन्।

अर्थ समितिले पनि केही विषयको उठान गरेको छ। ती विषयलाई सम्बोधन गरेर अघि बढ्ने भन्ने निर्देशन धितोपत्र बोर्डलाई भएको छ। बोर्डले त्यसमा गृह कार्य गरिरहेकै होला।  

तपाइले प्रतिनिधि मोडलको कुरा गर्दा पछिल्लो समय सदनमा पेश भएको धितोपत्र ऐनबाट यो प्रावधान नै काटिएको छ नि ?

त्यो दर्ता भएको मस्यौदा हो। त्यसमा छलफल हुने,संशोधन पर्न सक्ने प्रशस्त सम्भावना छ।त्यो बिचमा धितोपत्र बोर्डको नेतृत्व पनि परिवर्तन भयो। बोर्डको नेतृत्वले पनि निकै असर राख्छ।पहिलाको नेतृत्वलाई त्यो लागेको हुन सक्छ। नयाँ नेतृत्वलाई त्यही मोडल ठिक हो भन्ने लागेको पनि हुन सक्छ। 

कुनै कुनै बेला ब्रोकर कम्पनीलाई ओपन इन्ट्री र ओपन एक्जिटको सुविधा दिनु पर्छ पनि भनिन्छ नि ?

ओपन इन्ट्रि र ओपन एक्जिट चाहिँ कहाँ सम्भव हुन्छ भने विशाल मार्केट भएको देशमा । कुन कुन देशमा यो व्यवस्था छ भनेर हेर्‍यो भने त्यो देखिन्छ। जहाँ ठुलो बजार छ। त्यही मात्रै यी व्यवस्था छन्। जहाँ ब्रोकरले दिने सुबिधा धेरै छन्। त्यो मार्केटहरूमा ओपन इन्ट्री र ओपन एक्जिटको व्यवस्था छ।

हाम्रो हेर्ने हो भने भारतको एक सूचिकृत कम्पनी जत्रो पनि बजार छैन। अहिले ब्रोकरले दिँदै आएको सेवामा इक्युटी ब्रोकिङ मात्रै छ। यो अवस्थामा ओपन इन्ट्री र ओपन एक्जिट व्यवस्था ठिक होइन। अहिलेको अवस्थामा गइहाल्ने बेला भएको छैन।            

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।