नेप्सेमा सूचीकृत कम्पनीहरुले वर्षदिन कमाएको नाफाबाट यतिबेला धमाधम लाभांश घोषणा गरिरहेका छन् । करिव एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुले लाभांशको घोषणा गरिसकेका छन् । ती मध्ये केही बैंक तथा वित्तीय संस्थाले त वार्षिक साधारणसभा गरेर पनि लगानीकर्ताको बैंक खातामा रकम राखि दिन थालका छन् ।
वार्षिक साधारणसभा गरिसेकेका कम्पनीले लाभांश दिन थालेका कारण बैैंकबाट एसएमएस सुविधा लिएका लगानीकर्ताको मोबाइलमा घन्टी बज्न थालिसकेको छ । अहिलेसम्म माछापुच्छे, सानिमालगायतका बैंकले वार्षिक साधारणसभा गरिसकेको र ती बैंकले लगानीकर्ताको खातामा रकम राखि दिन थालेकाले लगानीकर्ताको मोबाइलमा घन्टी बज्न थालेको हो ।
सिटिजन्स, एनआइसी एशिया, कुमारीलगायतका बैंकले पनि वार्षिक साधारणसभा यही महिनामा गर्दै छन् । उनीहरुले पनि अर्को महिनाभित्रमा लगानीकर्ताको मोबाइल घन्टी बजाउँदै छन् ।
पुस महिना भित्रमा वार्षिक साधारणसभा गरिसक्नु पर्ने भएको र वार्षिक साधारणसभा पुसमा सकाउने सूचीकृत कम्पनीले माघ महिना भित्रमा लाभांश लगानीकर्ताको बैंक खातामा हालिसक्ने भएकाले पनि माघ महिनामा लगानीकर्ताको मोबाइलमा बढी घन्टी बज्ने गर्छ ।
यतिबेला धेरैजसो कम्पनीले लाभांशको प्रस्ताव नगरेकाले ती कम्पनीले उच्च लाभांश दिने अपेक्षा गर्दै लगानीकर्ताले धमाधम शेयर किन्दै छन् । अहिले लगानीकर्ताहरु लाभांश घोषणा गरिसकेका कम्पनीको लाभांश बुक गर्न र लाभांश वितरण गरि नसकेका कम्पनीबाट उच्च लाभांश प्राप्त गर्ने अपेक्षा गर्दै शेयर खरिद गरिरहेका छन् ।
यही कारण शेयर बजारमा नेप्से पछिल्ला दिनमा उच्च अंकले बढेर १८७४ अकं भन्दा माथि पुगेको छ । कारोबार रकम पनि दैनिक करिव ७ अर्ब हुन थालेको छ ।
लाभांश घेषणा नगरेका कम्पनीको शेयर लगनीकर्ताले उच्च लाभांश पाउने अपेक्षा गदै खरिद गरिरहेका छन् । बम्पर लाभांश घोषणा गर्न सक्ने सम्भावना भएकाले लगानीकर्ताको नजर ती कम्पनीमाथि गएको स्टक ब्रोकरहरु बताउँछन् ।
धेरैजसो माइक्रोफाइनान्स, बीमा कम्पनीले पनि अहिलेसम्म लाभांश घोषण गरेका छैनन् । बम्पर लाभांशको आशाले लगानीकर्ताले ती कम्पनीको शेयर खरिद गरिरहेका छन् ।
लाभांश वितरण गरिनसकेका कम्पनीको शेयर मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । शेयर मूल्य पनि आकासिनुमा लाभांशको हात रहेको ब्रोकरको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थको लाभांश घोषणा, बुक क्लोज, वार्षिक साधारण सभाको चटारो भइरहँदा बीमा कम्पनीहरुको भने अहिलेसम्म कुनै चहलपहल देखिएको छैन ।
अधिकांश बैंक तथा वित्तीय संस्थाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्दैछन् । तर बीमा कम्पनीका लगानीकर्ता भने अझै पनि लाभांश घोषणाकै पर्खाइमा रहेका छन् ।
नियम अनुसार, चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र (पुससम्म) मा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेर साधारणसभा गरिसक्नु पर्छ । तर, उक्त समय नजिकिदै गर्दा पनि बीमा कम्पनीले भने साधारणसभा गर्ने तयारीमा देखिएका छैनन् ।
बीमा कम्पनीहरुले नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न समय लगेकाले साधारणसभा ढिला भएको बताइरहेका छन् ।
एनएफआरएस अनुसार बीमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्न सकेका छैनन् । जसका कारण लाभांश प्रस्ताव र साधारणसभा बोलाउनमै ढिला भइरहेको नियमनकारी निकाय बीमा समितिको भनाइ छ ।
नेपालमा बीमांकीय मूल्यांकन गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको र छिमेकी मुलुक भारतमा लगेर यसको मूल्यांक गर्नुपर्ने बाध्यता बीमा कम्पनीहरुमा रहकाले साधारणसभा ढिला हुन गएको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
उच्च लाभांशको आशामा लगानीकर्ताले बीमा कम्पनीको शेयर खरिद गरिरहेका छन् । बीमा कम्पनीको शेयर बढेका कारण नेप्से पनि उकालो लाग्न पुगेको छ ।
शेयर बजार निरन्तर उकालो लागेपछि लगानीकर्ताले हौसिएर छन् । लाभांश वितरण गर्न बाँकी रहेका कम्पनीको शेयर लगानीकर्ताले खरिद गरिरहेका छन् भने लाभांशको प्रस्ताव गरेका कम्पनीको पनि लाभांश भित्र्याउने अनेक तरिका अपनाउँदै छन् ।