१० लाख आवेदकले इन्फ्रास्ट्रक्चर बैंककाे आइपिओ भरे भने १०० कित्ताको दरले पनि दिन पुग्दैन : पाण्डे

Jan 01, 2021 05:40 PM Merolagani

अहिलेसम्मकै ठूलाे आइपिओ जारी गर्ने तयारी गरिरहेकाे नेपाल इन्फ्रास्ट्रक्चरमा बैंक (निफ्रा) काे बारेमा सर्बसाधारणकाे समेत चासाे बढ्न थालेकाे छ। ४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले धिताेपत्र बाेर्डबाट आठ अर्बको आईपिओ बिक्री गर्ने अनुमति पाएपछि कम्पनीकाे बारेमा जानकारी लिनेहरू बढ्न थालेका छन् ।

यातायात, सडक, विमानस्थल निर्माणजस्ता पूर्वाधारका क्षेत्रसहित कृषि, उर्जा, पर्यटन, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधिजस्ता ठूला लगानीका क्षेत्रमा बैंकले लगानी गर्नेछ ।

नेपाल इन्फ्रास्टक्चर बैंक, यसका लगानीका क्षेत्र, उद्देश्य र प्राथमिकता, निकट भविष्यमै जारी हुन लागेकाे आईपिओ लगायतका बिषयमा मेराे लगानीका उप सम्पादक सुवास निराैलाले बैंक नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेसँग कुराकानी गरेका छन् । 

सबैभन्दा पहिले यो बैंक नेपालको लागि नौलो अभ्यास हो। यसको आवश्यकता किन पर्‍यो? अरू बैंक भन्दा यसमा के फरक छ? 

२०७५ माघ २८ गते हामीले नेपाल राष्ट्र बैंकबाट बैक सञ्चालनको अनुमति पत्र पाएका हौं। ७५ फागुन १९ गते बैंकको औपचारिक उद्घाटन गरिएको हो। 

यो बैंक खोल्नु भन्दा पहिले यसका संस्थापकहरूले गरेकाे अद्ययनमा नेपालमा सबैभन्दा बढी लगानी गर्नुपर्ने क्षेत्र भनेकै इन्फ्रास्ट्रक्चरमा देखियो। ती सबै क्षेत्र जसको सम्भावना नेपालमा धेरै देखिन्छ, त्यसमा लगानी पनि ठूलै हुन्छ। जस्तै नेपालमा जलविद्युतको सम्भावना छ, त्यसमा ठूलो लगानी र समय लाग्छ। त्यस्तै टुरिज्म सेक्टरमा ठूला ठूला होटेल, रिसोर्ट,पार्क चाहिएको छ। पूर्वाधारमा बाटो, सेवामा अस्पताल, स्कुल र उद्योगमा ठूला ठूला उद्योग पर्लान्। यी सबै कुराको अध्ययन गरियो। 

नेपालमा यसको आवश्यकता,औचित्यता र सम्भावना विषयमा अध्ययन गरिसकेपछि त्यसको आवश्यकता छ भन्ने सबैलाई महसुस भयो। पूर्वाधारका क्षेत्रमा मात्रै लगानी गर्ने गरी एक बैंक स्थापना गर्ने निष्कर्षमा नेपाल सरकार लगायत हाम्रा संस्थापकहरू पुगिसकेपछि यसलाई बजेटमा राखियो। सरकारको अग्रसरतामा यो बैंक स्थापना भएको हो। यसमा १० प्रतिशत नेपाल सरकारको लगानी छ भने बाँकी लगानी पाँचवटा वाणिज्य बैंक लगायत संस्थापकहरुको छ। यो बैंक पब्लिक प्राइभेट मोडलमा स्थापना भएको हो। 

अरू बैंक र यो बैंकमा के फरक छ भन्दा नेपाल राष्ट्र बैंकले यसको वर्गीकरण विशिष्ट खालको गरेको छ। यो बैंकलाई 'क' 'ख' 'ग' कुनै पनि वर्गमा नपर्ने गरी यसको छुट्टै अस्तित्व मानेको छ। यो बैंकलाई  पनि १९ वटा क्षेत्र तोकेर लाइसेन्स दिइएको छ। लगानी गर्ने क्षेत्र र त्यो लगानीका लागि स्रोत कहाँ कहाँ बाट जुटाउने भनेर राष्ट्र बैंकले नै तोकिदिएको छ। 

अरू वाणिज्य बैंकले गर्ने काम र हामीले गर्ने काम, अरू बैंकले जुटाउने स्रोत र हामीले जुटाउने स्रोतको मोडल बिल्कुलै फरक छ। अरू वाणिज्य बैंकले जस्तो हामीले चल्ती खाता, बचत खाता खोल्दैनौँ। हामीले फिक्स डिपोजिट मात्रै लिन्छौ। फिक्स डिपोजिट पनि इन्सिटिच्युसनल इन्भेष्टरको लियौँ भने पनि पाँच वर्ष, पाँच करोड भन्दा माथि लिन्छौ। व्यक्तिगत तर्फ पनि एक करोड, पाँच वर्ष भन्दा माथिको लागि मात्रै लिन्छौ।

लङ टर्म रिसोर्सलाई लङ टर्म एसेटमा लगानी गर्न सकियोस् भन्ने उद्देश्य हो। फेरि हामीले लगानी गर्ने क्षेत्र भनेकै पूर्वाधारका क्षेत्र हुन्। त्यसको अबधि नै १० देखि १५ वर्षको हुन्छ। जस्तै हाइड्रोपावरलाई लिनु हुन्छ भने ३/४ वर्षको मोराटेरियम पिरियडदेखि १२ /१३ वर्षको रि-पेमेन्टको समय  हुन्छ। भनेपछि १५/१६ वर्ष लाग्छ। नर्मल कन्डिसनमा प्रोजेक्ट सकिन ३/४ वर्ष लाग्छ। यहाँ त कष्ट ओभर रन, टाइम ओभर रन भइरहेको हुन्छ। किनकि अहिले देखिएको कोभिडलाई नै लिउँ, बेला बेलामा आउने पोल्टिकल अनरेष्ट हुन सक्छ। त्यसकारण हाम्रो जस्ता संस्थालाई यसको काम गर्ने नेचर अनुसार लगानीको क्षेत्र तोकिदिएको हो। 

हामीले काम गर्ने क्षेत्रमा इनर्जी भनिएको छ। त्यसमा हाइड्रो होला, सोलार छ, टुरिजम भनेको छ। त्यसमा होटेल होला, रिसोर्ट पर्छ, केबलकार लगायत पर्ला। अरबान इन्फ्रा भनेको छ, जसमा स्मार्ट सिटीहरू बनाउनु पर्‍यो। सोसियल इन्फ्रा, त्यसमा हस्पिटल स्कुलहरू पर्छन्। हाम्रो नेचर नै इन्फ्रासँग रिलेटेड भएकोले हामीले लगानी गर्ने क्षेत्रको लगानी लङ टर्मको हुने भएकोले हामीले लिने निक्षेप पनि लङ टर्मकै लागि लिने गरिएको हो।  

पब्लिक प्राइभेट पार्टनरसीप अनुसार हामी अघि बढेका छौं। यसलाई पब्लिकको बढी बनाउनुपर्‍यो भन्ने हाम्रो उद्देश्य हो। १० प्रतिशत सरकारको भयो, ४० प्रतिशत चाहिँ हामी पब्लिकमा जान लागेका छौ। अर्को ५० प्रतिशत चाहिँ अर्को बैंकहरु र कर्पोरेट हाउसहरूले लिएका छन्। ६० प्रतिशत संस्थापकहरूले हालेका छन् भने ४० प्रतिशत अर्थात् आठ अर्ब पब्लिकबाट उठाउँदै छौ। हाम्रो २० अर्ब रुपैयाँको चुक्ता पूँजी हो।

 पछिल्लो १८ महिनामा तपाईहरूले के के गर्नु भयो ?

गएको १८ महिनामा हामीसँग १२ अर्ब रुपैयाँको क्यापिटल थियो। गएको दुई वर्ष हामीले त्यसलाई केही बैंक निक्षेपमा राख्यौ केही इन्भेस्टमेन्ट पनि गर्‍यौ। हामीले गएको १८ महिनामा सातवटा प्रोजेक्टमा लगानी गरेका छाैं। अहिले हाम्रो सातवटा प्रोजेक्टमा आठ अर्ब ३५ करोडको लोन एप्रुभ भएकाे छ। जसमध्ये एक अर्ब १२ करोड रुपैयाँ आउट स्ट्यान्डिङ छ। एउटा प्रोजेक्टलाई हामीले फिक्स इन्ट्रेस्ट रेटमा टेक ओभर गर्याैं। 

प्राेजेक्ट टेक ओभरकाे कुरा पनि रोचक लाग्न सक्छ। कसरी नेपालमा यो बैंकको आवश्यकता पर्‍यो भन्ने पनि यसले पुष्टि गर्छ। कसरी नेपालमा प्रोजेक्टहरू अप्ठ्यारोमा परेका छन् भन्ने पनि यसले देखाउँछ।

हामी पाँच वर्षभन्दा बढी अवधिको डिपोजिट लिन्छौ भने त्यति नै वर्षको लागि प्रोजेक्टमा लगानी पनि गर्छौ। हामीले लिने र दिने ब्याजदर स्थिर हुन्छ। यस्तो ब्याजदर भनेको हाइड्रोपावरको प्रोजेक्टको लागि सबैभन्दा उत्तम  हुँदोरहेछ। 

नेपालमा सबैभन्दा बढी उतार चढाव हुने भनेकै ब्याजदर हो। हाइड्रोपावरलाई वा अरू कुनै पनि प्रोजेक्टलाई सबैभन्दा बढी असर गर्ने भनेकै फल्कुचुएट हुने ब्याजदरले हो। प्रोजेक्ट शुरु हुँदा साढे आठ प्रतिशत लोन लिएको हुन्छ, सकिन लाग्दा ब्याजदर १४ प्रतिशत पुगिसक्छ। हाइड्रोपावरको रेभिन्यु फिक्स छ। किनकि पिपिए रेट फिक्स छ। इन्ट्रेस्ट बियर गर्न नसकेर त्यो प्रोजेक्ट अघि बढ्न नसकेको देखिन्छ। त्यसैले गर्दा रि-पेमेन्टको समय १० देखि १६ वर्ष हुँदै गएका रहेछन्।

तर हामी अहिले नै त्यो प्रोजेक्टमा लाग्ने फण्डको हिसाब गर्छौ। त्यही अनुसार फण्ड म्यानेज गर्छौ। त्यति नै अवधिको लागि स्थिर ब्याजदरमा ऋण दिन्छौ। त्यसले गर्दा उनीहरूका लागि हामी फाइदाजनक हुन्छाै। त्यही भएर त्यो प्रोजेक्टले हामीलाई एप्रोच गर्‍यो अनि टेक ओभर गर्नुपर्ने अवस्थामा आइपुगेको हो।

हामीले भर्खरै गरेको एउटा प्रोजेक्ट पनि त्यस्तै छ। 

भनेपछि  स्थिर ब्याजदरलाई बढी प्राथमिकतामा राख्नु हुँदो रहेछ। तपाईँहरूले दिने स्थिर ब्याजदर र लिने ब्याजदर कति हो? 

अहिले त हामीले मार्केटमा जति रेट चलिरहेको छ,त्यही रेटमै उठाउने हो। खासमा अहिले नै पैसा उठाइ हाल्नुपर्ने अवस्था पनि आइसकेको छैन। तर हामी बैंकले जस्तो डिपोजिट उठाउन जाने नै होइन। हामीले त प्रोजेक्टको बण्ड, डिबेन्चर इस्यु गर्ने हो। 

त्यो पेन्सन फण्ड र लाइफ इन्स्योरेन्स कम्पनीको फण्डलाई टार्गेट गरेर। किनकि उनीहरूको लायबिलिटि कम्तीमा १५ देखि २० वर्षको हुन्छ। जस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष। उनीहरूसँग भएको फण्डको लायबिलिटि २० वर्षको छ। तर एसेट चाहिँ दुईदेखि पाँच वर्षको लागि राखिएको छ।

यसलाई एसेट र लायबिलिटिजको मिसम्याच भन्छ। मार्केटमा जुन ब्याजदर चलेको छ त्यहीमा राख्नुपर्‍यो। हिजो १० प्रतिशतसम्म थियो, आज आएर तरलता बढी भएर ६ प्रतिशत पनि नपाउने स्थिति छ। तर उता २० वर्षको लायबिलिटिज छ। हो यस्ता फण्डहरूलाई हामी प्रोजेक्ट कै बण्डहरु इस्यु गर्ने भन्ने योजनामा छौ। 

भनेपछि बण्ड इस्यु गर्ने स्थितिमै  पुगिसक्नु भएकाे हो ?

निफ्राले २० अर्बको बास्केट फण्ड बनाउन लागेको छ। त्यो २० अर्बको बास्केटमा हामीले कोही फण्ड म्यानेजर अनुबन्धन गर्छौ। त्यो फण्ड कलेक्सन हुन्छ। त्यो फण्ड यस्तै लामो समयको लायबिलिटिज  हुने फण्डहरुलाई टार्गेट गरेर ल्याउने हो। किनकि उनीहरूले सधैँ परिवर्तित भइरहने ठाउँमा पैसा राख्नु भन्दा जति अवधिको लायबिलिटिज छ त्यति नै अवधिको फण्डमा लगानी गर्दा उनीहरूलाई फाइदा हुन्छ। यसाे गर्दा लायबिलिटिज र एसेटको मिस म्याच हुँदैन ।

तर यतिबेलाको स्थितिमा कसैले पनि फिक्स्ड डिपोजिट लिँदैन। किनकि तरलता पर्याप्त छ। यो भन्दा अघि १० प्रतिशत वा १२ प्रतिशत ब्याजदर हुँदा हामीले किन फिक्स डिपोजिट लिएनौं भने अहिलेकै अवस्था आउँछ भनेर हो। हाम्रो काम गर्ने नेचर लङ टर्म को हुन्छ। त्यसैले आउने २० वर्षको कल्पना गर्दै हामी योजना बनाउँछौ। जसमा बास्केट फण्डको योजना बनेको हो।

तर यति भन्दा भन्दै पनि यसमा पनि रिटर्न त गर्नुपर्छ। चाहे धेरै होस् वा थोरै, लगानीकर्ताले धेरै भन्दा धेरै रिटर्न पनि त खोज्छ नि। लगानीकर्तालाई समाज सेवा वा पूर्वाधार बिस्तारमा के इन्ट्रेस्ट होला र ?

हो, तपाईले यहाँनेर सही कुरा उठाउनु भयो। इन्भेष्टरमा जहिले पनि बढी रिटर्न खोज्ने प्रवृत्ति हुन्छ। तर त्यस्तोलाई पनि हामीले सोचेका छौं। बण्ड त अहिले पनि जारी भएका छन्। अरू बण्ड र हाम्रो बण्डमा  के फरक गर्ने हाम्रो योजना छ भने, मानिलिनुस् इन्फ्राले जारी गरेको कुनै १० बर्षे बण्डमा उसले लगानी गर्‍यो। त्यो बण्डबाट उठेको पैसाले कुनै प्रोजेक्ट बनाउदै छौं भने त्यसमा उसलाई ओनरसिप दिने। उसले किनेको बण्डको निश्चित प्रतिशत पैसालाई त्यो प्रोजेक्ट शुरु भएपछि वा उसको बण्ड म्याच्योर्ड भएपछि त्यही बण्ड मार्फत लगाएको पैसालाई शेयरमा कन्भर्ट गरिदिने।

त्यसले पैसा लगाउनेलाई दुईवटा फाइदा हुन्छ। एक, उसले निश्चित वर्षसम्म व्याज पाउँछ। अर्को त्यही प्रोजेक्टको शेयर पनि पाउँछ। उसले त्यो मार्केटमा बेचेर थप क्यापिटल प्राप्त गर्न सक्छ। त्यही कारण यो बण्डमा अरूको भन्दा इन्भेष्टरलाई बढी फाइदा हुन्छ। 

अहिलेसम्म कुनै पनि बण्ड इक्युटिमा कन्भर्सन हुने प्रावधान नै छैन। यो कसरी सम्भव छ?

यो अहिले नै भइसकेको अवस्था होइन। यो हाम्रो बिजनेस प्लान हो। यही मोडलमा हामी अघि बढ्दै छौ। त्यसैको लागि रेगुलेटरसँग छलफल गरिरहेका छौ। यो मोडलमा जान कहाँ-कहाँ अप्ठ्यारो छ, हामीले कुरा गरिरहेका छौ। जस्तै: नेपाल धितोपत्र बोर्डमा होला, नेपाल राष्ट्र बैकमा होला। हामीले उहाँहरुलाई कन्भिन्स गरिरहेका छौ । 

डिबेन्चरको कारोबार शुरु भएको धेरै भयो। किन दोस्रो बजारमा आकर्षण छैन? विश्व बजारमा धेरै कारोबार हुने बण्ड मार्केट नेपालमा किन फस्टाउन सकेन? यसको उत्तर यही हो। व्याजको लागि मात्रै बण्ड किन्ने दिन छैनन् अब। कन्भर्सन बण्डहरु नै विदेशमा पनि बढी खरिद बिक्री हुने हुन्। किनकि आफूले कमाएको पैसाले बण्ड किन्दा त्यसले दिने प्रतिफल पनि आउने अन्तिममा प्रोजेक्ट मालिक पनि हुन पाइने आशमा बण्ड खरिद बिक्री हुन्छन्। 

हाम्रोमा पनि यस्ता बण्ड बढी भन्दा बढी जारी हुनुपर्छ। ती क्यापिटल मार्केटमा ट्रेडेबल पनि हुनुपर्छ । अनि मात्रै क्यापिटल मार्केटको विकास सही मानेमा भएको मानिन्छ। अनि मात्रै क्यापिटल बढी चलायमान हुन्छ।

यही कुरा हामीले बुझाउने प्रयास गरिरहेका छौ। सायद यो कुरा राष्ट्र बैकले र अर्थ मन्त्रालयले पनि बुझेकै छ। त्यही भएर त सरकारले आफूले १० प्रतिशत शेयर राखेर यो बैंकको परिकल्पना गरेको हो नि।

तपाईहरूले स्थापनाकै समयमा विदेशमा बण्ड जारी गर्ने र त्यहीको स्टकमा बण्ड लिस्टिङ गर्ने अनि त्यो पैसा नेपालको विकासमा लगाउने घोषणा गरेको पनि धेरै भयो। त्यो कुरा अहिलेसम्म पुरा हुन सकेको छैन नि  ?

हामीले भनेकै हो। हामी त्यो कुरामा लागि नै रहेका छौं। त्यो विषय अहिले पनि निरन्तर प्रक्रियामा छ। हामीले राष्ट्र बैकसँग निरन्तर संवाद गरिरहेकै छौ। केन्द्रीय बैंकले हामीलाई अप्रुबल पनि दिईसकेको छ। जतिखेर हामीले त्यो रकम विदेशबाट ल्याउने भनेका थियौ, त्यतिबेला मार्केटमा इन्ट्रेस्ट रेट हाई थियो। त्यतिबेला हामीले सस्तोमा ल्याउने प्रयास गरेका थियौ। तर यतिबेला ठिक उल्टो भएको छ। किनकि हाम्रै बजारमा तरलता फालाफाल छ। तरपनि हामी प्रोसेसमै छौ।

यसलाई यसरी बुझ्दा हुन्छ, अहिलेको फालाफाल तरलता र घट्दो ब्याजदरले त्यो योजना पछि सर्‍यो? 

अहं हुँदैन।  हाम्रो बैंकको उद्देश्य भनेको आन्तरिक बजारबाट मात्रै पैसा उठाएर यही परिचालन मात्रै गर्ने होइन नि। यो पैसाको कस्टसँग यसको कुनै मतलब हुँदैन। अहिले त्यो पैसामा नाफा पनि हेरेका छैनौ। निफ्राको बण्ड इस्यु गरे विदेशी इन्भेष्टरले पैसा हाल्छन्। निफ्रालाई कसैले ग्यारेन्टी दिन्छ। हाम्रो बण्ड चाहिँ लन्डन स्टक एक्सचेन्जमा लिस्ट हुन्छ। निफ्राको बण्ड लन्डन स्टक एक्सचेन्जमा किनबेच हुँदा नेपालको बारेमा संसारलाई थाहा हुने भयो। अहिले ल्याउने भनिएको तीनदेखि पाँच अर्ब रुपैयाँलाई राम्रो चलेको प्रोजेक्टमा ल्यान्डिङ गर्न सक्यौ भने त्यसले आउने दिनमा पाँच अर्ब मात्रै होइन ५० अर्ब आउने बाटो खोल्छ। हाम्रो टार्गेट चाहिँ त्यो हो। त्यसकारण यो ट्रान्जेक्सनले हाम्रो प्रफिट भन्दा पनि सम्भावनाको नयाँ ढोका खोल्ने हो। 

त्यसो भए यो प्रक्रिया कहिले सम्म सकिन्छ ?

हाम्रो टार्गेट भनेको सन् २०२१ को पहिलो क्वाटरदेखि दोस्रो क्वाटरको बीचमा गरिरहेका छौ। तर राजनीतिक अस्थिरता र कोभिडको कारणले केही ढिलाई भइरहेको छ। 

हामीले बनिरहेको प्रोजेक्टलाई पनि टेक ओभर गर्न सक्छौ ?

सक्छौ। अहिले हामीलाई केही निश्चित क्षेत्र तोकिदिएको छ। संसारमा जहाँ पनि हेरियो भने हाम्रो जस्तो नेचर भएको बैंकले रि-फाइनान्स गर्ने हो। बाहिरबाट देशमा पैसा ल्याउनुपर्छ। त्यही भएर हामीले यो रटान लगाइरहेको हो। उसले बनिरहेको प्रोजेक्टमा पैसा दियो भने त बाहिरबाट पैसा आयो नि। कुनै बैंकले गरेको प्रोजेक्टलाई हामीले रि-फाइनान्स गर्‍यौ। त्यो रि फाइनान्स गरेको पैसाले त अर्को प्रोजेक्ट बन्छ। देशमा अर्को पूर्वाधार बन्छ। हामीले इको सिस्टम क्रिएट गर्ने हो।

बुढीगण्डकी जस्तो प्रोजेक्टलाई पनि गर्न सक्ने सम्भावना हुन्छ ?

हुन्छ, किन नहुनु । त्यो त झन् सरकारको प्रोजेक्ट हो। हामीलाई दिएको म्यन्डेडमा पर्छ भने गर्न नसक्ने भन्ने कुरै हुँदैन। अहिले हामीले अपर तामाकोशीमा पनि कहीँ कतै स्पेस छ कि भनेर त्यहाँ पनि एक्सरसाइज गरेकै हो। सरकारको स्टेक भएको बैंक भएकोले सरकारको प्रोजेक्टमा त झनै उत्साही भएर गर्न जरुरी नै छ।

सबैभन्दा ठूलो आईपिओ ल्याउँदै हुनुहुन्छ। यसको सम्भावना कस्तो देख्नुहुन्छ ? 

यतिबेला हामी आठ अर्बको आईपिओ ल्याउँदै छौ। यतिबेला शेयर बजार बढेको बेला पनि छ। त्यस कारण हाम्रो आइपिओ सबै बिक्री हुन्छ भन्नेमा हामी विश्वस्त छौ। 

नेपालको शेयर बजार खुबै बढ्यो भनेको सुनिन्छ। तर मलाई लाग्दैन नेपालको शेयर मार्केट धेरै बढेको छ भनेर। कति नै बढेको छ नेपालको शेयर बजार? यतिबेला भर्खर दुई हजारको आसपासमा छ। प्रविधिले शेयर बजारमा यस्तो फड्को मारेको अवस्था छ भने घरमा बस्ने हाउस वाइफले पनि मजाले कारोबार गर्न सक्ने स्थिति बनाइदिएको छ। डिम्याट खाता नै २३ लाख पुगिसकेको छ। त्यसमा १० लाखले त आवेदन नै दिन थालेको अवस्था छ। ती १० लाखले आवेदन दिए भने पनि उनीहरूलाई १०० कित्ताको दरले शेयर दिन नपुग्ने निष्काशन हाम्रो छ। किनकि जम्मा हाम्रो आठ अर्बको त हो नि। १० लाखलाई १०० कित्ताको दरले दिनुपर्‍यो भने पनि १० अर्बको इसु चाहिन्छ। यस हिसाबले पनि हाम्रो आइपिओ मजाले बिक्छ भन्नेमा हामी ढुक्क छौं।

फेरि हाम्रोमा लगानी गर्नु भनेको राष्ट्रलाई केही दिनु पनि हो। हामीले जति पनि ठाउँमा लगानी गर्छौ त्यो जनताकै लागि लगानी गर्ने हो। आखिर त्यसबाट राष्ट्रकै सम्पत्ति बढ्ने हो। फेरि त्यो भनेर प्रतिफल नदिने भन्ने हुँदैन। तर हाम्रोमा लगानी गर्नेले पछि रिटर्न बढी पाउँछ।

रिटर्नको कुरा गर्नु भयो, शेयरमा लगानी गर्ने बित्तिकै अर्को वर्षबाट प्रतिफल खोज्न थालिहाल्छन्। कति दिन सक्नुहोला ? 

त्यो त हामीले प्रस्पेक्टसमा नै सार्वजनिक गरिसकेका छौ। शेयर लगानी गर्नु पूर्व आफ्नो लगानी कस्तो कम्पनीमा गर्दैछु भनेर लगानीकर्ताले पहिले नै हेर्नुपर्छ। हाम्रो कम्पनीको शेयर किन्नु पूर्व त्यो हेर्नु होला। किनकि त्यो नहेरी लगानी गर्नु उचित हुँदैन। त्यसमा सुरुको वर्ष आठ प्रतिशत त्यसपछि ६ प्रतिशत भनेका छौ। लगानीकर्तालाई यसको तत्काल भन्दा दीर्घकालीन बढी फाइदा हुन्छ। किनकि हाम्रो बैंकको क्यापिटलको साइज बढ्दै जाँदा, हामीले लगानी गरेका प्रोजेक्ट बढ्दै जाँदा, हामीले निकालेका विभिन्न इन्ट्रुमेण्ट बढ्दै जाँदा कालान्तरमा बिजनेसको नयाँ एभिन्युज खुल्छ।

वर्ल्ड बैकको रिपोर्ट अनुसार पूर्वाधारमा नेपालको भूमिका जीडीपीको ८ देखि १२ प्रतिशत हुन्छ भनिएकाे छ ।आजको नेपालको कम्तीमा जीडीपी ३२ बिलियन डलर छ। त्यस आधारमा वर्षको ३५ बिलियन डलरको आवश्यकता छ। नेपालको बजारमा वाणिज्य बैकहरुले गर्ने ल्यान्डिङ भनेको पाँच सय अर्ब मात्रै हो। साढे तीन सय अर्ब त पूर्वाधारमा मात्रै लगानी छ। यसकारण पूर्वाधारमा स्कोप धेरै छ। त्यसैले यसको ग्रोथको सम्भावना धेरै छ। जसले लगानीकर्तालाई कालान्तरमा बढी फाइदा हुन्छ।

फेरि हाम्रो अपरेटिङ कस्ट छैन। यहाँ हेर्न जरुरी छ। २० अर्ब चुक्ता पूँजी भएको बैंकमा जम्मा ३० जना कर्मचारी छौं। आठ अर्ब चुक्ता पूँजी भएको बैकको एउटै शाखामा यो भन्दा बढी कर्मचारी होलान्। हाम्रो बिजनश बढेर सातै प्रदेशमा ब्रान्च भयो भने पनि एक सय जना भन्दा बढी कर्मचारी  हुँदैनन्। त्यसैले अपरेसन कस्ट थोरै छ। 

अर्को कुरा हाम्रो स्प्रेड जम्मा तीन प्रतिशत छ।

शेयर भर्नेहरूको चासो छ। तपाईरूको धेरै पैसा अहिले पनि निक्षेपमै छ। त्यो किन नघटेको ?

यो ठीक हो। बाहिरबाट हेर्दा यस्तै देखिन्छ। त्यो स्वाभाविक पनि हो, म यसलाई क्लियरिफाई गरिदिन्छु। हामीले एउटा प्रोजेक्टमा लगानी गर्नु पूर्व त्यसका सबै पक्षको अध्ययन गर्छौ। त्यसको लागि कम्तीमा तीन महिनाको समय लाग्छ। त्यो प्रोजेक्ट एप्रुभ भइसकेपछि पनि एकै बैंकले सबै लगानी गर्ने होइन। त्यसमा दुई /तीन वटा बैंक मिल्नुपर्छ। त्यसको लागि पनि हामीलाई समय लाग्छ। १० अर्ब भन्दा माथिका प्रोजेक्टको हकमा कुरा गर्दै छु।

त्यति सबै काम सकिएपछि ७०/३० को इक्युटि हुन्छ। संस्थापकले ३० प्रतिशत, बैंकले ७० प्रतिशत हाल्ने हो। पहिलो शर्त के राखिएको हुन्छ भने संस्थापकले हालेको इक्युटिको ५० प्रतिशत रकम पहिले चलाउनु पर्छ भन्ने हुन्छ। लोन एप्रुभ भएको पहिलो ६ महिनासम्म पनि लोनको पैसा चलाउनै पर्दैन। शुरुमा गरेको खर्च,पछि आएको बिलको आधारमा मात्रै लोनको पैसा शुरु हुने हो। भनेको मतलब एउटा ठुलो प्रोजेक्टमा लोन एप्रुभ भएको सबै पैसा एकै पटक जाने होइन। त्यो पनि जति जति काम सकिँदै जान्छ, त्यति त्यति नै लोनको पैसा चल्दै जाने हो। चार वर्षको प्रोजेक्ट छ भने उसले लिएको ऋणको अन्तिम किस्ता चौथो वर्ष जाने हो। हामीले पछिल्लो समय साढे आठ अर्ब ऋण एप्रुभ गरेका छौ। साढे ६ अर्ब पाइप लाइनमा छ। यो पैसा आउने पाँच वर्षमा सबै जाने हो। त्यही कारण त्यो पैसा हाम्रै खातामा देखिएको हो। तर सरसर्ती हेर्दा हाम्रो खातामा देखिए पनि १४ अर्ब रुपैयाँ गइसकेको हो भन्दा फरक पर्दैन।

एचआइडिसिएल पनि हाइड्रोमै लगानी गर्ने भन्छ,लगानी बोर्ड पनि त्यसैमा बढी फोकस छ। तपाईहरुकाे पनि हाइड्रोमै लगानीको शुरुवात गर्नु भएको छ। खास हाइड्रोमै सबैको रुचि बढी किन देखिएको? यो सेक्टर बाहेक नयाँ क्षेत्रको सम्भावना कम भएको हो नेपालमा ?

हैन, अरू पनि छन्। त्यो बाहेक सोलारमा पनि हामीले लगानी गर्दैछौ। सिमेन्ट इन्डस्ट्रीमा पनि गरेका छौ।होटेल गरेका छौं।भोलि ट्रासपोर्टेसनमामा काम गर्ने योजना छ। फेरि यो क्षेत्रमा निजी क्षेत्रबाट तुरुन्तै लगानी जुटाउन सकिने हुँदैन।त्यसको लागि पनि गर्न सक्ने म्यान्डेड हामीलाई छ। त्यसलाई पब्लिक प्राइभेट पार्टनरसीपमा जानु पर्ने हुन्छ। त्यसको लागि सबै नियम कानुन पनि मिल्ने हुनु पर्‍यो। त्यसकालागि पनि हामी एक्सरसाइज गर्दै छौ।कुनै एयरपोर्टहरू लिजमा लिन सकिन्छ कि भनेर पनि कुराकानी भइरहेको छ।ठुला ठुला पूर्वाधार तयार गर्ने गरी कुरा चलिरहेको छ। स्मार्ट सिटीहरू कतै गर्न सकिन्छ कि भनेर पनि हामी हेरिरहेका छौ।हस्पिटल एरियामापनि हामीले स्पेस छ कि भनेर हेरिरहेका छौ।एक हजार भन्दा बढी विद्यार्थी पढ्ने स्कुल पनि लगानीकोलागि हुन सक्छ कि भनेर पनि हेरिरहेका छौ। सेक्टर चाहिँ हामीले धेरै हेरिरहेका छौ।तर पहिला चाहिँ हाइड्रोपावर किन हेरियो भने यसमा प्रोटेन्सिएल पनि छ। 

ऋण निश्चित प्रोजेक्टमा मात्रै जान्छ। फेरि ठूलो प्रोजेक्ट पनि हुन्छ। ऋणको साइज पनि ठूलो हुन्छ। कुनै ऋण पनि खराब भयो भने बैंक त ठुलो नोक्सानीमा पर्छ नि ?

त्यस्तो हुँदैन। एउटा प्रोजेक्ट साइकलमा एउटा ऋण खराब हुँदैमा बैंक नै डुबी हाल्ने हुँदैन।हाम्रो जस्तो बैंकले कुनै पनि प्रोजेक्टलाई गलत एनालाइसिस गर्नु हुँदैन भन्ने कुरा हो। डामाडोल केही पनि हुँदैन। किन हुँदैन भन्दा  पाँच वर्षमा हाम्रो पनि ब्यालेन्स सिटको साइज बढेर जान्छ नि।हाम्रो पाँच वर्षको टार्गेट नै एक सय अर्ब पुर्‍याउने भन्ने छ। आउने पाँच वर्षमा हाम्रो बैंकको लोन नै एक सय अर्ब पुर्‍याउने भनेर लागिरहेका छौ।राम्रो राम्रो प्रोजेक्ट आउन थाल्यो। टेक ओभर पनि हुन थाल्यो। अरू सिचुएसन पनि नर्मल हुँदै जाला। फेरि कर्जाको ग्रोथ अनुसार मेटिँदै गई हाल्छ ।

 जसले तपाइहरूको शेयर भर्दै हुनुहुन्छ उहाँहरुलाई केही भन्नुहुन्छ ?

तपाईहरूकै सम्पत्तिमा तपाईहरूले नै लगानी गर्ने हो। देशकै विकास गर्न खुलेको बैंक भएकोले प्राथमिक शेयर भर्दा त्यस्तो बिना धेरै हेर्नु पर्दैन। तपाईले गरेको लगानी सुरक्षित गर्न हामी तयार छौ। भविष्यमा राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने बिश्वास दिलाउँछु। 

पब्लिकबाट पैसा उठाएपछिको योजना के छ ?

पब्लिकबाट पैसा उठाएपछि लगानी नहुन्जेलसम्म त बैंकमै राख्नुपर्ने हुन्छ। त्यसपछि हामीले लगानी गर्न योग्य प्रोजेक्ट हरूको पहिचान गरिरहेका छौ। यसअघि नै साढे आठ अर्ब जति लोन अप्रुबल भएको छ। त्यसपछि हामीले २८/३० ओटा प्रोजेक्ट पाइपलाइनमा राखेका छौ। ती सबैको अप्रुभ नहुन पनि सक्छ। पाइपलाइनमा रहेका प्रोजेक्टहरूमा पनि कुन-कुन हाम्रो लागि उपयुक्त हुन्छ भनेर छुट्टै बास्केट बनाएका छौ। किन त्यसो गरिएको भने एउटा पनि लोन खराब कर्जामा रूपान्तरण नहोस् भन्नको लागि हो। त्यसकारण टेक्निकल्ली, प्रमोटर सबै हेरेर मात्रै लगानी गर्न सकियोस् भनेर हो। फेरि पूर्वाधारमा लगानी गर्ने भनेको एकैपटक ह्वार्र लगानी हुने पनि होइन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।