सन् २०२१ भित्र शेयर बजारले अझै ठूलो हाइट बनाउँछ, मनोबल नगिराई लगानी गर्न र ढुक्क भएर सकारात्मक हिसाबले अगाडि बढ्न सक्छौँ

Jan 02, 2021 02:10 PM Merolagani



तारा प्रसाद फुल्लेल
समग्रमा यो साता बजार उत्साहप्रद नै रह्यो। समग्रमा लगानीकर्ताहरुले हेर्ने भनेको नेप्से इण्डेक्स नै हो। इण्डेक्स बढेको कारणले गर्दा मार्केट सकारात्मक नै रह्यो भन्ने हुन्छ। 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भाइरसको नकारात्मक प्रभावको बावजुद नेपाली शेयर बजारले नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक वर्षको रुपमा स्थापित गर्न सफल भएको छ। शेयर बजारको लागि सन् २०२० ऐतिहासिक वर्ष बन्यो। 

कोभिड–१९ भाइरसले गर्दा विश्वको अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र समेत प्रभावमा पर्यो। विश्वभर कोभिडको प्रभाव न्यून हुँदा विश्वभरका स्टक मार्केटले सकारात्मक गति लिएसँगै नेपालको शेयर बजारमा पनि सुधार हुदै आईरहेको छ। अर्थव्यवस्थामा परेको सकारात्मक प्रभाव र कोभिड–१९ को कारण अरू क्षेत्रले गति लिन नसके पनि लगानिकर्ताहरूको सहज पहुँच रहेको यो क्षेत्रले यस वर्ष नेप्से इण्डेक्स, कारोबार रकम लगायतमा नयाँ–नयाँ रेकर्ड बनाएको भन्न मिल्छ। नेप्सेले २०२० मा यस अगाडिका उच्च विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गर्याे र २०२० को अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड कायम भयो। 

यो साताको शेयर बजारको अवस्थालाई हेर्दा केही बैंकहरुमा सकारात्मक बायरहरु आएको जस्तो देखिन्छ। बैंकहरु नबढेसम्म समग्र इण्डेक्सले आफ्नो उचाई मेन्टेन गर्न सक्दैन। बैंक तथा वित्तीय संस्थाहरुको करिब ८० प्रतिशतको हाराहारीमा होल्ड भएको स्टक मार्केटमा बैकिङ क्षेत्र नबढेसम्म अरु सेक्टरको बढाईले बजारलाई दीगो बनाइराख्न सक्दैन जस्तो लाग्छ। त्यसकारण बैंक सेक्टरमा केही सकारात्मक प्रभाव परेको भएर बजार बढ्नमा पनि मद्दत पुगेको हो। 

यसले के संकेत गर्छ भने बैंक तथा वित्तीय संस्थाहरु बढ्न थाल्नु भनेको बजारलाई दीगोपन दिनु हो र भोलीका दिनहरुमा सकारात्मक प्रभाव छरेको भन्ने हुन्छ। फाटफुट कम्पनीहरुले मात्र बजारलाई स्थायित्व दिन नसक्ने कारणले गर्दा समग्रमा बैंकिङ क्षेत्रको हाइट बढ्नुपर्छ। 

अहिलेको बजारको अवस्था हेर्दा आगामी दिनहरु बजारका लागि राम्रो हुन्छ। बजारमा अहिले ब्याजदर घटेर धेरै तल अर्थात न्यून दरमा आइसकेपछि बचतमा राखेका मान्छेहरुले पनि पैसा निकालेर पूँजीबजारतिर लगानी गर्न थाले। अझै पनि ब्याजदर घट्ने कुराहरु आइरहेको छ। बैंकसँग तरलता प्रशस्तै छ। यसैगरी लगानीकर्ताहरुले सस्तोमा ब्याज लिएर बजारमा लगानी गर्ने वातावरण पहिलेको जस्तै अझै पनि कायम छ। बैंकमा पैसा जम्मा गरेर खासै ब्याज पनि आउदैन।

यसैगरी, तत्कालका लागि लगानी गर्ने अन्य क्षेत्रहरु पनि छैनन्। कोभिड–१९ को प्रभावदेखि लिएर पछिल्लो राजनीतिक अन्योलले गर्दा पनि अन्य क्षेत्रमा लगानी गर्ने ठाउँहरु छैनन्। त्यसैले गर्दा अहिले लगानीकर्ताहरुका लागि लगानी गर्न शेयर बजार नै एउटा उत्तम विकल्प रहेको छ। यसरी हेर्दा लगानीकर्ताहरु मनोबल नगिराई लगानी गर्न र ढुक्क भएर बजारमा सकारात्मक हिसाबले अगाडि बढ्न सक्छौँ। 

२०२० मा बजारले जसरी बढ्न शुुरु गरेको छ, त्यो क्रम २०२१ मा पनि जारी रहनेछ। २०२१ भित्र शेयर बजारले अझै ठूलो हाइट बनाउँछ जस्तो लाग्छ। 

नयाँ वर्ष २०२१ मा लगानीकर्ताको सहज पहुँच, बैंकको ब्याजदरमा आएको न्यूनता, लगानीकर्ताको माग बमोजिम र समय सापेक्ष ब्रोकर कमिशन नघटाईए पनि पछिल्लो समय ब्रोकर कमिशनमा धितोपत्र बोर्डले गरेको सम्वोधन, अरू क्षेत्रमा लगानीको लागि वातावरण नबनिरहेको अवस्था, बजार बियरिश ट्रेण्ड पार गरेर बुलिश ट्रेण्डमा प्रवेश गरिसकेको अवस्था लगायतका कुराहरूले यो वर्ष पनि नेप्सेसँगै कारोबार रकमले पनि नयाँ उँचाई चुम्ने कुरामा विश्वस्त हुन सकिन्छ। 

(मेरोलगानीका सबिना बजगाईसँगको कुराकानीमा आधारित) 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।