चालु आर्थिक वर्ष भित्रै शेयर निष्कासन गरिसक्ने उसको योजना छ। फागुनको पहिलो साताबाटै शेयर निष्काशनको लागि प्रक्रिया शुरु हुने सर्वोत्तम सिमेन्टका लेखा शाखा प्रमुख सन्तोष केसीले बताए। "पहिले साधारण सभामा प्रस्ताव लैजान्छौ। प्रस्ताव पास भए लगत्तै फागुनको पहिलो साताबाटै प्रारम्भिक प्रक्रिया शुरु गर्छौ" केसीले मेरो लगानीसँग भने।
कम्पनीले १५ प्रतिशत हुन आउने ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्ने तयारी गरेकाे छ। यसमा संस्थागत लगानीकर्ता, प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारण सहभागी हुन सक्छन्।
निष्काशन हुन लागेको शेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्ने छन्। जसका लागि निष्काशनकर्ता कम्पनीले शेयर जारी गर्नु भन्दा पहिले संस्थागत लगानीकर्ताहरुलाई छलफलको लागि डाक्नु पर्ने छ। उनीहरूसँग गरिएको छलफलको आधारमा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण गर्नेछन्। मूल्य निर्धारण गरिसकेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको लागि अनुमति माग गर्ने केसीले बताए। उक्त मूल्य निर्धारण गर्न कम्पनीले संस्थागत लगानीकर्तालाई फागुनको पहिलो साता डाक्ने बताएको छ।
संस्थागत लगानीकर्ताले मूल्य निर्धारण र उनीहरूले अन्तिम मूल्य तोकेपछि मात्रै प्रभावितको लागि उसले शेयर निष्कासन गर्ने छ। नियम अनुसार कम्पनीले कम्तीमा दुई प्रतिशत शेयर प्रभावित क्षेत्रका स्थानीयलाई दिनु पर्ने छ। कम्पनीले प्रभावित क्षेत्रकालागि दुई प्रतिशत हुन आउने आठ लाख कित्ता शेयर जारी गर्ने केसीको भनाई छ। यो कम्पनीको उद्योग परासी र खानी पाल्पा जिल्लामा छ। दुवै जिल्लाका स्थानीयले कम्पनीको शेयर पाउने केसीले बताए।
स्थानीयले कम्पनीको शेयर पाए पनि मूल्यमा भने कुनै सहुलियत हुने छैन। यस अघि प्रिमियममा शेयर निष्काशन गरेको शिवम् सिमेन्टको र सर्वोत्तमको शेयर निष्काशन प्रक्रिया फरक भएकोले स्थानीयले मूल्यमा सहुलियत नपाउने भएका हुन्। प्रिमियममा शेयर निष्कासन गरेको भएपनि शिवम् सिमेन्टले स्थानीयलाई सर्वसाधारण भन्दा कम मूल्यमा शेयर दिएको थियो। तर सर्वोत्तमले भने स्थानीयलाई सर्वसाधारणकै मूल्यमा दिने जनाएको छ। "हामीले प्रभावित क्षेत्रका स्थानीयलाई दुई प्रतिशत शेयर छुट्याउँछौ। तर यो विधि फरक भएकोले मूल्यको हकमा भने सर्वसाधारणकै लागि तय भएको मूल्य नै स्थानीयलाई पनि लागु हुने छ" केसीले भने। सर्वसाधारणका लागि छुट्टाइएको शेयरबाटै स्थानीयले पनि दुई प्रतिशत शेयर पाउने छन्। उनीहरूले खरिद नगरे उक्त शेयर पब्लिकमा नै जोडेर निष्कासन हुने छ।
कम्पनीले जति सक्दो धेरै प्रिमियम उठाउने लक्ष्य लिएको छ। बजारमा शिवम् सिमेन्टको चलिरहेको मूल्यलाई हेरेर शेयरको मूल्य निर्धारण हुने अनुमान गरेको छ। बुक बिल्डिङ्गमा विधि भएकोले के कति मूल्य निर्धारण हुन्छ त्यस बारेमा भने अहिले नै अनुमान नगरिएको केसीले बताए।
कम्पनीले उठेको प्रिमियमबाट सबैभन्दा पहिले आफूले लिएको ऋण तिर्ने बताएको छ। वाँकी रकम शेयरधनीलाई नै लाभांशको रुपमा फिर्ता गर्ने छ भने केही रकम नयाँ प्रोजेक्टमा लगाउने कम्पनीको योजना छ। भोलिका दिनमा शेयरधनीलाई अझै बढी लाभांश दिन पनि कम्पनीले लगानी बिस्तारसँगै नयाँ काम समेत गर्नु पर्ने भएकोले उक्त रकम परिचालनको योजना बनेको केसीले बताए।