कर्जाको साँवा ब्याज तिर्ने म्याद थप्ने पक्षमा देखिएन राष्ट्र बैंक, किस्ता तिर्न ऋणीलाई बैंककाे दबाव

Jan 10, 2021 04:43 PM Merolagani

रबिन पाैडेल

व्यवसायीहरुले कर्जाको साँवा र ब्याज तिर्ने अवधि थप गर्न माग गरिरहँदा केन्द्रिय बैंक भने थप म्याद नलम्ब्याउने पक्षमा देखिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिले नै कर्जा भुक्तानीमा सहुलियत तोकिसकेको र वर्गिकरण अनुसार म्याद थप गरिएको भन्दै केन्द्रिय बैंक थप समय लम्याउने पक्षमा नदेखिएको हो। 

उद्योगी व्ययवसायीले भने यसअघि थप गरिएको किस्ता तिर्ने समय अपर्याप्त भएको भन्दै बैंकको किस्ता तिर्ने अवधि थप लम्ब्याउन माग गर्दै आएका छन्। उनीहरूले अहिले अधिकांश व्यवसायीहरू बैंककाे कर्जा तिर्न सक्ने अवस्थामा नरहेकाे भन्दै म्याद थप्न आग्रह गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघले केहि दिन अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नै भेटेर उद्यमी व्यवसायीहरुले बैंकको साँवा व्याज भुक्तानी गर्ने समय बढाउन आग्रह गरेको थियाे। पुस मसान्तमा तिर्नुपर्ने साँवा ब्याज अझै कम्तिमा पनि ३ महिना पछि तिर्ने व्यवस्था मिलाउन महासँघले आग्रह गरेको हाे ।

म्याद थपिएन भने ५० प्रतिशत भन्दा बढी साना मझौला उद्याेग बन्द हुने अवस्थामा पुग्ने महासँघले  बताएको छ। लकडाउनबाट विशेषगरी साना मझौला उद्योग बढी प्रभावित भएका, कुनै पनि साना मझौला उद्यम पूर्णरुपमा संचालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएको महासँघको भनाई छ। 

तर केन्द्रिय बैंकले भने यसअघि मौद्रिक नीतिलेनै पर्याप्त व्यवस्था गरिसकेको भन्दै व्यवसायीलाई थप सहुलियत नदिने संकेत गरेकाे छ। मौद्रिक नीतिले नै ऋणीहरुलाई वर्गिकरण गरी पर्याप्त व्यवस्था गरिसकेको केन्द्रिय बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्टले बताए। "मौद्रिक नीतिले पहिले नै पर्याप्त व्यवस्था गरिसकेको छ। अति प्रभावितलाई असारसम्म नै  समय दिएकै छ। मध्यम प्रभावितलाई अझै चैत मसान्तको अवधि दिएकै छ" भट्टले भने "समय थप्दै जाँदा भोली यसले पार्ने प्रभावलाई पनि हेर्नु पर्यो।"

अहिले ऋणीहरुलाई पुस मसान्तमा तिर्नुपर्ने साँवा ब्याज तिर्न समस्या परेको छ। पुस महिना सकिन अब ४ दिन मात्रै बाँकी छ। यहि ४ दिनभित्र उनीहरु साँवा र ब्याज तिर्नुपर्ने बाध्यतामा छन्। बैंकहरुले पनि कर्जाको साँवा ब्याज तिर्न व्यवसायीलाई दबाब दिँदै आएका छन्। जसले गर्दा अहिले व्यवसायीहरु समस्यामा परेका हुन्।

यसअघि केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकका ऋणीहरुलाई अति प्रभावित मध्यम प्रभावित र न्यून प्रभावित गरी ३ बर्गमा विभाजन गरी कर्जाको साँवा र ब्याज तिर्ने अवधि थप गरेको थियो।

केन्द्रिय बैंकको वर्गीकरण अनुसार उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना, अनलाइन (इकमर्स) मा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय, दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण, आयात जन्य व्यापार, पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय, औषधि बिक्री वितरण, विज्ञापन सेवा, इन्टरनेट, दुरसञ्चार सेवा प्रदायक कम्पनी, मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय, ट्रक, ढुवानी व्यवसाय, सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय न्यून प्रभावित वर्गमा परेका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिले उनीहरुलाई साँवा ब्याज तिर्न पुस मसान्तसम्मको अवधि थपिदिएको थियो। यी व्यवसायीहरुले अबको चार दिनभित्र कर्जाको साँवा ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ। तर व्यवसाय अझै पूर्ण रुपमा सञ्चालनमा आइ नसकेकोले अहिले नै बैंकको कर्जा तिर्न सक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ।

मध्यम प्रभावित र अति प्रभावित व्यवसायीले भने क्रमशः चैत मसान्त र असार मसान्तसम्मको समय पाएका छन्। कारोनाबाट सबै भन्दा धेरै प्रभावित भएका होटल तथा टुरिज्म क्षेत्रका ऋणीहरुलाई भने केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत नै आगामी असार मसान्तसम्मको छुट दिएको हो।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।