इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Jan 19, 2021 07:36 AM Merolagani



माघ २ गते शुक्रबारदेखि खुला भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने आज (माघ ६ गते) अन्तिम दिन हो।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ। त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ। बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

सोमबार ५ बजेसम्ममा १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता अर्थात १४ अर्ब १९ करोड ९६ लाख ४२ रुपैयाँ बराबर शेयर खरिद आवेदन परिसकेको छ। सो अवधिसम्ममा ११ लाख ७७ हजार ९२० वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो। उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १.८७ गुणा बढी हुन आउछ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।

बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ।

पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ। अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ। त्यस अनुसार बैंकको आईपीओमा आवेदन दिनेको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।