वित्तीय आम्दानी घट्दा चिलिमेको नाफामा दबाब

Feb 10, 2021 08:53 AM Merolagani



चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ लाख ९४ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेपनि वित्तीय आम्दानी घटेका कारण खुद नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६१ करोड ८६ लाख रुपैयाँबाट बढेर ६३ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यद्यपि, वित्तीय आम्दानी (ब्याज आम्दानी) भने ७ करोड ३५ लाख रुपैयाँबाट घटेर ५ करोड २० लाख रुपैयाँमा झरेको छ। सोही कारण कम्पनीको खुद नाफा केही घट्न पुगेको हो। गत आर्थिक वर्षको तुलनामा यस आथिक वर्षमा कम्पनीको बैंक मौज्दात बढेपनि ब्याजदरमा आएको कमीका कारण ब्याज आम्दानी घटेको कम्पनीले जनाएको छ।

पुस मसान्तसम्ममा ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड हुँदा रिटेन्ड अर्निङ्ग ३ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।

खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३९ पैसा घटेर १२ रुपैयाँ ५० पैसामा झरेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ४९.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ५३ पैसा रहेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।