राजनीतिक किचलाे जस्ताे सुकै हाेस् नाति पुस्ता अल्झेर बस्नेवाला छैन,त्यसैले दलहरू प्रेसरमा छन् :डा. जगदीशचन्द्र पाेखरेल

Apr 09, 2021 06:03 PM Merolagani

प्रविधिले ल्याएकाे विश्वव्यापीकरणसँगै हरेक क्षेत्रमा बिद्यमान रहेका परम्परागत शैली, व्यवहार, ढाँचा, बिधि, प्रकृया र मान्यतामा परिवर्तन आइरहेकाे छ। डा. जगदीशचन्द्र पाेखरेलकाे हेराइमा नेपालकाे निजी क्षेत्र पनि बिश्वव्यापीकरणसँग हातेमालाे गर्दै अगाडि बढिसकेकाे छ  ।

तर त्यही अनुपात देश हाँक्ने राजनितिक पुस्ता भने अझैसम्म पनि परम्परावादी नै देखिएकाे छ ।  राष्ट्रीय याेजना आयाेगका उपाध्यक्ष समेत रहिसक्नु भएका पाेखरेलसँग मेराे लगानीका लागि राजेन्द्र खनाल र सुवास निराैलाले नेपालकाे विकास याेजना, प्रविधि र पुस्तान्तरणले अर्थतन्त्रमा ल्याएका सम्भावना र चुनाैति लगायतका बिषयमा कुराकानी गरेका छन् । इन्जिनियरिङ पृष्ठभूमि भएका पाेखरेल नेपालकाे ग्रामीण तथा शहरी  विकासका विभिन्न माेडेलहरू तयार गरी याेजना बनाउने अनुभवी याेजनाविद् हुनुहुन्छ ।

यति बेलाको स्थितिमा तपाईले जनमानसमा र अर्थतन्त्रमा कस्ता खालका परिवर्तनहरू देखि रहनु भएको छ ?

सामान्यतया हाम्रो मुलुकमा जब राजनीतिक अवस्थामा हलचल देखिन्छ। राजनीतिक किचलो बढी हुन्छ। त्यस्तो बेलामा अर्थतन्त्रमा पनि केही प्रभाव पर्न थाल्छ। व्यवसायिक क्षेत्र वेट एन्ड सी को मुडमा हुन्छ। राजनीतिक अवस्था कस्तो होला भन्ने अवस्थामा अर्थतन्त्र सुस्ताउने गर्छ। तर यो कोभिडपछि भने यसमा थोरै परिवर्तन आउन सुरु गरेको देखिन थालेको छ। किनकि बाध्यताका बीच पनि अहिले निजी क्षेत्रले जुन किसिमको अग्रसरता लिइराखेको छ। त्यसमा केही परिवर्तनकाे लय देखिन्छ। यस्तो जटिल परिस्थिति र राजनीतिक किचलो ठुलो हुँदा समेत निजी क्षेत्रले इन्भेस्टमेन्टमा कन्जुस्याइँ गर्नुको सट्टा थप बढाउँदै लगेको देखिन्छ। गएको दुई महिनाको केन्द्रीय बैकको तथ्याङ्कले पनि त्यही देखाइ रहेको छ। गएको दुई महिनामा ऋणको माग निक्कै बढेको छ। त्यसले यही जनाउ दिँदै छ। मुलुकमा अब राजनीतिक किचलोले व्यवसायी गतिविधिलाई फरक पार्न छाड्दै गएको छ। तिमीहरू राजनीतिक वृत्तमा आफ्नो किसिमले जे गर्छौ गर्दै गर हामी आफ्नो तरिकाले अघि बढ्छौ भन्ने कन्फिडेन्स निजी क्षेत्रमा बढ्दै गएको हो कि भन्ने अनुभूति मलाई हुन थालेको छ।

मैले यो कुरा केलाई आधार मानेर भनिरहेको छु भने  सिएनआइले मेक इन नेपाल भन्ने अभियान यही बेलामा सुरु गर्‍यो भने नेपाल उद्योग वाणिज्य महासंघले १० बर्षे भिजन पेपर तयार गरेको अबस्था छ। यीनै आधारहरूलाई हेरेर मैले यस्तो भनेको हुँ ।

अर्को तर्फ किन यस्तो परिवर्तन आयो होला भनेर बुझ्दा त्यसमा युवा पुस्ताले बढी फोर्स गरेर काम गरिरहेकाे पाउँछु। पहिलेका ट्रेडिसनल व्यवसायी भन्दा अहिले नेतृत्वमा भएका व्यवसायीहरू युवा छन्।  उनीहरूमा राजनीति भन्दा पनि प्रोफेसनल बिजनेसमा बढी रुचि बढ्दै गएको देखिन्छ। किनकि उनीहरू विश्व परिवेशलाई बढी महत्त्व दिने खालका छन्। उनीहरूमा बाहिरको एक्पोजर अलि बढी देखिन्छ। त्यही भएर पनि उनीहरूमा यो परिवर्तन आएको हो कि भन्ने मलाई लागि राखेको छ।

यसलाई कतैबाट बाधा परेन भने आउने दिनमा यो ट्रेन्डको विकास भएर जाने अनुमान लगाउन सकिन्छ।

दलहरू फुट्ने, सरकारहरू यता उता भई राख्ने भइरहँदा पनि व्यापार अघि बढाउनु पर्छ। व्यापार बढाउन सकिन्छ। व्युरोकेसीसँग पनि काम गर्न सकिन्छ भन्ने कुरा आउनु भनेको व्यवसायको लागि राम्रो कुरा हो। यो यसैगरी गयो भने देशको लागि धेरै राम्रो कुरा हो। किन यो म भन्दै छु भने इटलीमा दाेश्राे विश्वयुद्ध  १९४५ मा सकियो। मलाई लाग्छ सबैभन्दा बढी सरकार परिवर्तन भएको प्रजातान्त्रिक मुलुकमा इटली पर्छ। अहिले आएर दुई चार वर्ष स्टेबल भयो। नत्र त्यहाँ धेरै छिटो परिवर्तन भइरहने गर्थ्यो। तर इकोनमी भने ग्रो भई रह्यो। त्यो कसरी सम्भव भयो भनेर बेला बेलामा जिज्ञासा राख्दा उनीहरूको सहज उत्तर पाइन्थ्यो । राजनीति आफ्नो ठाउँमा छ । हामी आफ्नो तरिकाले काम गरिरहेका छौ। त्यसले डेमोक्रेसी पछिको परिपक्वतालाई पनि इङ्गित गर्छ। समग्र इकोनमिका एक्टिभ एक्टरहरु अघि बढेका हुन् भन्ने पनि सन्देश दिन्छ। त्यो नेपालमा पनि सुरुवात भएको अनुभूति मैले गरिराखेको छु।

बजारबाट परिचालित कुराहरूलाई सरकारले बेला बेलामा नचाहिँदो अवरोध गरिदिएन भने र बजारलाई राम्रोसँग अनुगमन र नियमन मात्रै गरिदियो भने इकोनमी अघि बढ्दाे रहेछ भन्ने इटालीले देखाइ दियाे।

नेपालमा पनि लकडाउन पछि त्यस्तै अवस्था आउने संकेत देखिएकाे छ । किनकि त्यति बेला त इकोनमी जेल मै बसे जस्तो भाथ्याे। राजनीति आफ्नो ठाउँमा चलिरहेको थियो। तर बन्धक इकोनमी भयो। त्यही छटपटले यस्ता उपायहरू निस्किए होलान् भन्न सकिन्छ।

लकडाउनले अर्को कुरा पनि देखायो । त्यो भने जनमानसमा प्रविधिको प्रयोग ।आम सर्वसाधारणमा प्रविधिको उपयोगिता,अनलाइन प्रविधिको विकास, त्यसमा सर्वसाधारणको आबद्धता। यसमा पनि ठुलो फड्को मारेको छ। खासगरी, त्यो सहरी क्षेत्रमा बढी देखिन्छ। यसले पनि एक किसिमको ट्रान्जेक्सनल पिरियडमा मुलुक पुगेको देखिन्छ। भलै त्यसको बारेमा गम्भीर रुपमा लिइएको छैन ।  यसले परिवर्तनको सङ्केत भने गरिसकेको छ। त्यसले जेनेरेसन ट्रान्सफर्मको अवस्था सिर्जना गर्दै गरेको देखाउँछ। भनेको मतलब हिजो हजुरबुबा गोल्छा थिए भने अब नाति गोल्छाले काम गर्दै छन्। तर हजुर बुवा र नातिकाे काम गर्ने शैलीमा जेनेरेसन ट्रान्सफर्म भइसकेकाे छ ।

यी नाति जेनेरेसनले नयाँ खालको प्रयोग गर्दै छन्। तर यहाँनेर चिन्ताको विषय भनेको उनीहरू राजनीतिक बाटोतर्फ मोडिने हुन् कि भन्ने छ। त्यसको लागि उनीहरूलाई फोर्स गर्नु हुँदैन। त्यस्तो वातावरण बनाइदिनु हुँदैन। उनीहरूलाई राजनीति भन्दा पनि पारदर्शी रूपमा व्यवसाय गर्ने वातावरण बनाइ दिनु पर्छ । सरकारले त्याे वातावरण हामी दिन्छौ भन्ने अवस्था सिर्जना गराइदिने हो भने त्यो नाति खालले नयाँ युगको सुरुवात गर्ने छन्।

नाति खालमा परिवर्तन देखिनुको पछाडि उनीहरूले विदेशमा लिएको शिक्षा र त्यहाँको काम गर्ने तरिकाहरूलाई यहाँ प्रयोग गर्न खोजिरहेको भन्न खोज्नु भएको हो ?

पक्कै हो। किन भन्दा पद्म ज्योतिको छोरा सौरभ ज्योति बाहिर पढेर आएका हुन्। उसको एक्सपोजर नै अर्को लेभलको छ। यसरी भन्दा ठीक होला । पद्म ज्योतिका बुबाले तिब्बतबाट बिजनेस गर्ने तरिका सिके। एक किसिमको ट्रेडिसनल बिजनेस उनले यहाँ सुरु गरे। त्यसले एक जेनेरेसन पार गर्यो। त्यस पछि रूप ज्योति, पद्म ज्योतिको जेनेरेसन आयो। त्यसले एक स्टेप माथि लग्यो। अहिलेको पुस्ता त्यो भन्दा माथि जाने प्रयासमा छ। त्यसमा उसलाई सपोर्ट पनि छ। त्यसले उसलाई माथि लैजान सहयोग गरिरहेको छ। ज्याेति समूहकाे मात्र हाेइन चाैधरी, गाेल्छा, खेतानका पनि नयाँ पुस्ता इनाेभेटिभ छ ।

व्यवसायी घरानाका पुस्ताले यस किसिमकाे  फड्काे मार्दा यता राजनीति गर्ने पुस्ता भने त्याे रूपमा तयार हुने छाँटकाँट छैनन् नि ।नेतृत्व गर्ने नयाँ पुस्तामा भने उही हजुरबुवा खालकै वर्चस्व छ अनि कसरी काम गर्छ त याे पुस्ताले ?साेचमा रहेकाे याे अन्तरले समस्या पार्छ कि पार्दैन ?

पक्कै परक पार्छ। यो चेन्ज के ले ल्यायो भन्दा नयाँ पुस्ताले खुल्ला वातावरणमा शिक्षा आर्जा गर्ने अवसर प्राप्त गर्‍यो। उसले कसैको डर, धाक, धम्कीको सामना गर्नु परेन। त्यसले यो परिवर्तन ल्याएको हो। अर्को कुरा बढ्दो प्रविधिको विकासले पनि यसलाई सहयोग गरेको छ। कुनै एक कालिकोटको शिक्षक त्यहाँ पढाउँछ पनि र प्रविधि या अनलाइनको माध्यमबाट नेशनको मेन स्ट्रिम बिजनेसमा पनि सहभागिता जनाउन सक्ने स्थिति छ। यति बेला प्रविधिले दुर्गम र सुगम भन्ने अवस्थाको अन्त्य गर्दै छ। 

तर,यहाँ नेर दुर्भाग्य कहाँनेर छ भने अझै पनि राजनीतिक पार्टीहरूमा परम्परागत सोच राख्ने अगुवा हरू छन्। उनीहरूलाई यस्तो खालको परिवर्तनले धेरै प्रेसर पार्दै लगेको छ। उनीहरूले अझै पनि यो परिवर्तनले हाम्रो वर्चस्व, हाम्रो आधिपत्य खतरा पार्छ कि भनेर उनीहरूले यो पुस्तालाई पनि आफू तर्फै ढल्काउने कसरत नगर्लान् भन्न सकिन्न। तर  जति सोच्नु पर्ने विषय चाहिँ के छ भने ४५ प्रतिशत भन्दा बढी मानिस नयाँ सोचका छन्। अझै नयाँ आउँदै छन्। जहिले पनि मानिस अघि बढ्न खोज्ने प्रवृत्तिकाे हुन्छ। भन्नुको अर्थ एक पटक बिजुलीमा बस्न बानी परि सकेको मानिस फेरि टुकी युगमा फर्कन सक्तैन। त्यस्तै एक पटक घरको भान्सामै पानी चलाउने बानी परेको परिवार पुन: पानी लिन घण्टौँ कुवा धाउन पक्कै चाहँदैन। त्यस्तै उनीहरूलाई राजनीतिक वृत्तका मानिसहरूले टुकी युगमा फर्काउन खोजे भने त्यो उनीहरू तिरै फर्किन्छ। किनकि त्यो उनिहरुले गर्नै नसक्ने अवस्था हुन्छ। तबसम्म मानिस तल बस्छ। जब सम्म मानिसले आफ्नो हैसियत उसको भन्दा तल देख्छ। जब स्वयं सर्वसाधारणकै हैसियत,रहन सहन,शिक्षा वा ज्ञान उसको भन्दा माथि गई सक्यो भने उनीहरू तल बसेर काम गरिरहन चाहँदैनन्।

नयाँ जेनेरेशनकाे ग्रोथ र उनीहरूले गर्ने प्रतिकारलाई राजनीतिक वृत्तले थाम्न सक्दैन। यति बेला राजनैतिक वृत्तमा पनि यसको थ्रेड नपुगेको होइन। पुगिसकेको अबस्था छ। त्यही भएर उनीहरू पनि यो जेनेरेसनलाई सम्वाेधन गर्ने गरी केही कहिले कसरत गर्दै गरेको देख्न थालिएको छ। नगर्ने हरूलाई पनि तल्लो वर्गको फोर्सले उनीहरूलाई परिवर्तन गर्न बाध्य बनाउँछ। किनकि राजनैतिक दलमा त्यस्तो किसिमको 'कु' देख्न थालिसकिएको छ। बिस्तारै यस्ता वर्गको शक्ति बढ्दै जाने छ भने परम्परावादीको शक्ति क्रमशः क्षय हुँदै जाने छ।

फेरि अर्को कुरा तपाइ शक्तिमा रहिरहन चाहने हो भने तपाइले बदलिएको सोच र नयाँ पुस्ताका कुरा सम्बोधन गर्नु पर्ने हुन्छ। तर तपाइ आफै तर्फ ढल्काउन खोज्नु भयो भने त्यसले तपाइको शक्तिलाई पनि कमजोर बनाउँदै लान्छ। जसले पार्टीहरुलाइ पनि हानी हुन्छ भने मुलुकका लागि पनि त्यो नोक्सान व्योहोर्नु पर्ने हुन्छ।

हो,मैले यही कुरा तपाईबाट बुझ्न खोजिरहेको छु कि पार्टी नेतृत्वले यस विषयमा कस्तो प्रतिक्रिया देखाइरहेकाे छ? तपाइ त कुनै राजनैतिक पार्टीको प्रशिक्षण बिभागमा संयोजक रुपमा पनि काम गरिसक्नु भएको छ ।

उनीहरूले यो कुरालाई निगरानी गरिरहेका छन्। म एक जना लिडरको नाम नलिकन उदाहरण दिन्छु। पहिले जुन एरोगेन्ट्स देखिन्थ्याे उहाँमा। यसलाई समाल्न सकी हालिन्छ नि भन्ने  आत्म विश्वास अव त्याे छैन।अहिले तल्लो बर्गवाट आइरहेको प्रेसरले उहाँहरुलाइ इनसिक्योर गराइसकेको छ।यसलाई कसरी म्यानेज गर्ने,यो अहिले आइरहेको वेभसँग हामी कसरी अघि बढ्ने भन्ने उहाँहरुले सोच्न सुरु गरिसकेको पाउँछु। किनकि एक दिन उनै लिडरले मलाइ  बोलाएर बदलिँदो यो परिस्थितिलाई फेस गर्न सक्ने गरि एउटा टिम बनाउनु पर्‍यो भनेर प्रस्ताव गर्नु भयो। फेरि टिम मात्रै होइन केही निश्चित बिषयमा नै तोकेर उहाँले यसमा एक्सपर्टिज टिम चाहियो भन्नु भएको अबस्था थियो। भन्नुको अर्थ अघि मैले भनेकै विषयहरूमा जुन परिवर्तन हरू आइ रहेका छन् तिनै विषय बढी थियो। यस अर्थमा  थोरै परिवर्तन आइ राखेको छ।  

यसले के अर्थ दिन्छ भने कहिले बदलिएको अवस्थासँग हिँड्न उनीहरूले खोज्न थालेका छन्। सर्वसाधारणको सोच जति परिवर्तित हुँदै गएको छ। त्यति नै उनीहरूले पनि आफूलाई रूपान्तरण गर्न खोजेको यसले पुष्टि गर्छ। 

जसरी नयाँ पुस्तामा एक किसिमको नयाँ वेभ आइराखेको अवस्था छ। यो वेभले परम्परागत सोच भएको राजनैतिक शक्तिलाई नयाँ शक्तिमा रूपान्तरण गर्ने सम्भावना कतिको छ ?

यसमा के छ भने परम्परागत राजनीतिक वृत्तले अवस्थालाई स्वीकार गरेन भने उसले लोइल्टी मिस गर्छ। भनेको मतलब कुनै पनि पार्टीले पहिलेको लिगेसीको आधारमा प्राप्त गरेको लोइल्टी गुमाउँदै जान्छ। जस्तै मेरो बुवाको कुनै पार्टी प्रति लगाव थियो होला।उहाँको आधारमा मैले कुनै पार्टीको नजिक भएर काम गरे हुँला । तर अहिले मेरो छोरामा त्यस्तो देखिँदैन। उसले मलाइ के प्रश्न गरिरहेको हुन्छ भने यो यो विषयमा यो यो पार्टीले के डिसिजन गरे भन्ने हुन्छ। उसलाई यो पार्टी र त्यो पार्टी भन्ने नै छैन। उसलाई इस्सूसँग मात्रै मतलब छ।

तर अहिले नै त्यो कुरा आइसकेको छैन। तर च्यालेन्ज भई राखेको छ। सबै पार्टीमा भई राखेको छ।जुन पार्टीमा अलि बढी सजिलो छ त्यसमा अलि बढी होला। जसमा अलि गाह्राे छ। त्यसमा अलि बढी अप्ठ्यारो होला। तर त्यो दिन आउँदै छ। ढिलो चाँडो त्यो समय आउँदै छ।

त्यो समय आउँदै छ भन्ने कुरालाई के कुराले पनि सपोर्ट गरिराखेको छ भने यति बेला ५० लाख मानिस विदेशमा छन्। उनीहरूले पठाएको पैसा  र उनीहरूको बुबा आमाले दिएको भोटले तपाइ यहाँ चल्दै हुनु हुन्छ । यदि उनीहरूकै सोच विपरीत तपाइ जान खोज्नु हुन्छ भने त्यो धेरै दिन टिक्दैन।

त्यसकारण पनि नेपाली डायस्पेरालाइ हेर्ने अर्को आँखाको विकास गर्न जरुरी छ। किन जरुरी छ भने अब नेपाल पूर्व पश्चिममा मात्रै सीमित छैन। नेपाल त अहिले विश्व भरि फैलिएको छ। उ जहाँ बसे पनि नेपाललाई नै सम्झिएको अवस्था छ। उसले नेपाल लाइनै सम्झिएको अवस्था छ। उसले नेपालकै लागि काम गरिराखेको छ। किनकि उसले विश्वको कुनै पनि ठाउँमा कमाएको पैसा यहाँ पठाउँछ भने उसले कसको लागि काम गर्दै छ त ?

अब त्यो पहिलेको जस्तो कसैको अन्डरमा बस्ने समय छैन। आफ्नो कामको प्रवृत्ति अनुसार सिस्टमबाट चल्नु पर्ने अवस्था छ। गाउँमा धनी मानिसको रैती भएर गरिबले हात जोडे जस्तो समय विलीन हुँदै छ। अब काम गर्न जाँदा होस् वा काम गर्ने ठाउँमा उसले सिस्टम फलो गर्छ। त्यही सिस्टमले नै विश्व व्यापार चलेको छ। यस्तो खालको प्रवृत्तिमा विश्व भरि काम गरेका मानिसलाई अब तपाइले परम्परागत शैलीबाट काम लगाउँछु वा उसबाट काम लिन्छु भन्ने दिन जाँदै छन्। रिजल्ट ओरिन्टेड वर्कको पहिचान हुँदै छ। गफ लगाएर काम गर्ने दिन ज्यादै छन् भने एक दिन त रूपान्तरण हुनै पर्छ। पछिल्लो समय भएको विकासले पनि यही कुराको संकेत गरिरहेकाे पाएको छु।

अलिकति प्रसङ्ग बदलाैं, तपाईले सुरुवातमा भन्नु भयो कि इकोनिम ग्रोथ दैनिक बढ्दै छ। ऋणको माग बढी रहेको छ। यसले इकोनमीमा सकारात्मक प्रभाव पार्छ। तर केन्द्रीय तथ्याङ्क विभागको डाटाले त्यसलाइ सपोर्ट गरेको देखिँदैन।  बाहिर देखेको जस्तो फिगरमा किन नदेखिएको होला ? 

हैन यसमा यसरी लिनु पर्छ। जतिबेला हामी कोभिडको बिचको असरमा चेपिएका थियौ। त्यति बेलाको अध्ययनका आधारमा यति बेला तथ्याङ्क सार्बजनिक गरिएको छ। त्यति बेला त हामी सबै नै घर भित्र थियौ, स्वभाविक रुपमा त्यति बेला ग्रोथ हुने कुरै आएन। अर्को कुरा त्यति बेला इकोनमी नै ठप्प रहेको अवस्था थियो। त्यसले पनि ग्रोथमा सपोर्ट गर्ने कुरा भएन। तर मैले अघि भनेको आधार चाहिँ यति बेलाको हो। यति बेला म्यासिभ रुपमा इकोनमी ग्राेथ हुने देखिदै छ। यो कोभिड पछि बिस्तारै बढ्दै गएको इकोनमी एक्टिभिटिलाइ हेरेर भनिएको हो। यसको तथ्याङ्क त अब आउने दिनमा आउँछ। त्यति बेला चाहिँ रियल रुपमा इम्प्याक्ट पर्‍यो वा परेन भनेर भन्न सकिन्छ।

अर्को कुरा नेपालको जिडिपी ग्रोथको आफ्नै फण्डा छन्। भन्नेले मेरो पालामा यति भयो उति भयो भनेर भनेको अवस्था छ। विगतमा वास्तविक रुपमा मुलुकको जिडिपी ७ प्रतिशत वा ८ प्रतिशत हुनुमा केही कारणले काम गरेको देखिन्छ। जस्तै भूकम्प पछिको पुन निर्माण,कुनै निश्चित कारणले ह्वात्तै बढाइदिएको ग्रोथले भन्दा प्राकृतिक रुपमा बढेको ग्रोथले मुलुकलाई बढी सहयोग गर्छ भनिन्छ। के अबको ग्रोथ न्याचुरल्ली हुने सम्भावना कतिको छ ?

अहिलेको अवस्थामा ५० देखि ६० प्रतिशत मात्रै इन्डष्ट्रीहरु चलेको देखिन्छ। त्यसमा अझै टुरिजम सेक्टर त चलेकै छैन। कृषिमा यान्त्रिकरणको प्रभाव अझै देखिएको छैन। जुन कुरा तपाइ भन्दै हुनुहुन्छ। त्यो प्राकृतिक रुपमा देखिन प्रविधिको इम्प्याक्ट देखिनु पर्छ। गोरुहरू ट्यक्टरहरुमा रूपान्तरण भएको हुनु पर्छ। गोठमा भएका एक दुई वटा गाईहरू फार्ममा रूपान्तरण हुनु पर्छ। यसमा थोरै थोरै विकास देखिएको छ। ब्रेक थ्रु भने भई सकेको अवस्था छैन। तर मध्य पहाडमा भने त्यो परिवर्तन देखिन थालेको छ। कस्तो परिवर्तन भने विदेशबाट फर्किएर आएका हरुले ती खाली जमिनहरूको सदुपयोग गर्न थालेको छन्। यही बसेकाहरुले पनि फार्महरूको विकास गरिरहेका छन्। तर त्यसले अझै व्यापकता पाएको छैन। हो,त्यो क्षेत्रमा व्यापकता आई नसकेको कारणले हामीले न्याचुरल ग्रोथ हासिल गर्न नसकेको हो। जिडिपी ग्रोथ मापन गर्ने अन्य क्षेत्रमा भने यी कुराहरू देखिन थालिसकेको छ। जस्तै उद्योग कल कारखाना, सेवा क्षेत्र यसमा देखिन सुरु गरेको छ। उनीहरूको ग्रोथ पहिले भन्दा बढी छ। जिडिपीमा सबैभन्दा बढी भूमिका भएको क्षेत्रकै विकास नभएपछि अरू क्षेत्रको विकासले ग्रोथमा टेवा पुर्‍याउन नसकेको हो। 

तपाईले भन्नु भयो न्याचुरल ग्रोथको लागि हामीले कृषिमै फोकस हुनु पर्छ। हाम्रो सबैभन्दा बढी श्रम शक्ति प्रयोग हुने यही क्षेत्रले हामीलाई पुग्ने गरी पनि उत्पादन गर्न सकेको छैन। किनकि आयातित बस्तुको पाँचौँ स्थानमा चामल छ। बाहिरबाट हेर्दा कृषिमा केही परिवर्तन देखिन थालेको भएपनि यसमा युवा पुस्ता टिक्ने अवस्था भने हुन सकेका छैनन् नि ?

हो युवाहरू सानो सानो स्केलमा काम गर्दै छन्। तर उनीहरूको इन्ट्री र एक्जिट उस्तै उस्तै छ। कृषिमा ठुलो परिवर्तन ल्याउनको लागि लगानी पनि चाहिन्छ। लगानी भनेर मात्रै हुँदैन । ठुलै लगानी गर्नु पर्छ। कहीँ कतै यस्तो पनि देखिन थालेको अवस्था पनि छ। अर्को कुरा मानिसहरूले आफै काम गर्न सुरु गर्नु पर्छ। मानिसहरु सद्दे जग्गा छ तर जोतिदिने मानिस छैनन्। उ आफै जोत्न चाहँदैन। अब त्यस्को सट्टा मानिसले आफै काम गर्न सुरु गर्नु पर्छ भने विदेश त्यही कामको लागि कोही मानिस जाँदै छ भने उसले यही म कृषिमा काम गर्छु भनेर आफूलाई तयार गर्न सक्नु पर्छ।

बिदेशबाट फर्केर आएपछि प्राय: इन्टरपेनियर बन्न चाहन्छन् । तर सबै इन्टरपिनियर हुन सक्दैन। सानाे सानाे स्केलका लगानीले कृषिमा आमूल परिवर्तन ल्याउन नसक्ने भएकाले उताबाट फर्केपछि आफुले जानेकाे सीप प्रयाेग गरेर नेपालकाे उद्याेगमा श्रमिककै रूपमा काम गर्दा मुलुकलाइ फाइदा हुन्छ । त्यसले गर्दा केही मानिस श्रमिकको रुपमा काम गर्नु पर्छ।

यहाँले आफैँ श्रमिक बनेर काम गर्नुपर्छ भनिरहँदा अझैपनि धेरै जसो  श्रमिककै रुपमा बिदेश गईरहेको अवस्था छ। मुलुकमा  श्रमिक हुँदा र विदेशमा  श्रमिक हुँदा प्राप्त गर्ने आर्थिक लाभको तुलना गर्दै उनीहरू विदेश गएको स्थिति छ। स्वदेशमा श्रम खर्च गर भन्नलाई त त्यति नै पारिश्रमिक पनि दिनु पर्ला नि यो सम्भव होला ?   

हो । यो कुरा हामी सबैले हेर्छौ। तपाइले पनि त्यही हेर्नु हुन्छ,मैले पनि त्यही हेर्छु। मैले मेरो श्रम कहाँ बेच्दा बढी फाइदा हुन्छ त्यहि बेच्ने हो। तर यसलाई बेठिक भन्न मिल्दैन। यो ठिक कुरा हो। तर कुरा के भयो भने मुलुक भित्रको इन्भेष्टरले तपाइको श्रमको उचित मूल्य दिन सक्दैन भने जसले दिन सक्छ उसलाई राज्यले लगानी गर्न दिनु पर्छ। उसले नेपाली श्रमिक भन्दा विदेशी श्रमिक ल्याएर सस्तोमा उत्पादन गर्छ भने उसलाई राज्यले सस्तोमा श्रमिक ल्याउन पनि दिनु पर्छ। किनकि हाम्रो उत्पादनले विश्व बजारमा पारिश्रमिककै कारणले प्रतिस्पर्धा गर्न नसकिरहेको भने त्यसमा खुला गरिदिनु पर्छ।

तर भरसक आफ्नै मुलुक भित्रको श्रमिक प्रयोग गर्न पाइयो भने अझै राम्रो हुन्छ। त्यो बिस्तारै हुन्छ पनि । किन भन्दा अब सर्वसाधारणले पाउने नेपाली २५ हजार र साउदीमा पाउने ४० हजारको तुलना गर्छ। उसले २५ हजार र ४० हजार बीच रहेको १५ हजारको बारेमा हिसाब गर्न सुरु गर्ने छ। १५ हजार रुपैयाँको लागि उसले गर्नु पर्ने दौडधूप, समस्या,परिवारको बिछोड देखि लिएर डर, जोखिम पनि दाँज्दा उसले यही बढी फाइदा देख्न सक्ने अवस्था पनि आउँदै छ। त्यही भएर विदेश जाने मानिस घटिरहेको हुन् भन्ने अनुमान पनि गर्न सकिन्छ।

तपाईले सुरुमै इकोनमिका एक्टिभ प्लेयरहरूको कुरा उठाउनु भएको थियो। त्यसको बारेमा केही भन्दिनुस् न

इकोनमिको एक्टिभ प्लेयरमा सबैभन्दा पहिले  निजी क्षेत्रलाई नै मान्नु पर्ने हुन्छ। त्यो भित्र पनि मेजर प्लेयरको रुपमा कर्पोरेट सेक्टरलाई लिन सकिन्छ। त्यस भित्र पनि थुप्रै किसिमका लगानीकर्ता हुन्छन्। यसै गरी सेक्टरवाइज पनि हेर्नु पर्ने हुन्छ। हाम्रो मेजर सेक्टर भनेको कृषि हो। अर्को इन्डस्ट्री ह, अर्काे टुरिजम सेक्टर अनि सर्भिस सेक्टर। अर्को सेक्टर पनि छ। जसको विकास भइसकेको अवस्था छैन। जसमा खनिज पर्छ। जसमा बहुमूल्य पत्तथर छन्। तामा छ। फलाम छ। अरू पनि मिनरल्स हरू छन्। यसलाई कसरी पहिचान गर्ने र यसलाई प्रयोगमा लैजाने भन्ने विषय अलि सिरियस छ।

हाइड्रो सेक्टरले राम्रै प्रगति गरेको अवस्था छ। अब आउने दिनमा उत्पादन हुने बिद्युत् कहाँ खर्च गर्ने भन्ने दिनहरू नजिक नजिक आइसकिएको छ।

सिमेन्टमा पनि हामीले राम्रै प्रगति हासिल गरेको अवस्था छ। तर यो प्रगति गर्दै गर्दा यसले हामीलाई नोक्सान पनि बढाउँदै लगेको छ। किनकि यसको विकाससँगै यसले वातावरणमा पनि प्रभाव पार्दै लगको अवस्था छ। अर्काे पर्यटन क्षेत्र छ। अर्कोतर्फ सिमेन्ट उद्योग छन्। यी दुई बिचको तारतम्य मिलाउन निक्कै मुस्किल हुने देखिन्छ।

यस विषयमा सरकारले बडो गम्भीर भएर सोच्नु पर्छ। किन भने पर्यटकले शान्त र प्राकृतिक कुरा खोजिरहेका हुन्छन् भने सिमेन्ट उद्योगले पनि तिनै प्राकृतिक चिजको दोहनबाट उपलब्धि हासिल गरिरहेका हुन्छन्। यता ग्रोथ हुन्छ,उता वातावरणमा हानी हुन्छ। यहाँ ब्यालेन्स गर्नै पर्छ।

अर्को तर्फ हाम्रोमा जडीबुटी छन्। त्यसको अझै हामीले राम्रो व्यवस्थापन गर्न सकेका छैनौ। अहिले जति पनि त्यस्ता चिज निर्यात भइराखेका छन् तिनीलाई हामीले प्रशोधन गर्न सकेका छैनौ। फेरि त्यो चिज सधैँ भई राख्ने कुरा होइन। जस्तै यार्सागुम्बाको उत्पादन पनि घट्यो। अर्को तर्फ निर्यातमा पनि कमी आइ सकेको अवस्था छ। यस्तो अवस्थाहरू अन्य चिजमा पनि आउन सक्छ। त्यसले गर्दा हामीले त्यस्ता चिजहरूको प्रशोधनमा असाध्यै हतार गर्नु पर्ने स्थिति छ।

यिनीहरूलाई स्वास्थ्य क्षेत्र सँग, पर्यटन क्षेत्र सँग शिक्षा क्षेत्र सँग इन्ट्रिगेट गरेर लैजानु पर्ने अवस्था छ।

यिनै कुराहरूलाई जोड्न सरकारले आर्थिक नीति र वित्तीय नीतिमा नै केही व्यवस्था गर्नु पर्ने हुन्छ। जसको लागि बजेट महत्त्वपूर्ण हुन्छ। यी सबै कुराहरुलाई सम्बोधन गर्ने गरी कस्तो बजेटको आवश्यक होला ?

वित्तीय नीतिमा ठुलो परिवर्तन गरिरहनु हुँदैन। यो समस्या वित्तीय नीतिमा अलि बढी देखिएको छ। पछिल्लो समय युवराज खतिवडाले केन्द्रीय बैंकमा हुँदा शेयर र घर जग्गामा कडाइ गरिदिनु भएको थियो। त्यो बेला अलि बढी नै भएको थियो। त्यसैले उक्त कदम उठाइएको थियो। त्यस्तै खालको अवस्था भने पटक पटक ल्याइनु हुँदैन। एक हदसम्म त्यसलाई जान दिनु पर्छ। खेल्ने अवसर प्राप्त हुनु पर्छ। अनि मात्रै इकोनमिलाइ सपोर्ट हुन्छ।

उता मौद्रिक नीतिले गर्नु पर्ने भनेको बित्तीय नीतिलाई सघाउने हो। उसले त्यसलाई ब्यालेन्समा राख्न सक्नु पर्छ। यति गर्दा गर्दै पनि बजेटले लिएका उद्देश्यहरूमा स्थायित्व हुनै पर्छ। नीतिगत रुपमा बढी परिवर्तित हुनु हुँदैन। तर निगरानी चाहिँ गरिरहनु पर्छ।  १५ औ योजना हासिलका लागि बजेट तर्जुमा हुँदै आएको छ। यो ठिक छ। जो आए पनि गर्ने त आखिर त्यही नै हो। तर जुन मोडालिटि हामीले लिएका छौ त्यो मोडालिटिले लय लिनु पर्ने हुन्छ। तर समस्या सरकारको तर्फ छ। निजी क्षेत्रमा त्यो समस्या छैन।

सरकारले जति पनि योजना अघि सारेको छ। कहीँ काम भएको जस्तो देखिन्छ। कहीँ कामै नभएको जस्तो पनि छ। त्यो समस्या भनेको लिडरसिपमा देखियो। खास ती जति पनि योजना छन्। तिनलाई कसले नेतृत्व गरिरहेको छ ? बाहिरबाट हेर्दा लिडरसिप देखिँदैन। हो प्रपर लिडरसिप नभएको कारणले यस्तो भद्रगोलको अवस्था आएको हो। अर्को कुरा सिस्टमले काम गरेको छैन। उही पावरको एक्सरसाइज बढी देखिन्छ। जस्तै योजना आयोगसँग प्रोजेक्ट बैक छ। तर कसैले आएर मेरो क्षेत्रमा यो योजना चाहियो भनेर दबाब दियो। मन्त्रिले गरिदिए भने योजना आयोगले बनाएको प्रोजेक्ट बैंकको के अर्थ भयो ? हो यही अवस्था अहिले देखि राखेको छ। जसलाई परिवर्तन गर्नु पर्ने आवश्यकता छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।