व्यवसायीहरूकाे पार्टी प्रवेश, निजी क्षेत्रले गरेको सबै उपलब्धि खरानी भएन ?

Apr 12, 2021 06:20 PM Merolagani

डा.जगदीशचन्द्र पाेखरेल

जब राजनीतिमा हलचल देखिन्छ,त्यस्तो बेलामा अर्थतन्त्रमा पनि केही प्रभाव पर्न थाल्छ। तर यो कोभिडपछि भने यसमा थोरै परिवर्तन आउन सुरु गरेको देखिन थालेको छ।

किनकि बाध्यताका बीच पनि अहिले निजी क्षेत्रले जुन किसिमको इनिसिएसन लिइराखेको छ। यसले केही सन्देश दिइरहेकाे छ। यस्तो जटिल परिस्थिति र राजनीतिक किचलो अहिलेसम्मकै ठूलो हुँदा समेत निजी क्षेत्रले इन्भेष्टमेन्टमा कन्जुस्याइँ गर्नुको सट्टा थप बढाउँदै लगेको देखिन्छ। गएको दुई महिनाको केन्द्रीय बैंकको तथ्याङ्कले पनि त्यही देखाइ रहेको छ। मुलुकमा अब राजनीतिक किचलोले व्यवसायी गतिविधिलाई फरक पार्न छाड्दै गएको छ। तिमीहरू राजनीतिक वृत्तमा आफ्नो किसिमले जे गर्छौ गर्दै गर हामी आफ्नो तरिकाले अघि बढ्छौ भन्ने कन्फिडेन्स निजी क्षेत्रमा बढ्दै गएको हो कि भन्ने अनुभूति मलाइ हुन थालेको छ।

सिएनआइले मेक इन नेपाल भन्ने अभियान यही बेलामा सुरु गर्‍यो भने उता नेपाल उद्योग वाणिज्य महासंघले १० बर्षे भिजन पेपर तयार गरेको अवस्था छ। यीनै आधारहरूलाई हेरेर मैले यस्तो भनेको हुँ।

यस्तो परिवर्तन आउनुमा युवाले बढी फोर्स गरेको पाउँछु। पहिलेका ट्रेडिसनल व्यवसायी भन्दा अहिले नेतृत्वमा भएका व्यवसायीहरू युवा छन्। उनीहरूको सोच युवा शैलीको छ। उनीहरूमा राजनीति भन्दा पनि प्रोफेसनल बिजनेसमा बढी रुचि बढ्दै गएको देखिन्छ। किनकि उनीहरू विश्व परिवेशलाई बढी महत्त्व दिने खालका छन्। उनीहरूमा बाहिरको एक्पोजर अलि बढी देखिन्छ। त्यही भएर पनि उनीहरूमा यो परिवर्तन आएको हो।

तर अहिले नै यहि नै हो भन्ने अवस्था पनि छैन। यसलाई कतैबाट बाधा परेन भने आउने दिनमा यो ट्रेन्डको विकास भएर जाने अनुमान लगाउन सकिन्छ। किन भन्दा पार्टीहरु फुट्ने,सरकारहरू यता उता भई राख्ने भइरहँदा पनि व्यापार अघि बढाउनु पर्छ। व्यापार बढाउन सकिन्छ। व्युरोक्रेसीसँग पनि काम गर्न सकिन्छ भन्ने कुरा आउनु भनेको व्यवसायको लागि राम्रो कुरा हो। यो यसैगरी गयो भने राष्ट्रको लागि धेरै राम्रो कुरा हो।

इटलीमा सेकेन्ड वर्ल्ड वार १९४५ मा सकियो। मलाई लाग्छ सबैभन्दा बढी सरकार परिवर्तन भएको प्रजातान्त्रिक मुलुकमा इटली पर्छ। अहिले आएर दुई चार वर्ष स्टेबल भयो। नत्र त्यहाँ धेरै छिटो परिवर्तन भइरहने गर्थ्यो। तर इकोनमी भने ग्रो भई रह्यो। त्यो कसरी सम्भव भयो भनेर बेला बेलामा जिज्ञासा राख्दा उनीहरूको सहज उत्तर पाइन्थ्यो। राजनीति आफ्नो ठाउँमा छ। हामी आफ्नो तरिकाले काम गरिरहेका छौ। त्यसले डेमोक्रेसी पछिको परिपक्वतालाई पनि इङ्गित गर्छ। समग्र इकोनमिका एक्टिभ एक्टरहरु अघि बढेका हुन् भन्ने पनि सन्देश दिन्छ। त्यो नेपालमा पनि सुरुवात भएको अनुभूति मैले गरिराखेको छु।

बजारबाट परिचालित कुराहरूलाई सरकारले बेला बेलामा नचाहिँदो अवरोध गरिदिएन भने र बजारलाई राम्रो सित अनुगमन र नियमन मात्रै गरिदियो भने इकोनमि अघि बढ्छ भन्ने यसले देखायाे।

सरकारका तर्फबाट हेर्दा यति बेला फाट फुट काम भएको जस्तो देखिन्छ। तर लय लिन सकेको छैन। सरकारले त्यो लय किन दिन सकेको छैन  ? त्यसमा राजनीतिक कारण होला।

त्यसमा अर्को कमजोरी के देखिन्छ भने जुन सिस्टम विकास हुँदै गएको छ। त्यसमा अपनत्वको कमी देखिन्छ। जुन सिस्टम बसालिँदै छ। त्यो मुलुकका लागि हो,यसलाई मैले अघि लैजानु पर्छ। यो मेरो र मुलुक दुवैको लागि हो। यसले मेरो र मुलुक अनि सर्वसाधारण सबैलाई हित हुन्छ भन्ने सेन्स राजनीतिक अगुवा,सरकारमा बस्ने व्युरोक्र्याट्समा अझै आएको छैन।

बिशेषगरी, सरकारलाई किन आएको छैन भन्दा अझै पनि कम्युनिस्ट पार्टीमा सैद्धान्तिक बिराेधाभास छ। उनीहरूले भन्दा एक थोक भन्नु परेकाे छ गर्दा अर्को थोक गर्नु परेकाे छ। त्यो मूल समस्या हो। लय लिन नसक्नुको पछाडिको मूल कारण नै यही हो। त्यसको उदाहरणका रुपमा लिनु पर्दा सुरुवातमा अर्थमन्त्रीले जुन श्वेत पत्र निकाल्नु भयो त्यही नै सबैभन्दा ठुलो संकेत हो।

उनीहरूले सर सल्लाहको लागि क्यापलिष्टहरुलाइ पनि बोलाएका हुन्छन्। सल्लाह पनि लिएका हुन्छन्। तर उनीहरूको शैली चाहिँ क्यापलिष्टहरुले भनेको हैन कि क्यापलिष्टहरुले चाहिँ उनीहरूको आधारमा गरिदिनु पर्ने खालको देखिन्छ। किनकि क्यपलिष्टहरुले दिएको सल्लाह अनुसार कुनै पनि कुरा आउँदैन। उनीहरू आफ्नै तरिकाले आफै अघि बढ्छन्।

क्यपलिष्टहरुले सबै कुराको लेखा जोखा गरेर भनेका हुन्छन्। तर उनीहरूले के आधारमा भनेको हो ? थाहा हुँदैन। जब कुनै आधार बिनै भनिएको कुरालाई क्यापलिष्टहरुले कसरी समर्थन गर्लान्। त्यही भएर उनीहरूको कामले लय लिन सक्दैन। कुनै आधार र योजना बिनै हचुवाको भरमा गरिएको कामले कसरी लय लिन्छ ?

हो । यही बिराेधाभासकाे असर अर्थतन्त्रमा सोझै परिरहेको छ। निजी क्षेत्रमा यसकाे साेझै असर परिरहेको छ। तपाइहरूले भर्खरै देखि हाल्नु भयो दुई सय ३९ जना उद्योगपतिहरूले एमाले प्रवेश गरे भनेर प्रधानमन्त्रीले स्वागत गर्नु भयो। त्यस्तो हुनु हुँदैन। उहाँहरूले ताली बजाउनु होला। तर राष्ट्रको हिसाबबाट हेर्दा यसलाई राम्रो पटक्कै मान्नु हुँदैन। त्यो प्रवेश किन भयो ? उहाँहरुले नै जान्ने कुरा हो। प्रधानमन्त्रीले पनि यस्तो चिजलाई इनकरेज गर्ने होइन।

सामान्य अनुमान लगाउँदा उद्याेगीहरू आर्शिर्वाद खोज्न थाल्नु भएको भन्न सकिन्छ। उहाँहरू किन डराउन थाल्नु भयो र आशिर्वाद लिन थाल्नु भयाे ? यदि म गइन भने मलाइ सरकारले के के गर्ने हो भन्ने भय उहाँहरूमा हुन थाल्यो। भयभीत हुने जति सबैले आर्शिर्वादकै लागि पार्टीको सदस्यता लिनु भयो। यस्तो चिज पनि गर्ने हो ? बेइज्जत ।

यत्रो लामो समय लगाएर निजी क्षेत्रले प्रगति गरेको सबै उपलब्धि खरानी भएन ? यतिका वर्षदेखि निजी क्षेत्रले गरेको उपलब्धि सबै पानीमा गएन ? निजी क्षेत्रले ४० औ वर्ष लगाएर आफ्नै अस्तित्व खडा गरेको होइन ? त्यही अस्तित्वका कारणले नै सरकारले निजी क्षेत्रलाई चाहेर पनि बाइपास गर्न नसक्ने स्थिति आएको होइन ? कुनै पनि बजेट वा कार्यक्रम बनाउँदा निजी क्षेत्रको सहयोग खोज्ने अवस्था आएको यही कारणले हाेइन ?

निजी क्षेत्रमा परिपक्वता आयो। उनीहरू इन्डिपेन्डेन्ड भए। बजारले ग्रुम गर्‍यो। उनीहरूको आफ्नै स्ट्रेन्थ छ।  सरकारसँग बार्गेनिङ गर्न सक्ने शक्तिकाे विकास गर्‍यो भनेर उनीहरूलाई सरकारले स्पेस दिन थालेको यथार्थ हाे। तर यस्ता क्रियाकलापले त्यो सबै मेटिने स्थितिमा आइपुग्यो।सरकार सँग बार्गेनिङ गर्ने मानिसहरू आँफै त्यही मिसिन गएपछि सकिएन अस्तित्व ? सकिएन बार्गेनिङ पावर ? त्यो धेरै ठुलो समस्या हो।

यो तरिकाले वास्तविक निजी क्षेत्र अघि बढ्दैन। यो तरिकाले क्रोनी प्राइभेट सेक्टर ग्रुम हुन्छ। फेरि क्रोनी भनेको राजनीतिक दल विशेष नजिक भएको मानिन्छ। त्यसले इकोनमिक रुल भन्दा राजनीतिक रुल अनुसार इकोनमी चलाउन खोज्छ। इन्भेस्टमेन्ट गर्न खोज्छ। याे त डिजास्टर नै हाे ।

सुरुमा मैले जुन पोजेटिभ इन्डिकेसनहरू भने यी त्यसलाई काउन्टर दिने कुराहरू हुन्। त्यसैले धेरै कियरफुल हुनु पर्ने अवस्था छ। उहाँहरु किन डराएको ?

खुलस्त भन्नुपर्दा जसले जे भने पनि अहिलेको जमाना भनेको लिबरल इकोनमीको  हो। सैद्धान्तिक रुपमा कुनै राजनीतिक विशेषलाई मन पराउला वा मन नपराउला। आ आफ्नै झुकाव होलान्।  हामीले त्यही प्राक्टिस गरिरहेका छौ। चाहे त्यो राज्य क्यापलिष्ट होस् या व्यक्ति क्यापलिष्ट होस्।

राज्य क्यापलिष्ट भनेको चीन हाे। व्यक्ति क्यापलिष्ट भनेको जहाँ उद्योगी व्यापारी व्यक्तिगत रुपमा खडा भएका हुन्छन्, त्यसलाइ मान्नु पर्छ। सबैले गर्ने त्यही हो। चीनमा राज्यले प्रमोट गरिरहेको छ। यहाँ इन्डिभ्युजल व्यक्तिले प्रमोट गरिरहेको अवस्था छ। फरक यति हो। तर ओपन नै हो।

यो भन्दा फरक तरिकाले जान सकिन्छ कि भनेर सोचियो भने अहिलेसम्म हामीले गरेको याेगदान मर्छ।  चीन त आफै अन्टरपेनियर हो।  तर हाम्रो त्यो अभ्यास होइन। हामी  आफु आफै इन्टरपेनियर छौ। आफ्नो आफ्नो फाइदाबाट परिचालित छौ। समग्रतामा राष्ट्रलाई याेगदान गरिरहेका छौ। याे हाम्राे फिलोसपी हाे।

फेरि दिगो पनि यही हुन्छ। फाइदा पनि यही हुन्छ। हामीले प्राक्टिस गरेको र हाम्रो जनजीवन र संस्कृतिसँग पनि यही फिट हुन्छ। तर पछिल्लो राजनीतिक प्रवेशले के देखायो भने राजनीतिक दल निकट अन्टरपेनियरको प्राक्टिस सुरुवात गर्न लागिएको हो ? यो प्रश्न व्यवसायीको पार्टी प्रवेशले जन्माएको छ। यदि यसको उत्तर राजनीतिक पार्टीहरू नै अन्टरपेनियर हुन भन्ने आयो भने राष्ट्रको लागि त्यो भन्दा ठुलो घात अरू केही हुन सक्दैन। जुन आफैमा खतरनाक हुने छ।  

मुलुकमा अहिले तीन वटा मेजर एक्टरहरु छन्। मैले यसलाई थ्री बल्क भन्छु। एउटा बल्क राज्य भयो। राज्य संयन्त्र। अर्को बल्क भनेको निजी क्षेत्र। अन्तिम बल्क भनेको नागरिक समाज। यी तीन वटै स्वतन्त्र छन्। यी तीन वटैको सहकार्यबाट अहिले पनि चलाइ रहेको अवस्था हो। तर चीनमा त्यो होइन। चीनमा स्टेटबाट परिचालित हुन्छ। स्टेटले चाह्यो भने हुन्छ। नभए हुँदैन। 

यसरी इन्डिपेन्डेड अस्तित्व कायम गरिरहेका मानिसहरू एका एक किन डराए ? म आफै छक्क परिरहेको छु। उहाँहरुले असुरक्षित महशुस गर्नु भयो होला। त्यो हामीलाई थाहा छैन। असुरक्षा कहाँ कहाँबाट छ ? सायद त्यसैको सुरक्षा खोज्दै उहाँहरू प्रधानमन्त्री कहाँ पुग्नु भयो हाेला। अब हामी तपाईका मान्छे भयौ भनेर टिका लगाउनु भयो।

उहाँहरू कसैको मान्छे हुनै पर्दैन। उहाँहरू बजारको मान्छे हो। उहाँहरूले उत्पादन गर्ने हो। उपभोक्ताकाेमा पठाउने हो। उनीहरूलाई खुसी पार्ने हो। देशलाई ट्याक्स तिर्ने हो। त्याे हाे उहाँहरूकाे भूमिका ।

यो अवस्थाको सुरुवातको बीजारोपण गर्नेमा राजनीतिक दल देखिएका छन्। उनीहरूले ठुलो गल्ती गरिरहेका छन्। कुनै पनि राजनीतिक दलहरूले कुनै उद्योगी समाउने, उसलाई केन्द्रीय कमिटीमा राख्ने। जस्तै विनोद चौधरी, मोती दुगड लगायत। यिनीहरूलाई नीति बनाउने ठाउँमा लगेर राख्न हुँदैन। यो नै गलत भएको छ। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्ने त हुन्छ नि।

हो यहाँनेर राजनीतिक दलहरूको ठुलो गल्ती भएको छ। यहीबाट यसको सुरुवात भएको हो। यस्तै प्रवृत्तिले अहिलेको अवस्था सिर्जित गर्न मलजल गर्‍यो। यो ठीक हुँदै होइन। यसलाई कुनै पनि कोणबाट राम्रो भन्न सकिँदैन।  

उद्याेगीलाई  राजनीतिक पद चाहिएको भए दिए भयो। तर नीति बनाउने ठाउँमै चाहिँ राख्नु भएन। त्यो बेला अझै भएको छैन। त्यो बेला पनि आउँछ। हामी विकासको क्रममा निक्कै माथि पुगेपछि यी कुराहरू पनि आउँछन्। तर त्यसको लागि विकास अपरिहार्य छ। जस्तै अमेरिकामा बिजनेसमा राम्रो नाम बनाएकाले राष्ट्रपति नै चलाए। हो त्यस्तो दिन पनि आउँछ।  विकासले संयन्त्रलाई परिपक्व बनाउँछ। परिपक्व संयन्त्रले त्यसलाई पनि नियम भित्र बस्न बाध्य पार्छ। तर हाम्रोमा यस्तो अवस्था आइसकेको छैन।

राजनीति र व्यवसाय यसका नियम नै फरक हुन्छ। यिनीहरू हिँड्ने बाटै फरक हुन्छ। राजनीतिक खेलका नियम र व्यवसायिक खेलका नियम नै फरक हुन्छन्। जब राजनीति र व्यवसाय एकै बाटोमा हिँड्न सुरु गरेपछि त्यसले कस्तो सन्देश देला ? राज्यले व्यवसायलाइ नियमन र अनुगमन गर्नु पर्ने दायित्व बोकेको हुन्छ। त्यो राज्य संयन्त्रमा जाने भनेको राजनीतिक व्यक्ति नै हो। उसलाई जनताले चुनेर पठाउने हो। जसको नियमन र अनुगमनको लागि भनेर चुनेर पठाइन्छ। हो त्यो संयन्त्रमा व्यवसायी आफै पुग्यो भने के हुन्छ ?  कन्फ्लिक्ट अफ इन्ट्रेस्ट सुरु हुन्छ। जब व्यवसायीले आफ्नो हितमा काम गर्न थाल्यो र भटाभट निर्णय गर्‍यो भने के हुन्छ मुलुकको अवस्था ? त्यसैले प्रधानमन्त्रीको हातबाट टिका लगाएर व्यवसायी राजनीतिक दलमा प्रवेश गरे भन्ने जुन अवस्थालाई जति सानो रुपमा यति बेला ग्रहण गरिँदै छ। यसले भविष्यमा सर्वसाधारण, मुलुक र राज्यको लागि हित गर्दैन। यसरी त हुँदै हुँदैन। एक किसिमको चेक एन्ड ब्यालेन्स त हुनै पर्छ। त्यस्तो भएन भने कसले मानिदिन्छ नियम कानुन ? यसले मुलुकलाई ठूलो हानी पुर्याउछ।

यो नराम्रो ट्रेन्ड किन सुरु भयो ? कुनै डरको कारण  भएकाे हुनु पर्छ। त्यो डरको सोर्स के हो। त्यो कुरा पत्ता लगाउन जरूरी देखिन्छ। यसरी व्यवसायीहरू डराएर हिँड्नु पर्ने अवस्था आइ सकेको भन्ने महसुस हामीले गरिसकेका छैनौ। त्यसैले यसलाई जति सक्दो चाँडो सुधार गर्न सकियो। त्यति छिटो हामीले सिस्टम बसाल्न सक्छौ। अन्यथा ठुलै समस्याको सामना गर्न हामीले शक्ति सञ्चय गर्दै जानुको विकल्प छैन। 

( मेराे लगानीका सुवास निराैलाले डा.जगदीशचन्द्र पाेखरेलसँग गरिएकाे कुराकानीमा आधारित लेख)      

comments powered by Disqus

एकैदिन ९ हजार ७० जनालाई कोरोना संक्रमण, २४ घण्टामा ५४ जनाको मृत्यु

May 06, 2021 05:39 PM

पछिल्लो २४ घण्टामा ९ हजार ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार १४२ जनामा गरिएको परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।