बैंक तथा वित्तीय संस्थाको मार्जिन कर्जामा लगानी १ खर्ब नजिक पुग्यो

Jun 09, 2021 11:48 AM Merolagani



चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मार्जिन कर्जामा लगानी करिब १ खर्ब नजिक पुगेको छ।

केन्द्रिय बैंकको तथ्याँक अनुसार बैशाख मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले मार्जिन कर्जामा ९४ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन्। यो अघिल्लो महिनाको तुलनामा २.६७ प्रतिशतले धेरै हो।

गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मार्जिन कर्जामा ९१ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेका थिए। लकडाउनको कारण अघिल्लो महिनाहरुको तुलनामा यस्तो कर्जाको बृद्धिदर भने केहि घटेको छ।

बैशाख यता बैंकहरुको सबै खालका कर्जाको बृद्धिदर केहि घटेको छ। अन्य कर्जाजस्तै यस अवधिमा मार्जिन कर्जाको बृद्धिदर पनि घटेको हो। तर अन्य कर्जाहरुको तुलनामा मार्जिन कर्जाको बृद्धिदर धेरै देखिएको छ। 

पछिल्लो समय शेयर बजार लगातार बढ्दो क्रममा छ। मंगलबार मात्रै नेप्से सूचकले २९९६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ। गत डेढ वर्षदेखि लगातार बढ्दो क्रममा रहेको बजार अझै बढ्छ भन्ने विश्वास रहेका कारण लगानीकर्ताहरु थप कर्जा लिएर बजारमा लगानी बढाइरहेका छन्।

  • वाणिज्य बैंकहरुको मार्जिन कर्जा बढ्दा विकास बैंक र फाइनान्सको घट्यो

बैशाखसम्ममा वाणिज्य बैंकहरुले मात्रै ८१ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन्। यो अघिल्लो महिनाको तुलनामा ३.३१ प्रतिशतले धेरै हो। चैतसम्ममा मार्जिन कर्जामा वाणिज्य बैंकहरुको लगानी ७८ अर्ब ९९ करोड थियो।

बैशाखमा विकास बैंकहरुको भने मार्जिन कर्जामा लगानी घटेको छ। बैशाख महिनामा यस्तो कर्जामा गरिएको लगानी १.३३ प्रतिशतले घटेर १० अर्ब १८ करोड रुपैयाँमा झरेको छ।

यस्तै फाइनान्स कम्पनीहरुको पनि मार्जिन कर्जामा लगानी घटेको छ। बैशाख महिनामा फाइनान्स कम्पनीहरुको मार्जिन कर्जामा लगानी १.१९ प्रतिशतले घटेर २ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ।

चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले पनि मौद्रिक नीतिमार्फत यस्तो कर्जामा केही लचकता अपनाउँदै सिमा बढाइदिएको छ भने ब्याजदर घटेको बेला शेयर बजार बढ्दो क्रममा रहेको छ यसले गर्दा आर्थिक वर्षको सुरुवातदेखि नै मार्जिन कर्जाको अनुपात बढ्दो क्रममा छ।

  • कुन बैंकको कति छ मार्जिन कर्जामा लगानी?

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकको मार्जिन कर्जामा लगानी सबैभन्दा धेरै रहेको देखिएको छ। बैशाख मसान्तसम्ममा बैंकले ७ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको छ।

यसैगरी एनआइसि एशिया बैंक, नविल बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकको पनि मार्जिन कर्जामा ५ अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको छ।

कृषि विकास बैंकको भने मार्जिन कर्जामा लगानी १० करोड रुपैयाँ मात्रै रहेको छ भने स्ट्यान्डर्ड चाटर्ड र नेपाल एसविआइ बैंकले भने मार्जिन कर्जामा लगानी गरेका छैनन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।