केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडि रेसियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ। गत वर्षसम्म ८० प्रतिशत भन्दा कम सिसिडि कायम गर्नुपर्ने व्यवस्था थियो। 
गत असार मशान्तसम्ममा २७ वटा बैंकको औसत सिसिडि रेशियो ७७.३८ प्रतिशत पुगेको थियो। गत जेठ अन्तिम सम्ममा ७८.८४ प्रतिशत पुगेको सिसिडि रेशियो असार महिनामा सरकारको खर्च बढेसँगै केहि घटेको देखिएको छ। बैंकहरुको ओसत सिसिडि रेशियो ८० प्रतिशतसम्म पुगेको थियो। तर बैंकमा लगानीयोग्य रकम बढेसँगै यस्तो रेशियो पुनः घटेको छ। गत जेठ महिनाको तुलनामा असारमा अधिकाँश बैंकको सिसिडि रेशियो घटेको बैंकर्स सँघले जनाएको छ। 
गत वर्ष केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत लिएका कतिपय नीतिहरुका कारण बैंकहरुले तरलता समस्या भोग्नु परेन। अहिले पनि बैंकहरुमा १ खर्ब माथि तरलता पुगेकोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तरलता पर्याप्त हुने बैंकरहरु बताउछन्। 
गत असारमा बैंकहरुमा लगानीयोग्य रकम बढेसँगै अन्तरबैंक ब्याजदर समेत घटेर १ प्रतिशतभन्दा तल झरेको छ। साउन २ गतेसम्म्मा बैंकहरुबीचको अन्तरबैंक सापटिको ब्याजदर ०.२४ प्रतिशतमा झरेको केन्द्रिय बैंकले जनाएको छ। 
गत वर्ष केन्द्रीय बैंकले लगानीयोग्य रकम बढाउन सिसिडि रेशियो केहि लचकता अपनाएको थियो भने सिआरआरमा समेत १ प्रतिशत छुट दिएको थियो। 
चालु आर्थिक वर्षमा पनि तरलता अभाव हुन नदिन केन्द्रिय बैंकले ध्यान दिनुपर्ने सुझाव सरोकारवालाहरुले दिइरहेका छन्। नेपाल उद्योग वाणिज्य महासँघले पनि मौद्रिक नीतिको सुझावमा नै चालु आर्थिक वर्षमा तरलता कमी हुन सक्ने भन्दै केन्द्रिय बैंकले त्यसमा ध्यान दिनुपर्ने जनाएको छ। 
निजी क्षेत्रका केहि बैंकहरु कर्जा लगानीमा आक्रामक भएपछि उनीहरुको सिसिडि रेशियो अलि बढी देखिएको छ। गत वर्ष सबैभन्दा धेरै कर्जा लगानी बढाउने बैंकहरु मेगा बैंक र एनआइसि एशिया जस्ता बैंकहरुको सिसिडि रेशियो अलि बढी देखिएको छ। स्रोतको अधिकतम प्रयोग गर्न सक्ने तथा कर्जा लगानी बढाएका बैंकहरुको नाफामा समेत सुधार हुँदै गएको छ। तर लगानी गर्न नसक्ने बैंकमै पैसा थुपारेर राख्ने बैंकहरुको नाफामा भने असर परेको छ।
असार मशान्तसम्मको तथ्याँक हेर्दा ८ बैंकको सिसिडि रेशियो ८० प्रतिशतभन्दा माथि रहेको छ। जसमा मेगा बैंकको सबैभन्दा धेरै ८२.०२ प्रतिशत, एनआइसि एशिया बैंकको ८१.१२ प्रतिशत, कुमारी बैंकको ८१.०१ प्रतिशत सानिमा बैंकको ८०.६० प्रतिशत र सनराइज बैंकको ८०.४१ प्रतिशत रहेको छ।
 
बैंकहरुले कमाउने मुख्य स्रोत भनेकै ब्याज आम्दानी हो। जति धेरै लगानी गर्न सक्यो त्यति नै बैंकहरुको आम्दानी बढ्छ। यसै कारण अहिले केहि बैंकहरु कर्जा लगानी बढाउन लागि परेका छन्। निक्षेप आउने वित्तीकै रकम होल्ड नगरी ब्याजको लागि कर्जा लगानी गरिहल्ने गरेको कारण समेत बैंकहरुको सिसिडि रेशियो बढेको हो। 
यस अवधिमा नेपाल बंलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंकको भने सिसिडि रेशियाे ७० प्रतिशतभन्दा कम रहेको देखिएको छ। असार मशान्तसम्ममा नेपाल बंलादेश बैंकको सिसिडि रेशियो ६७.३७ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको सिसिडि रेशियो ६९.७४ प्रतिशत छ। बैंकको सिसिडि रेशियो निकै कम हुनुले बैंकले सोचेजति लगानी विस्तार गर्न नसकेको बुझिन्छ।