बुलिश सेन्टिमेन्ट र सर्कुलर ट्रेडिङका कारण बजार उचाइमा, मौद्रिक नीति पर्खिएका लगानीकर्ताको समेत प्रवेशले कारोबार रकम बढ्दै

Jul 28, 2021 07:58 AM Merolagani

सुवास निरौला

बुलिश सेन्टिमेन्ट र सर्कुलर ट्रेडिङका कारण शेयर बजारले नयाँ उचाइ कायम गर्दै गएको छ। सरकार परिवर्तन र काङ्ग्रेस सरकार आएपछि शेयर बजारमा बुलिश सेन्टिमेन्ट बढ्दै गएको हो।

“सर्वसाधारण लगानीकर्तामा बजार अझै बढ्छ भन्ने मनोभावना बलियो बन्दै गएपछि बुलिश सेन्टिमेन्टले काम गरेको हो,” शेयर बजार दबाब समूहका एक सदस्य नयन बास्तोलाले मेरोलगानीसँग भने। पछिल्लो समय बोर्डको विज्ञप्तिपछि बजारमा घट्दो प्रेसर देखिएको थियो। लागत घट्दै गएको बजारमा सरकार परिवर्तन हुने खबर आएसँगै बजारमा लगानीकर्ता थोरै आशावादी देखिएका थिए। उता नव-नियुक्त अर्थमन्त्रीले समेत शेयरबजारमैत्री नीति अख्तियार गर्ने सङ्केत गरेका छन्। यसले पनि लगानीकर्ताकाे मनोभावना बलियो बन्दै गएर बजारमा बुलिश सेन्टिमेन्ट देखिएको बास्तोलाको भनाइ छ।

बुलिश सेन्टिमेन्टमा धेरैजसो लगानीकर्ता बजार बढ्छ भन्ने पक्षमा हुन्छन्। धेरै भन्दा धेरै लगानीकर्ताले बजार बढ्छ भन्ने मत राख्दा बजारमा बुलिश सेन्टिमेन्ट देखिने गर्छ। खासमा अन्तर्राष्ट्रिय बजारमा भने केही संस्थाले फरक फरक लगानीकर्ता मार्फत गरेको सर्वेक्षणको आधारमा बजारमा कस्तो सेन्टिमेन्ट छ भन्ने निर्धारण गर्ने गरिन्छ। तर नेपालमा भने त्यस्तो सर्वेक्षण  गर्ने आधिकारिक संस्था भने छैनन्। तर, पनि लगानीकर्ताहरूले भने यति बेलाको समयलाई बुलिश सेन्टिमेन्टकै रुपमा परिभाषित गरिरहेको बास्तोलाका जिकिर छ।

उता बुलिश ट्रेन्डको सर्पोर्टमा केही ठुला लगानीकर्ताले सर्कुलर ट्रेडिङ समेत शुरु गरेका छन्। उनीहरूले सर्कुलर ट्रेडिङ बढाएकै कारण बजार बढ्न थप टेवा मिलेको बास्तोलाले बताए। बुलिश ट्रेण्डमा ठूला खेलाडीले सर्कुलर ट्रेडिङ मार्फत शेयरको मूल्य बढाउन सहयोग गर्ने गर्छन्। जुन अभ्यास बिस्तारै नेपाली बजारमा समेत देखिन थालेको छ। “कुनै पनि ठूला लगानीकर्ताहरूले एउटा समूह बनाउँछन्। उनीहरूले निश्चित रकमसम्मको ट्रेडिङ गर्ने गर्छन्। उनीहरूले एउटा ब्रोकरबाट शेयर बेच्ने र त्यही समूहको अर्को मानिसले अर्को ब्रोकर कम्पनीबाट थोरै मूल्य बढाएर शेयर किन्ने गर्छन्। एउटै समूहले भिन्दा भिन्दै ब्रोकर मार्फत मूल्य बढाएर आफै किनबेच गर्ने अभ्यासलाई सर्कुलर ट्रेडिङ भनिन्छ। आफूले टार्गेट गरेका कम्पनीको मूल्य बढाउन भिन्दा भिन्दै समूह सर्कुलर ट्रेडिङमा सक्रिय हुने गर्छन्। यस्तो समूह र कारोबारको अभ्यासले शेयर बजार र कारोबार रकम दुवै बढ्न सहयोग गरेको छ,” बास्तोलाले भने।

अर्कोतर्फ बोर्डको विज्ञप्तिपछि घट्दै गएको बजारमा कारोबार रकम समेत बढ्दै गएको छ। कारोबार रकम बढ्नुमा सर्कुलर ट्रेडिङले थोरै सहयोग गरेको भएपनि धेरै जसो मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताको प्रवेशले कारोबार रकम बढ्न टेवा मिल्दै गएको विश्लेषण बास्तोलाको छ। “असारको अन्तममा बोर्डले विज्ञप्ति जारी गर्‍यो। त्यसको लगत्तै बजार घट्न शुरु गर्‍यो। साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने गर्थ्यो । उक्त नीतिमा शेयर बजारलाई टाइट गर्ने नीति अख्तियार हुन्छ भन्ने लगानीकर्ताले पहिलेदेखि नै अनुमान गर्दै आएका थिए। सोही मेसोमा लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा बसिदिए। तर, भनेको समयमा नीति सार्वजनिक भएन। उता बैंक तथा वित्तीय संस्थाको चौथो त्रैमासको रिपोर्ट सार्वजनिकको समय समेत पर धकेलियो। दुवै विषय पर धकेलिने निश्चित हुँदै गएपछि 'पर्ख र हेर' को अवस्थामा रहेका लगानीकर्ताले बिस्तारै बजार प्रवेश गर्न थाले। उनीहरूको प्रवेशसँगै बजार समेत उचालिँदै गएपछि बाँकी रहेका लगानीकर्ता समेत पछि परिने भन्दै बजारमा हाम फाल्न शुरु गरेपछि कारोबार रकम समेत बढ्दै गएको हो,” बास्तोलाले भने।

उता नेपाल राष्ट्र बैंकले शेयर बजारलाई प्रभाव पार्ने नीति मौद्रिक नीति मार्फत ल्याउँछ भन्ने अनुमानमा बसेका लगानीकर्तालाई सोमबार केन्द्रीय बैंकले जारी गरेको निर्देशनले प्रस्ट पारिदियो। केन्द्रीय बैंकले सार्वजनिक गरेको नीतिलाई लगानीकर्ताले मंगलबार नै पचाइ दिएपछि मौद्रिक नीतिको डर समेत लगानीकर्तामा हराउँदै गएको छ। अब मौद्रिक नीतिले मार्जिन ऋणमा कडाइ गर्ने बाहेक अर्को केही आउँदैन भन्ने ढुक्कको अवस्था देखिएपछि बजारप्रति लगानीकर्ता थप विश्वस्त हुँदै गएका छन्। उनीहरूले मार्जिनमा गरिने कडाइले समेत बजारलाई प्रभाव पार्दैन भन्ने निष्कर्षमा पुगेपछि बजारले नयाँ उचाइ कायम गर्दै गएको बास्तोलाको जिकिर छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।