ओलीले ‘बौद्ध’पठाएका कुलमानलाई प्रचण्डले प्राधिकरण ल्याउँदै, कुलमानलाई फुलमाला लगाउनु,हितेन्द्रलाई 'नडाम्नु'

Aug 05, 2021 06:33 PM Merolagani



पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध पठाएका कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउने भएका छन् । ओलीले घिसिङको प्राधिकरणमा चार वर्षे कार्यकाल सकिएसँगै उनलाई पुनः नियुक्त नगरी घर ‘बौद्ध’ पठाएका थिए ।

ओलीले घिसिङको कार्यकाल सकिएसँगै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए । ओली नेतृत्वको सरकारको अन्त्य भई नेपाली काँगेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार आएपछि प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी गरिएको छ ।

घिसिङ र शाक्य मात्र होइन, सत्ता परिवर्तन भएसँगै कर्मचारीमा पनि त्यसको प्रभाव पर्ने गरेको छ । राजनीतिक नेतृत्वले आफ्नो कमी कमजारी छोप्नलाई एउटा कर्मचारीलाई डाम्ने र अर्कोलाई फुर्काउने गरिएको नेपाल इन्जिनियरिङ एशोसिएसन (एनइए) का महासचिव छबि पोखरेलले बताए । उनले अहिले नेपाल विद्युत प्राधिकारणमा त्यस्तै हुने सम्भावना देखिएको स्पष्ट पारे ।

‘दुबै (कुलमान र शाक्य) देश निर्माणका नक्षत्र हुन् । कुलमान घिसिङलाई देवत्वकरण गरेर हितेन्ददेव शाक्यलाई दानवीकरण गर्ने गल्ती नगरौं,’ उनले भने, ‘न कुलमानले मात्र यो देश बनाउन सक्छन्, न त शाक्यले देश विगारेका छन् ।’ कर्मचारीलाई राजनीतिक स्वार्थपूर्तिका लागि बिभाजित गर्न नहुने तर्क पनि उनले राखेका छन् ।

‘कुलमानलाई प्राधिकरणमा पुनः लैजानका लागि शाक्यलाई असक्षमताको बिल्ला भिराउनु भएन्,’ उनले भने, ‘ठिक छ कुलमानलाई लाने हो भने शाक्यलाई त्यस्तै अर्को जिम्मेबारी दिनुपर्छ । ’ मूल्यांकनको नाटक गरेर त अयोग्य भइस भनेर डामेर पठाउन नहुने उनको तर्क छ ।

यता हितेन्द्रदेव शाक्यले पनि पत्रकारसँगको कुराकानीमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेबारी दिने हो भने सरकारले मलाई त्यही अनुसारको जिम्मेबारीको नेतृत्व दिनु पर्ने बताएका छन् । अन्यथा ‘अदालत जाने’ चेतावनी दिएका छन् ।

उता प्रधानमन्त्री देउवाले घिसिङलाई प्राधिकरणको प्रमुख बनाउन निर्देशन दिएका छन् । ऊर्जा मन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशन बनाउने तयारी थालेकी छिन् ।

सरकार परिवर्तन हुनसाथ नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तन हुने चलन नै छ । नेपाल विद्युत प्राधिकारणका पूर्व कार्यकारी निर्देशक मुकेश काफलेलाइ पनि यसै गरी राजनीतिक दलले असक्षम भनि बिल्ला भिराइ दिएका थिए । उनका केही कमजोरी थिए होलान तर, असक्षमको बिल्ला भिराउने चलन एकपछि अर्को गर्दै प्राधिकरणमा झागिदै गएको छ ।

परिस्थितिले कर्मचारी परिवर्तन गर्नु पर्ने हुन्छ । त्यसलाई अन्यथा भन्न मिल्दैन् । तर, बर्षौदेखि प्राधिकरणमा बसेर सेवा गरेका व्यक्तिलाई अन्त्यमा घर जाने बेलामा ‘डामेर’ पठाउन नहुने बिज्ञहरुको भनाइ छ ।

कुलमानको छायाँमा परेकै हुन त शाक्य

लोडसेडिङको अन्त्य गरेर ‘स्यावासी’ पाएका घिसिङ पुनः प्राधिकरणको प्रमुख भएर आउने निश्चित जस्तै भएको छ । चार वर्षे कार्य अवधि समाप्त भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुनः नियुक्त नगरेपछि प्राधिकरणबाट बिदा भएका कुलमान फेरी प्राधिकरणको प्रमुख भएर आउन लागेका हुन् ।

देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको र उक्त सरकारमा नेकपा माओवादी केन्द्रबाट ऊर्जा मन्त्री पम्फा भुसाल भएसँगै कुलमानको पुनरागमन हुने हल्ला चल्न थालेका थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नजिक रहेका कुलमानको ऊर्जा मन्त्रीमा भुसाल आएसँगै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः आउने निश्चित जस्तै भएको छ।

कुलमानलाई तत्कालीन ओली नेतृत्वको सरकारले दाहाल नजिक भएकै कारण पुनः नियुक्ति नगरेको बताइन्छ । अहिले उनी अनुकुलको सरकार आएको र ऊर्जा मन्त्रालय पनि माओवादी केन्द्रले पाएकै कारण पुनः कुलमान नेपाल विद्युत प्राधिकरणको प्रमुख भएर आउने भएका हुन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो ।

नेपाल विद्युत प्राधिकारणका पूर्व कार्यकारी निर्देशक घिसिङ प्राधिकरणबाट गत वर्षको भदौको अन्तिम साता बाहिरिएसँगै लोडसेडिङ हुने हल्ला व्यापक रुपमा चल्यो । तर, कुलमान आएपनि नआए पनि लोडसेडिङ भने हुने सम्भावना छैन् र हुँदैन पनि । विद्युत प्राधिकरणले माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन हुन थालेको र त्यसले पनि नभ्याउने अवस्था आएमा भारतबाट बिजुली ल्याएर भएपनि लोडसेडिङ हुन नदिने बाचा आम नागरिकलाई दिँदै आएको छ ।

लोडसेङि नभएपनि पुराना पोल, पुरानै भौतिक संरचना र बिजुलीको उचित व्यवस्थापन हुन नसकेका कारण अहिले पनि झयाप झयाप बिजुली भने जान छाडेको छैन् । मुलुककै राजधानीमा काठमाडौंमा त यो हाल छ भने जिल्लाको त झनै अबस्था नाजुक छ । धेरैजसो जिल्लामा दिनको २,४ घण्टा बिजुली जानु सामान्य रुपमा लिन थालिएको छ ।

तर, यसरी बिजुली जादा पनि प्राधिकारणले भने त्यस्तो अवस्थालाई लोडसेडिङ भएको मान्न तयार देखिएको छैन् । प्राधिकरणले यसरी बिजुली जानुलाई ‘प्राविधिक कारण’ भन्दै आएको छ ।

मुलुक लोडसेडिङमुक्त भएको करिव पाँच वर्ष हुन लागेको छ । विद्युत प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

त्यसैगरी, २०७४ को वैशाखदेखि औद्योगिक क्षेत्रको पनि लोडसेडिङ हटेको थियो । त्यसअघि उक्त क्षेत्रमा दैनिक तीन घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।

त्यसपछि लोडसेडिङको मार खेप्नु नपरेको विद्युत प्राधिकरणको भनाइ छ । करिव पाँच वर्षअघि अघि दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्ति भएपछि लोडसेडिङ सदाका लागि ‘बाइबाई’ गरेका थिए ।

कुलमानको चार वर्षे कार्यकाल समाप्त भएपछि पुनः लोडसेडिङ हुने आंशका गरिएको थियो । तर, त्यस्तो आंशकाका विपरित अहिलेका कार्यकारी निर्देशक शाक्यले माग र आपूर्तिको कुशल तथा वैज्ञानिक व्यवस्थापन गरेकाले लोडसेडिङको सम्भावना नभएको बताउँदै आएका छन् ।

अहिले विद्युत प्राधिकरणलाई जलविद्युत आयोजना र प्रसारण तथा वितरण लाइनका आयोजनाको काम तीव्र रुपमा अगाडि बढाउनु पर्ने चुनौती छ । गुणस्तरिय, सुरक्षित र भरपर्दो बिजुली कसरी पुर्याउने भन्नेमा प्राधिकरण केन्द्रीत हुनुपर्ने अवस्था छ ।

छिनछिनमा बिजुली जाने र माथिल्लो तामाकोशी आयोजनाबाट ४ सय ५६ मेगावाट उत्पादन भएपछि बर्षामा बिजुलीको खपत बढाउने भन्ने चिन्तातिर प्राधिकरणलाई छ । त्यो कामको जिम्मेवारी पुनः कुलमानलाई दिन वर्तमान सरकार तयार देखिएको छ । कुलमानको छायाँमा शाक्य परेको कतिपयको बुझाइ छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।