बिक्री आम्दानीसँगै बढ्यो बोटलर्स नेपालका दुबै कम्पनीको नाफा

Aug 13, 2021 06:10 AM Merolagani

बोटलर्स नेपाल लिमिटेडका दुबै कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार दुबै कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ।

गत असार मसान्तसम्ममा बाेटलर्स नेपाल (बालाजु) (BNL) ले ४४ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २२.६६ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३२३.०६ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष १०.९८ प्रतिशत बढेको छ।

नाफा धनात्मक भएसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३१.७४ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा २३० रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २ हजार २११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७.९३ गुणा रहेको छ।

 

त्यसैगरी, यता बाेटलर्स नेपाल (तराइ) (BNT) ले  गत असार मसान्तसम्ममा ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ हजार ४७४.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ५६ लाख रुपैयाँ मात्र थियो। बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३३.८४ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी १७९.१६ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष १९.९७ प्रतिशत बढेको छ।

कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ रुपैयाँ ६५ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५२ रुपैयाँ ३५ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २ हजार २२७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९ गुणा रहेको छ।

 

comments powered by Disqus