२०६५ र २०७३ को भन्दा २०७८ को बुलमा धेरै भिन्नता छ, यस्ताे देखियाे ७८ काे बुलमा नयाँ नयाँ विशेषता

Sep 17, 2021 09:28 AM Merolagani

सुवास निरौला

बजारमा तरलता बिस्तारै टाइट हुँदै गएको छ। फेस्टिभल सिजन सुरु भए यता तरलता टाइट हुँदै गएको हो। नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म बैंकिङ प्रणालीमा करिव २५ अर्ब रूपयाँ तरलता छ भने अन्तर बैंक ब्याजदर पाँच प्रतिशतको हाराहारीमा पुगेको छ।

उक्त तरलतामा पनि राष्ट्र बैंकले उपलब्ध गराएको १५ दिने रिपो जोडिएको छ। पछिल्लो समय राष्ट्र बैंकले २० अर्ब रुपैयाँ प्रणालीमा पठाएको थियो। 

तरलता र ब्याजदर 

हरेक वर्ष चाडबाड नजिकिँदै गर्दा तरलता अभाव हुने रोग नेपाली बजारको लागि नयाँ होइन। अघिल्लो र गत वर्ष यो समस्या देखिएन। समस्या नदेखिनुको कारण कोभिडको असर रह्यो। लकडाउन र बन्दाबन्दीका बीचमा लगानीको वातावरण खुम्चिदा तरलता फालाफालको अवस्था रह्यो। बैंकिङ प्रणालीमा दुई सय अर्ब रुपैयाँभन्दा बढी तरलता रहेको अवस्था कोभिडको बीचमा दोहोरियो। यसअघि २०७३ सालमा पनि बैंकिङ प्रणालीमा दुई सय अर्बभन्दा बढी तरलता देखिएको थियो। तरलता फालाफालको कारणले २०७३ मा बैंकको ब्याजदर एकल अंकमा झरेको थियो। यस्तै अवस्था अघिल्लो र गत वर्ष पनि दोहोरियो। किनकि २०७३ मा जस्तै बैंकहरुले निक्षेपको ब्याजदर पाँच प्रतिशत भन्दा मुनि झारे। २०७३ मा अझै निक्षेपको ब्याजदर एक प्रतिशतसम्म नै ओर्लिएको थियो। जब जब बजारमा तरलता फालाफाल हुन्छ, तब तब ब्याजदर कम हुने गर्छ। २०६५ सालमा पनि त्यस्तै फालाफाल तरलताले गर्दा ब्याजदर निक्कै तल ओर्लिएको थियो।

ब्याजदर तल ओर्लिने र शेयर बजार मापक सूचकले नयाँ कीर्तिमान कायम गर्ने परम्पराले यसपाली पनि निरन्तरता पाएको छ। २०६५ सालमा ब्याजदर तल ओर्लिदै गर्दा शेयर बजार मापक सूचकले त्यस बेलाकै सर्वाधिक उचाइ ११७५ अंक छोएको थियो। त्यसैगरी २०७३ मा ब्याजदर ओर्लदा सूचक १८८१ अंकसम्म उक्लिएको थियो। ठ्याक्कै यही अवस्था गत वर्षदेखि शेयर बजारमा देखिन थालेको छ। प्रणालीमा तरलता फालाफाल हुँदै गएपछि शेयर बजारले गत आर्थिक वर्ष देखिनै नयाँ नयाँ उचाइ कायम गर्दै गएको छ।

तरलतालाई टेरेन

तीन वर्ष अघिकै अवस्था पुन:बजारमा फर्किएको छ। लगानीयोग्य रकमको अभाव बैकिङ प्रणालीमा देखिन थालेको छ। चालु आर्थिक वर्ष लागेदेखि नै तरलता टाइट हुँदै गएको हो। तरलता अभाव हुँदै गएपछि बैंकहरुले स्थायी तरलता उपयोग बढाउँदै लगेका छन्। उनीहरूले गत साउन १३ गतेदेखि यस्तो सुविधा प्रयोगलाई बढवा दिन थालेका हुन्। साउनको दोस्रो सातादेखि नै प्रणालीमा लगानीयोग्य रकम अभाव हुँदै गए पनि शेयर बजारले भने त्यसलाई टेरेको थिएन। बरु साउन ३१ गते बैंकहरुले तरलता अभावका कारण १२ सय २० करोड रुपैयाँ स्थायी तरलताको उपयोग गर्दै गर्दा नेप्से सूचकले भने भदौ दुई गते नयाँ कीर्तिमान कायम गर्‍यो। उक्त दिन सूचकले ३१९९ अंकको रेकर्ड कायम गरेको थियो।

तरलता अभाव चुलिँदै जाँदा बैंकहरुले बिस्तारै ब्याजदर समेत बढाउँदै गएका छन्।  असोजको लागि बैंकहरुले ब्याजदर बढाएका छन्। जसका कारण बिहीवार सूचक करीब ७७ अंकले घटेकाे छ।पछिल्लो समय बढ्दै गएको तरलता अभाव र बढ्दै जाने ब्याजदरको अनुमानका आधारमा लगानीकर्ता भने सचेत हुन थालेका छन्। जसको कारणले पनि केही दिन यता भने बजारमा केही गिरावट देखिएको छ।

 

यति ठुलो तरलता सङ्कट ब्याजदर बढ्ने खबर आउँदा समेत बजारलाई लगानीकर्ताले सामान्य जस्तै लिईरहेका छन्। जसलाई  शेयर बजारमा लामो समयदेखि काम गर्दै आएकाहरू समेत अचम्ममा परिरहेका छन्। “पछिल्लो समय बजारको डाइमेन्सन परिवर्तन भएको निष्कर्षमा उनीहरू पुगेका छन्। यतिको तरलता टाइट हुँदा पनि बजारमा त्यसको असर देखिएको छैन। बरु अन्य नीतिगत कुराले बजारलाई हिट गरिरहेको छ। यस्तो अवस्था हामीले शेयर बजारमा पहिलो पटक अनुभव गरिरहेका छौ,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले मेरोलगानीसँग भने।

रानाभाटका अनुसार अघिल्ला वर्षहरूको अनुभवलाई हेर्ने हो भने बैंकहरुले स्थायी तरलता उपयोग गर्नु भन्दा अघि नै शेयर बजारमा त्यसको प्रेसर शुरु भईसक्ने गरेको हुन्थ्यो। किनकि समस्या आउनु भन्दा अघि नै स्टकले त्यसको अनुमान गरी हाल्ने गरेको हुन्थ्यो। तर, यति बेला तरलता टाइटको स्थिति आएको दुई महिना बितिसक्दा समेत बजारमा त्यसको ठुलै असर देखिएको छैन। जसले गर्दा पनि शेयर बजारको डाइमन्सन नै परिवर्तन भएको निष्कर्षमा पुगिएको हो।

किन देखिएन असर?

बजारमा तरलता टाइटको असर नदेखिनुको प्रमुख कारणको रुपमा ऋण भन्दा पनि स्वपूँजी परिचालनको मात्रा बढ्नुलाई लिइएको छ। अघिल्ला बुलहरुमा ऋणको टेवा सबैभन्दा बढी रहने गरेका थिए। तर, यस पटक स्वपूँजी बढी परिचालन भएको अनुमान गर्न थालिएछ। ऋण लिएर लगानी गर्न सकिने भन्दा पनि ऋण नपाउने कम्पनीहरूको शेयरहरूमा आकर्षण बढ्दै जानु यसको प्रमुख आधार हो। जुन शेयरमा ऋण प्रवाह हुँदैन तिनै कम्पनीको शेयरको उच्च कारोबार हुनु भनेकै स्वपूँजी परिचालन हुनु हो।

गएको तीन महिना यता सबैभन्दा बढी कारोबार हुने बैंकिङ समूहलाई जलविद्युत समूहले पछि पार्दै आएको छ। गएको जेठमा मात्रै जलविद्युत कम्पनीको ६८ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुँदा वाणिज्य बैंक समूह ५८ अर्बमा नै सीमित भएको थियो। त्यस अघि वैशाखमा पनि जलविद्युत कम्पनीले नै कारोबारमा अग्रता कायम गरेको थियो। साप्ताहिक कारोबारमा जलविद्युत र वाणिज्य बैंक समूह भदौमा अघि/पछि हुँदै आएका छन्।

जलविद्युत समूह र वाणिज्य बैंक समूह बीच कारोबार रकममा तीव्र प्रतिस्पर्धा चल्दै गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्ने सूचीकृत कम्पनीमा सबै वाणिज्य बैंक अटाउने गरेका छन्। तर, जलविद्युत समूहका भने चार कम्पनी मात्रै वाणिज्य बैंकको शेयर कर्जा पाउने लिस्टमा समेटिएका छन्। ती कम्पनीहरूमा बुटवल पावर, चिलिमे हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर र अपर तामाकोशी छन्। अरू कुनै पनि जलविद्युत कम्पनीलाई वाणिज्य बैंकले शेयर ऋण दिने सूचीमा स्थान दिएका छैनन्।

तर, दोस्रो बजारमा भने वाणिज्य बैंकबाट शेयर ऋणका लागि अयोग्य ठहरिएका कम्पनीकै शेयर मूल्य बढेका छन्। जसले गर्दा पनि यति बेला तरलता र ब्याजदरले समेत शेयर बजारलाई खासै प्रभाव पार्न नसकेको हो। शेयर ऋणको टेको बिनै मूल्य बढेका कम्पनीलाई तरलता र बढ्दो ब्याजदरले छुन सकिरहेको छैन। बरु तरलता र ब्याजदरको असर भने शेयर ऋण योग्य कम्पनीहरूलाई सबैभन्दा बढी प्रभाव पार्न थालेको छ। तरलता सङ्कट र ब्याजदर बढ्ने हल्लासँगै वाणिज्य बैंकका शेयर घट्दो लयमा देखिएका छन्।

पुराना लगानीकर्ता डराए, नयाँ डराएनन्

तरलता र ब्याजदरका विषयले सबैभन्दा बढी पुराना लगानीकर्ता डराएका छन्। तरलता टाइट हुने खबरसँगै पुराना लगानीकर्ताहरू तीन पटक बजारबाट बाहिरिएर पुन: भित्रिएको अवस्था देखिएको छ। यसअघि यिनै कारणले शेयर बजार घटेको अनुभव सँगालेका कारण पनि उनीहरू पटक पटक शेयर बजारबाट बाहिरिँदै र पुन: भित्रँदै गरेका हुन्। “सबैभन्दा पहिले पुराना लगानीकर्ता सूचक २६०० को आसपासमा हुँदा बाहिरिएका थिए। तर, बजार घट्न मानेन त्यसपछि उनीहरू पुन: बजार प्रवेश गरे। तीन हजारको आसपासमा बजार पुग्दै गर्दा दोस्रो पटक उनीहरूको बाहिरिने क्रम बढ्यो। त्यसपछि पनि बजार तङ्ग्रियो। उनीहरूलाई बजारले पुन: पस्न बाध्य बनायो। फेरि उनीहरू ३२ सयको लाइनमा बाहिरिएका छन्,” रानाभाटले भने।

खासगरी बजारबाट बाहिरिनेहरूमा पुराना लगानीकर्ता बढी छन्। तर, नयाँ लगानीकर्तालाई भने अहिले यसको कुनै असर देखिएको छैन। उनीहरूमा असर नदेखिनुको प्रमुख कारण भनेको उनीहरू आफ्नै पूँजीमा शेयर किनबेच गर्ने गर्छन्। शेयर ऋण नपाइने कम्पनीमा उनीहरूको बढी लगानी हुनु, विदेशबाट पनि मनग्गे कारोबार हुनु र लगानीकर्ताको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिले बढी काम गरिरहेको छ। “यति बेला बजारमा हरेक ब्रोकर कम्पनीबाट औसतमा २५ हजार लगानीकर्ताले शेयर कारोबार गर्ने गरेका छन्। ५० ब्रोकर कम्पनीबाट एकै पटक एक लाख भन्दा बढी लगानीकर्ता सहभागिता देखिने गरेको छ। त्यसमा पनि विदेशबाट कारोबार गर्ने उल्लेख्य बढेका छन्। एकातर्फ लगानीकर्ताको सहभागिता बढ्दै छ भने अर्को तर्फ स्वपूँजीमा कारोबार गर्नेको सङ्ख्या हाबी हुँदै गएको छ। जसलाई ब्याजदर र तरलताले खासै फरक पारिरहेको छैन। तर नयाँको दाँजोमा पुरानामा भने ब्याजदर र तरलताको बढी नै त्रास देखिन थालेको छ। तर जसरी पुराना लगानीकर्ताले अनुमान गरिरहेका छन्, पछिल्ला समय उनीहरूका अनुमान भने लगातार फेल हुन थालेका छन्। नयाँ लगानीकर्ताले पुराना लगानीकर्तालाई आफ्नो सोच बदल्न बाध्य पार्न थालेका छन्,” अर्का पूर्व अध्यक्ष प्रियराज रेग्मीले भने।

शेयर बजारमा ऋणको भन्दा स्व पूँजीको मात्रा बढ्दै जानुलाई राम्रो सङ्केतको रुपमा हेर्न थालिएको छ। जसले बैंकको ब्याजदर तरलतासँग जोडिँदै आएको बजारको उतार चढावको चक्रलाई तोड्न टेवा पुर्याउदै गएको छ। यसले आउने दिनमा नेपाल राष्ट्र बैंकले ल्याउने गरेको नीतिले जुन प्रभाव बजारमा पर्ने गरेको छ। त्यसलाई न्यूनीकरण गर्दै लैजान अनुमान विश्लेषकहरूले गर्न थालेका छन्। जुन बजारका लागि बलियो पक्ष हुने उनीहरूको भनाई छ। ३२ सयको उच्च रेकर्डलाई तोडेर बजार अघि बढेमा ब्याजदर र तरलताको विषयले शेयर बजारबाट सधैको लागि बिदा पाउने विश्लेषकहरूको दाबी छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।