ओरालो लागेको शेयर बजारमा सबैभन्दा बढी प्रेसर बीमा कम्पनीमा ? वाणिज्य बैक समूहमा ठुलो असर नदेखिनुको कारण यस्तो छ

Sep 17, 2021 04:46 PM merolagani



सुवास निरौला

चुलिँदै गएको तरलता सङ्कट र बढ्दै गएको ब्याजदरका कारण ओरालो लागेको शेयर बजारमा सबैभन्दा बढी प्रेसर बीमा कम्पनीहरूको शेयरमा परेको छ। गएको १५ दिनको कारोबारमा बीमा क्षेत्रको शेयरमा सबैभन्दा बढी प्रेसर परेको देखिएको हो।

गत भदौ १६ गतेदेखि भदौ मसान्तसम्ममा शेयर बजारले १३४.०१ अंक गुमाएको छ। भदौ १६ मा २९७७.०९ अंकमा रहेको सूचक भदौ मसान्तमा २८१२.३८ अंकमा ओर्लिदा सूचकले उक्त अंक गुमाएको हो। बजारले सर्वाधिक उचाइबाट भने ३८६.२२ अंक गुमाइ सकेको छ। गत भदौ दुई गते बजार ३१९८.६० अंकको सर्वाधिक उचाइबाट ओर्लन सुरु गरेको हो।

तर गएको १५ दिनमा सबैभन्दा बढी बीमा समूहको उप सूचक घटेको छ। बीमा समूहका दुवै सूचकले उल्लेख्य अंक गुमाएका छन्। सबैभन्दा बढी अंक गुमाउने उपसूचकको पहिलो हरफमा निर्जीवन बीमा समूह देखिएको छ। उसले ११७०.९८ अंक गुमाएको छ। त्यसैगरी गुमाउने उपसूचकहरूको दोस्रो हरफमा जीवन बीमा समूह देखिएको छ। उसले ९०५.०१ अंक गुमाएको छ। गुमाउने उपसूचकहरूको पुछारमा सामूहिक लगानी कोष परेको छ। उसले जम्मा जम्मी ०.८४ अंक मात्रै गुमायो। गुमाउने सूचिको पुछार भन्दा एक स्थान माथि वाणिज्य बैक समूह देखिएको छ। उसले ७९.८ अंक गुमायो।

बजार घट्दै गर्दा छोटो समयमा मूल्य बढेका कम्पनीहरूमा तीव्र प्रभाव पर्नु स्वाभाविक देखिए पनि लामो समयदेखि स्थिर जस्तै रहेका कम्पनीमा सबैभन्दा ठुलो प्रभाव पर्नुलाई भने लगानीकर्ताहरूले गम्भीरतापूर्वक लिएका छन्। किनकि लामो समयदेखि बीमा कम्पनीहरूको मूल्य खासै बढ्न सकेका थिएनन्। तर तिनै कम्पनीमा घट्दो लयको सबैभन्दा बढी प्रभाव पर्दा लगानीकर्ता गम्भीर देखिएका हुन्। बीमा समितिको कडाइ र हकप्रदमा लागेको अङ्कुशका कारण शेयर मूल्यमा प्रभाव परेको लगानीकर्ताको अनुमान छ। “बीमा समितिले हकप्रदमा कडाइ गरेको छ भने अर्को तर्फ प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नै पर्ने बाध्यता समिति सिर्जना गरिदिएपछि उनीहरूको मूल्य खासै बढ्न सकेको थिएन। अर्को तर्फ कोरोनाको कारण दाबी भुक्तानीमा समेत समस्या देखिदा शेयर मूल्यमा प्रभाव परेको हाे” लगानीकर्ता निर्मल बस्नेतले मेरो लगानीसँग भने।

विकास बैक र फाइनान्सका उप सूचक समेत तीव्र गतिमा ओरालो लागेका छन्। उनीहरूको शेयर मूल्य छोटो समयमै बढेको कारणले पनि विकास बैंक र फाइनान्समा चाप देखिएको बस्नेतको विश्लेषण छ। लगानीकर्ताहरूले छोटो समयमै निक्कै राम्रो नाफा गरेका छन्। नाफा समाउन हतार हतार शेयर बिक्री चाप बढाउँदा शेयर मूल्य तीव्र गतिमा घटेको हो। शेयर मूल्य तीव्र गतिमा घटेकै कारण उपसूचकमा उल्लेख्य गिरावट देखिएको बस्नेतले बताए।

उता सामूहिक लगानी कोष र वाणिज्य बैक समूह भने सबैभन्दा सुरक्षित देखिएका छन्। सामूहिक लगानी कोषहरूको प्रतिफल राम्रो भइकन पनि उनीहरूको इकाई मूल्य त्यसै पनि डिस्काउन्ट रेटमा रहेको कारणले पनि उक्त समूहमा घट्दो बजारको प्रेसर नपरेको बस्नेतको भनाइ छ। अरू समूहको तुलनामा वाणिज्य बैकको शेयर मूल्य खासै नबढेको कारण घट्दा पनि उसको घटाइ सामान्य जस्तै देखिएको हो। जसलाई स्वाभाविक नै मान्नु पर्ने बस्नेतको जिकिर छ।

पछिल्लो समयको गिराबाटको असर सबै क्षेत्रमा देखिएको छ। धेरै थोरै सबै समूह घटेका छन्। तर अरू सबैको दाँजोमा जलविद्युत समूहको सूचक भने औसतमा देखिएको छ। उसको सूचकमा सामान्य मात्रै प्रभाव परेको छ। जलविद्युत क्षेत्रमा आउने भनिएको हकप्रदले लगानीकर्तालाई अलि बढी नै कन्फिडेन्स देखिएको छ। जसले गर्दा पनि उक्त समूह भने औसतमा देखिएको बस्नेतले बताए।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।