मर्जर टुटे पनि शेयर कारोबार फुकुवा नहुने

Oct 11, 2021 08:02 AM Merolagani

बाबुकृष्ण महर्जन
पछिल्लो समय धेरै कम्पनीहरुको मर्जर भाँडिए पनि नेपाल स्टक एक्सचेन्जमा कारोबार फुकुवा भएको छैन। पछिल्लो पटक डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र नाडेप लघुवित्त वित्तीय संस्थाबीचमा मर्जर भाँडिएको थियो।

नयाँ कम्पनीमा शेयर संरचना र कर्मचारीको पद समायोजनमा कुरा नमिल्दा मर्जर भाँडिएको थियो। डिप्रोक्सले मर्जरलाई आफूमा गाभ्न सम्झौता गरेको हुँदा डिप्रोक्स लघुवित्तको शेयर कारोबार रोक्का भएको छैन भने नाडेप लघुवित्तको शेयर कारोबार रोक्का छ। नेपाल राष्ट्र बैंकले डिप्रोक्ससँगको मर्जर भाँडिएपनि नाडेपको कारोबार फुकुवा गर्न अनुमति दिएको छैन।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान विभिन्न सहुलियत दिएर प्रोत्साहन गरिरहेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि मर्जर गरेमा अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छुट दिइने, राष्ट्र बैंकको संस्थागत मुद्दती निक्षेप संकलन सीमामा १० प्रतिशत विन्दुले थप गरिने, राष्ट्र बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दुले थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजत प्राप्त अन्य संस्थामा आवद्ध हुन नपाउने विद्यमान प्रावधान लागू नहुनेलगायतका छुट प्रदान गरेका छन्। त्यस्तै लघुवित्त मर्जर गर्ने सवालमा एउटै व्यक्ति/समूहद्वारा प्रबर्द्धन भएका संस्थाहरुलाई चालु आर्थिक वर्षको असार मसान्तसम्म मर्जरमा जान निर्देशन समेत दिएको छ।

लघुवित्तलाई दबाबमूलक मर्जरमा जान दबाब दिए पनि वाणिज्य बैंकहरुलाई भने दबाब दिएको छैन। दबाब नदिए पनि वाणिज्य बैंकलाई मर्जरमा जान विभिन्न छुट दिएको अवस्था छ। मर्जरको सहमति गरिसकेपछि कुनै कारणले मर्जर टुटेमा भने दोस्रो पार्टनर खोजेर मर्जर सफल पार्नुपर्ने नीति राष्ट्र बैंकले लिएको छ। मर्जरमा जान सहमति गरिसकेपछि कुनै कारणले मर्जर टुटेकै कारणले मात्र शेयर कारोबार फुकुवा नगरिने राष्ट्र बैंकको प्रवक्ता देवकुमार ढकालले बताए।

‘मर्जरमा जान सहमित भएर कम्पनीको शेयर कारोबार रोक्का भइसकेपछि पुनः कारोबार खुल्न दुवैले एकीकृत कारोबार गरेको हुनुपर्छ। अनि मात्र कम्पनीको शेयर कारोबार फुकुवा हुन्छ,’ उनले भने। एक कम्पनीसँग मर्जर टुटेमा दोस्रो कम्पनी खोजेर मर्जर गर्नुपर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘पहिलोसँग मर्जर टुटेमा दोस्रो कम्पनीसँग मर्जर गरेर एकिकृत कारोबार गरेपछि मात्र शेयर कारोबार फुकुवा हुन्छ। मर्जर भाँडिएकै कारणले मात्र अब कारोबार फुकुवा हुँदैन,’उनले भने।

राष्ट्र बैंकको यो नीतिको सबैभन्दा लामो समयको असर सहारा विकास बैंकलाई परेको छ। सहाराले करिब ५ वर्ष पहिले तत्कालीन देवः विकास बैंकमा विलय हुने सम्झौता गरे पछि बैंकको कारोबार रोक्का भएको थियो। देवः विकास बैंक पछि आफै कुमारी बैंकमा विलय भयो। देवः विकास कुमारी बैंकमा विलय भएपछि सहारा विकास बैंकसँगको मर्जर भाँडियो तर राष्ट्र बैंकले शेयर कारोबार भने खुला गरिदिएन। राष्ट्र बैंकले सहारालाई अर्को मर्जर पार्टनर खोजेर मर्जरको लागि दबाब दियो। बैंकले केही समय अघि मात्र फरि गरिमा विकास बैंकसँग मर्जरमा जाने सहमति गर्याे। गरिमासँग सम्झौता भएपछि २०७७ असोज १८ गतेदेखि शेयर कारोबार रोकिएको सूचना नेप्सेले आफ्नो वेवसाइटमार्फत सार्वजनिक गर्याे। राष्ट्र बैंकको नीतिको कारण शेयरधनीको सम्पत्ति भने लामो समयदेखि बन्धक रहन पुगेको छ।

त्यसैगरी, समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच पनि मर्जर सम्झौता भाँडिएको छ। केन्द्रीय कार्यालय राख्ने विषयमा कुरा नमिल्दा यी दुई बीचको मर्जर भाँडिएको थियो। समाज लघुवित्त नेप्सेमा सूचीकृत संस्था हो भने स्वस्तिक लघुवित्त शेयर निष्काशन नगरेको संस्था हो। समाज लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि अहिलेसम्म एकपटक पनि कारोबार भएको छैन।

आँधीखोला लघुवित्त र धौलागिरी लघुवित्तको पनि समान समस्या रहेको छ। यी दुई संस्थाबीच मर्जरको सहमति भएपनि मर्जर हुन सकेन। आँधीखोलाको शेयर नेप्सेमा सूचीकृत भएपनि मर्जर टुटेर अन्य पार्टनर खोजीमा रहेका कारण अझै पनि शेयर कारोबार खुला भएको छैन।

आरम्भ चौतारी लघुवित्त, सीआईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच तर, करिब ३ महिनाको छलफलपछि संस्थाको मर्जर नहुने निश्चित भयो। हाल आरम्भ चौतारी लघुवित्तको शेयर फुकुवा भइसकेको छ भने सीआईसी र शालिग्राम लघुवित्त भने आइपीओ जारी नगरेका लघुवित्तहरु हुन्। राष्ट्र बैंकले आरम्भ चौतारीको शेयर कारोबार भने फुकुवा गरेकाे छ। राष्ट्र बैंकको अनुसार आरम्भ र चौतारी पहिले नै मर्जरमा गएर संयुक्त कारोबार गरेको संस्था भएका कारण काराेबार फुकुवा भएकाे हाे।

अहिले नेप्सेमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक, वोमी लघुवित्त र सुर्योदय लघुवित्त, नेपाल सेवा लघुवित्त र विन लघुवित्त, घोडाघोडी लघुवित्त र युनिक नेपाल लघुवित्त मर्जरका कारण शेयर कारोबार रोक्का अवस्थामा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।