पहिलो त्रैमासमा बैंकहरुको बिजनेशः ६७ अर्ब निक्षेप संकलन हुँदा ५ गुणा बढी कर्जा लगानी, ८ बैंकको निक्षेप घट्यो

Oct 21, 2021 06:31 PM Merolagani

बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलनको तुलनामा ५ गुणा बढी कर्जा लगानी गरेका छन्। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकहरुले ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले असोज मसान्तसम्ममा ४२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा भने यस वर्ष निक्षेप संकलन कम देखिएको छ।

पहिलो त्रैमासमा सनराइज बैंकले सबैभन्दा धेरै निक्षेप बढाएको छ। बैंकले अघिल्लाे महिना ब्याजदर बढाएर वाणिज्य बैंकहरुमध्यकै सबैभन्दा धेरै पुर्याएपछि उसको निक्षेप संकलन ह्वात्तै बढेको थियो। चालु आर्थिक वर्षमा बैंकले १९.८१ प्रतिशतले निक्षेप संकलन बढाएको छ।

गत भदौ महिनादेखि ब्याजदर बढाएर उच्च बिन्दुमा पुर्याएका बैंकहरुको भने निक्षेप संकलन धेरै बढेको छ। सनराइज बैंक, एनसिसि बैंक, सानिमा बैंकलगायतले असाेज महिनामा ब्याजदर उच्च विन्दुमा पुर्याएका थिए जसले गर्दा असाेज महिना मात्रै उनीहरुको निक्षेपमा भारी वृध्दि भएको देखिन्छ।

पहिलो त्रैमासमा ८ वटा बैंकको भने निक्षेप घटेको छ। यस अवधिमा सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको निक्षेप १०.३४ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको पनि ८.४१ प्रतिशतले घटेको छ।

  • निक्षेपको ५ गुणा बढी कर्जा लगानी

पहिलो त्रैमासमा बैंकहरुले निक्षेपको ५ गुणा बढी कर्जा लगानी गरेका छन्। ३ महिनाको अवधिमा बैंकहरुको कर्जा लगानी ७.४६ प्रतिशतले बढेको छ।

गत असार अन्तिमसम्ममा ३७ खर्ब २० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी असोज अन्तिमसम्ममा ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। यो भनेको २ खर्ब ७७ अर्ब रुपैयाँको बृद्धि हो। जम्मा ६७ अर्ब रुपैयाँले बढेको निक्षेपसँग तुलना गर्ने हो भने कर्जा लगानी निक्षेप संकलनभन्दा ५ गुणाभन्दा धेरै हो।

पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले कर्जा लगानी सबैभन्दा धेरै १६.१८ प्रतिशतले बढाएको छ भने सनराइज बैंकले पनि १४.७८ प्रतिशतले बढाएको छ।

यो ३ महिनामा निक्षेप घटेका बैंकहरुले पनि कर्जा लगानी भने बढाएका छन्। पहिलो त्रैमासमा सबैभन्दा धेरै निक्षेप घटेको नेपाल बंलादेश बैंकले कर्जा लगानी भने ४.७४ प्रतिशतले बढाएको छ।

समिक्षा अवधिमा प्रभु बैंकको कर्जा लगानी सबैभन्दा कम २.५७ प्रतिशतले मात्रै बढेको छ भने मेगा बैंकको पनि २.७० प्रतिशतले मात्रै बढेको छ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुमा कर्जाको माग उच्च छ। तर त्यो मागलाई धान्ने निक्षेप संकलन हुन सकेको छैन। स्रोत कम भए पनि बैंकहरुले कर्जा लगानी भने बढाइरहे जसले गर्दा अहिले केहि बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव देखिन्छ।

बैंकहरुमा निक्षेप संकलन बढ्न नसकेपछि केन्द्रिय बैंकले तोके अनुसारको सिआरआर व्यवस्थापन गर्न समेत बैंकहरुलाई अप्ठयारो परेको अवस्था छ तर केन्द्रिय बैंकबाट स्थायी तरलता सुविधा लिएर सिआरआर व्यवस्थापन गर्न आफुसँग भएको रकम भने कर्जाको रुपमा दिइहाल्ने प्रवृत्ति बैंकहरुले दोहोर्याइरहे । यसले गर्दा अहिले बैंकहरुसँग लगानीयोग्य रकम सकिंदै गएको छ भने नयाँ निक्षेप पनि बढ्न सकेको छैन। सोहि समस्याको कारण लगानीयोग्य रकम जोहो गर्न बैंकहरुले एक अर्काकै निक्षेप खोस्ने गरी ब्याजदर बढाउने खेल सुरु गरेका छन्।

राष्ट्र बैंकले केहि समय अघि देखि नै बैंकहरुलाई निक्षेप अनुसार मात्रै कर्जा लगानी बढाउन आग्रह गर्दै आएको थियो। तर बैंकहरु नयाँ कर्जा लगानीमा आक्रामक बन्दा अहिले तरलता संकटको सामना गर्नुपरेको अवस्था छ।

  • कार्तिकदेखि ब्याजदर उच्च रुपले बढेपनि झनै घट्यो निक्षेप

कार्तिकदेखि बैंकहरुले मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा धेरैसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजानिक गरेका थिए। उच्च ब्याजदर प्रस्ताव गर्दा प्रणालीमा निक्षेप बढ्नुको साटो उल्टै घटेको छ।

असोज मसान्तसम्ममा बैंकहरुसँग ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। तर कार्तिक ३ गते बेलुकासम्ममा बैंकहरुसँग ४२ खर्ब ४३ अर्ब रुपैयाँ मात्रै निक्षेप रहेको केन्द्रिय बैंकको तथ्याँकले देखाउँछ। यो ३ दिनमा नै बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले घटेको देखिन्छ।

बैंकहरुले निक्षेप बढाउन ब्याजदर बढाएपनि प्रणलीमा निक्षेप झनै घटेको देखिन्छ। तर एक बैंकले अर्को बैंकको निक्षेप खोस्ने क्रम भने राेकिएकाे छैन ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।