“रोपेर फूल गोदावरी, सजाऔँ घर वरिपरि” भन्ने मूल नाराका साथ ललितपुरकाे जाउलाखेल स्थित फुटबल मैदानमा प्रदर्शनी हुन लागेको एशाेसिएसनका कार्यक्रम संयोजक जेबी तामाङले जानकारी दिए।
तामाङका अनुसार प्रदर्शनीमा ४४ वटा व्यवसायीक स्टलहरू हुने छन् भने चार स्टल कार्यालय प्रयोजनको लागि तयार गरिएको छ। प्रदर्शनीमा कुल ४८ स्टल हुने छन्। यस वर्ष भने प्रदर्शनी अवलोकनको लागि जाने अवलोनकर्ताले प्रदर्शनी स्थल प्रवेशको लागि शुल्क तिर्नु पर्ने छ। यस पटक सर्वसाधारणको लागि प्रति व्यक्ति एक सय रुपैयाँ शुल्क तोकिएको छ। बिद्यार्थीहरुलाइ भने आयोजकले ५० प्रतिशत छुट दिने भएको छ। यस अघि भने प्रदर्शनीमा निःशुल्क प्रवेश दिइने गरिएको थियो।
पुष्प प्रति आकर्षण हुनेमात्र सहभागी हुन भन्ने उद्देश्य अनुरूप शुल्क तोकिएको तामाङको भनाइ छ। यसले अनावश्यक भीडभाड कम हुने आयोजकको अनुमान छ।
उक्त प्रदर्शनी कार्तिक १२ देखि शुरु भएर कार्तिक १५ गते समापन हुने छ। करीव ७० हजार मानिसले प्रदर्शनी हेर्ने अनुमान आयोजकको छ। तर शुल्क लगाइएका कारण उक्त सङ्ख्या भने थोरै घट्न सक्ने अनुमान आयोजकको छ। गत वर्ष ६५ हजार मानिसले मेला अवलोकन गरेका थिए।
फूलको व्यवसाय कस्तो छ ?
प्रत्येक वर्ष नेपालमा फूलको माग बढ्दो अवस्थामा थियो। तर लकडाउन भएसँगै पुष्प व्यवसायमा समेत यसको असर देखिएको छ। अघिल्लो वर्ष तीन अर्ब रुपैयाँ हाराहारीमा भएको पुष्प व्यवसाय गत वर्ष भने घटेको छ। गत वर्ष कारोबार खुम्चिएर एक अर्ब ६३ करोडमा झरेको तामाङले जानकारी दिए। कोभिडको कारण पुष्प व्यवसायमा समेत मन्दी आएको कारण व्यवसाय घटेको हो।
पुष्प व्यवसायमा मुलुक लगभग आत्मनिर्भरको अवस्थामा पुगेको छ। पुष्प व्यवसायमा ९१ प्रतिशत पुष्प आन्तरिक उत्पादनले धान्ने गरेको छ भने बाँकी ९ प्रतिशत भने आयात हुने गरेको छ। निर्यातमा भने खासै प्रगति देखिएको छैन। गत वर्ष नेपालबाट कुल ४८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ भने आयात ३४ करोड रुपैयाँ भन्दा बढी भएको एशाेसिएसनको भनाइ छ।
तिहारमा कस्तो हुन्छ व्यवसाय ?
खासगरी नेपालमा तिहार र भ्यालेन्टाइन डेमा सबैभन्दा बढी फूलको माग हुने गर्छ। तिहारमा मखमली,सयपत्री र गोदावरीको सबैभन्दा बढी माग हुन्छ भने भ्यालेन्टाइन डे मा गुलाफको माग बढी हुन्छ। सामान्य अवस्थामा आन्तरिक उत्पादनले नै बजार धान्ने भए पनि तिहार र भ्यालेन्टाइन डे मा भने आन्तरिक उत्पादनले मात्रै माग धान्ने गरेको छैन। जसले गर्दा पनि यी समयमा सबैभन्दा बढी फूलको आयात हुने गर्छ।
यस वर्ष पनि आन्तरिक उत्पादनले नधान्ने देखिएपछि फूल आयत गर्ने तयारीमा व्यवसायी छन्। हुन त नेपालमा तिहारमा प्रत्येक घरले १० वटासम्म माला प्रयोग गर्ने गरेको अनुमान एशाेसिएसनको छ। तर ती मालालाई एशाेसिएसनले गणना गर्दैन। यस वर्ष झन्डै साढे १५ लाख माला प्रयोग हुने अनुमान गरिएको छ। जसमा १३ लाख १८ हजार माला आन्तरिक उत्पादनबाटै पूर्ति हुने र बाँकी दुई लाख ३२ हजार माला भने आयत हुने अनुमान छ।
गत वर्ष पनि १५ लाख ३० हजार माला चाहिने अनुमान एशाेसिएसनले गरेको थियो। उक्त वर्ष भने झन्डै १६ लाख माला खपत भएको थियो। यो वर्ष पनि त्यही अनुपातमा माला बिक्री हुने अनुमान एसोसिएसनको छ।
यस वर्ष पानीको कारण मालाको मूल्य थोरै बढ्न सक्ने अनुमान एसोसिएसनको छ। थोकमा प्रति माला ६० देखि ६५ रुपैयाँ तय हुने एशाेसिएसनको भनाइ छ। यस वर्ष सिजन भन्दा अघि नै आएको बेमौसमी वर्षाका कारण फूल उत्पादन कम भएको कारण पनि मूल्य बढ्न सक्ने अनुमान व्यवसायीको हो। थोकमा ६० रुपैयाँको पर्ने भए पनि खुद्रा मूल्य भने ८० रुपैयाँदेखि एक सय रुपैयाँ सम्म पर्न सक्ने एशाेसिएसनको भनाइ छ।