नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई एशियाको एक अब्बल दर्जाको कम्पनीको रुपमा विकास गर्ने र एक विश्वास योग्य कम्पनीको रुपमा बिश्वमा स्थापित गर्ने, उचित प्रतिफल दिने र सामाजिक उत्तरदायित्व पूरा गर्ने संस्थाको रुपमा सबैले चिनुन् भन्ने मेरो चाहना र योजना रहेको छ ।
हाल कम्पनीमा दक्ष जनशक्तिको अभाव छ, सूचना प्रविधिलाई चाहे अनुरुप प्रयोग गर्न सकिरहेका छैनौं तैपनि यसको शाख बजारमा राम्रो छ ।
नेपालमा पुनर्बीमा कम्पनीका चुनौतिहरु के कस्ता छन् ? ती चुनौतिलाई पार लगाउन के गर्नु पर्छ जस्तो तपाईलाई लागेको छ ?
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चुनौती भनेको स्वदेशी बीमा बजारमा दक्ष जनशक्तिको अभाव, पारदर्शीताको कमी, अस्वस्थ्य प्रतिस्पर्धा र नियम, कानून र नियमनकारी निकायबाट जारी निर्देशिकाको पूर्ण रुपमा परिपालना हुन नसक्नु हुन् । हुन त यी क्षेत्रमा बिगतको तुलनामा अहिले निकै सुधार भइरहेको छ र भबिष्यमा निकै सुधार हुने नै छ ।
आज हाम्रो कम्पनीलाई एशियाका बीमा बजारका खेलाडीले राम्रोसँग चिन्दछन् । हाम्रो चुनौती भनेको युरोप तथा अमेरिकामा पहिचान बनाउनु हो । यस्ता चुनौतीबाट पार पाउनका लागि दक्ष जनशक्तिको विकास गर्ने,विश्व बजारको जोखिम लिने र हस्तान्तरण गर्ने र विश्वका बीमा तथा पुनर्बीमा कम्पनीहरुसँग व्यवसायीक सम्बन्ध स्थापित गर्नु नै हो ।
यस बाहेक, सबै बीमा कम्पनीलाई लगानीको अवसर कम हुने, ठगी र जालसाजीले गर्दा खर्च बढ्ने जस्ता चुनौती रहेका छन् ।
यी चुनौतीलाई छिचोल्नका लागि दरिलो नियमनकारी निकायको भूमिका प्रमुख हुन्छ भने हामीले पनि इमान्दारीका साथ व्यवसाय गर्नु पर्दछ । हामी व्यवसायिक हुनु जरुरी छ ।
नेपालमा पुनर्बीमा कम्पनीका अवसर पनि छन भनिन्छ । ती अवसरलाई कसरी उपयोग गर्ने सोचाइमा हुुनुहुन्छ ?
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको मुख्य अवसर भनेको नेपालको बजार बिस्तार गर्ने हो किनकी नेपालको बजार असीमित छ । साथै, एशियाको बजारको सम्भावना पनि अति नै धेरै छ । यसबाट हामीले निकै फाइदा लिन सक्दछौं । यी अवसरको उपयोग गर्नका लागि नयाँ रणनीति बनाएर अघि बढ्नु जरुरी छ ।
पहिला नेपालमा पुनर्बीमा गराउनका लागि नेपाल पुनर्बीमा कम्पनी मात्र थियो । अहिले हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि थपिएको छ । त्यसैगरी, अन्य रिइन्स्योरेन्स कम्पनी पनि आउने तयारी गर्दैछन् । पुनर्बीमा कम्पनी बीच प्रतिस्पर्धा बढ्ने सम्भावना देखिएको छ । प्रस्पिर्धामा नेपाल पुनर्बीमा कम्पनीलाई कसरी खरो रुपमा उतार्ने तयारी गर्नु भएको छ ?
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सरकारी स्वामित्वको कम्पनी हुनुको नाताले यसलाई राज्यबाट खास सुविधा प्राप्त हुँदै आएको छ । सरकारी संरक्षणका कारण पनि विश्व बजारमा यसको छवि राम्रो रहेको छ ।
यस बाहेक यसको पहिचान एशियामा राम्रो रहेको छ भने आगामी दिनमा यो शाखलाई कायम गर्दै विश्व बजारमा प्रवेश गर्ने हाम्रो योजना रहेको छ । प्रतिस्पर्धाले नै कम्पनीलाई झन् सशक्त र बलियो बनाउने छ । प्रतिस्पर्धा हुनु राम्रो हो ।
व्यवसायिक कम्पनीलाई प्रतिस्पर्धी हुनुले खासै असर गर्दैन । यसबाट झन् खरो रुपमा उत्रिन मदत गर्दछ ।
रिइन्स्योरेन्सका लागि नेपाली बीमा कम्पनी विदेश जाने परिपाटीको आशिंक अन्त्य त नेपाल पुनर्बीमा कम्पनीले गरेको छ । रिइन्स्योरेन्सका लागि पूर्ण रुपमा विदेश जानु नपर्ने अवस्थाको अन्त्य सम्भव छ कि छैन ?
जोखिम एउटा देश भित्रमात्रै राख्ने काम बिल्कुलै राम्रो होइन । देशको जोखिमलाई विश्वभरी नै छर्नु पर्दछ । अन्य देशको जोखिमलाई भित्र्याउने र आफ्नो जोखिमलाई बाहिर पठाउने काम बराबरीको अधार हुनु पर्दछ ताकी बिदेशी मुद्रा आर्जन पनि होस् र खर्च पनि होस् । शत प्रतिशत स्वदेशमा नै जोखिम राख्नु राम्रो होइन, बीमाका सिद्धान्तले जोखिमलाई सकेसम्म धेरै ठाउँमा बितरण गर भन्दछ ।
नेपाल पुनर्बीमा कम्पनी आएपछि वार्षिक रुपमा विदेश जाने रकम कति रोकिएको छ ?
आर्थिक वर्ष २०७७।७८ मा झण्डै ७ अर्बको प्रिमियम बिदेश जान रोकियो र हामीले यो व्यवसाय भित्राउन सफल भयौं । । हामीसँगको जोखिमको सानो हिस्सा मात्रै बिदेशका बिभिन्न बीमा तथा पुनर्बीमा कम्पनीमा जाने गर्दछ । हामीले रोक्ने काम मात्रै गरेका छैनौं, बिदेशी कम्पनीको समेत पुनर्बीमा गरेका छौं ।
विदेशबाट पुनर्बीमा नेपालपुनर्बीमा कम्पनीमा गराउन सक्ने सम्भावना के कति छन् । सम्भावना छैन भने के ले रोकेको छ ?
विश्वमा करिब १२० देश रहेका छन् र हजारौं सख्यामा बीमा कम्पनीहरु छन् । यस्तो संभावना धेरै छ किनकी हाल हामीले ३२ देशमा ५० वटा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध राखेका छौं । तसर्थ भविष्यमा अधिकांश देशबाट व्यवसाय लिनका लागि पहल गरिनेछ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई विश्व स्तरीय संस्थाद्धारा रेटिङ गराउन सकेमा र सोबाट कम्तिमा पनि एए प्लस सरहको रेटिङ गर्न सकेको खण्डमा पचासौ अर्बकोे बिजनेस आउन सक्छ ।
ब्यावधानहरुको कुरा गर्ने हो भने दक्ष जनशक्तिको कमी,कम्पनीको क्रेडिटीबिलिटी निर्धारण गर्न नसक्नु र समग्रमा कुरा गर्दा देशको पनि क्रेडिटिबिलिटी के कति छ भन्ने कुरा हालसम्म एकिन हुन नसक्नु समस्याका रुपमा देखिन्छ ।
रेटिङको समस्या छ भन्ने गरिन्छ ? रेटिङका लागि भएका पहलहरु ?
हामीले के कुरा स्वीकार्नु पर्दछ भने तत्कालै रेटिङ गर्ने हो भने हामीलाई राम्रो खालको मार्क आउने संभावना कम छ । जहाँसम्म विश्व स्तरीय संस्थाबाट रेटिङ गर्न सकिदैन कि भन्ने कुरा छ, केही बर्षमा हामी रेटिङ गर्न सक्छौ र राम्रो मार्क पनि ल्याउन सक्नेर्छौं । यसको लागि राम्रो पूर्व तयारी हुनु आवश्यक छ । यसको लागि केही समय लाग्न सक्दछ ।
जब हामी तयारी पूरा गर्दछौं, तब हामीले चाहे अनुसारको रेटिङ पाउछौं । हालको समस्या भनेको दक्ष जनशक्ति र सफ्टवेयर नै हो । भविष्यमा हामी दक्ष जनशक्तिको विकास गर्दछौ र सफ्टवेयरको पनि विकास गर्छाैं ।
हाल हामी आन्तरिक समस्या समाधान गर्ने, लोकसेवा मार्फत दक्ष जनशक्ति भर्ना गर्ने, आफनै भवन निर्माण गर्ने, सबै खालका क्रियाकलापहरुको राम्रो डकुमेन्टेशन गर्ने र बजार बिस्तार गर्ने, जोखिम व्यवस्थापनमा देशलाई सहयोग गर्ने जस्ता काममा ब्यस्त छौं । यसबाट नेपाल रीको राम्रो छवि निर्माण हुनेछ ।
नेपालमा जीवन र निर्जीवन बीमा गर्नेको संख्या ज्यादै कम छ । यसलाई बढाउन के गर्नुपर्छ ?
राज्यको नीतिले बीमा गर्नेको संख्या र बीमाबापत तिर्ने रकम निर्धारण गर्दछ । नेपालमा बीमा नगरे पनि बाँच्न सकिन्छ भन्ने आँट मानिसहरुमा छ । यदि बीमा नगर्दा उनीहरुलाई संकट आउन थाल्दछ, मानिसहरु आफैं बीमा कम्पनीमा धाउन थाल्दछन् । हामी कहाँ एकाध पोलिसीहरु बाहेक धेरै खालका बीमा पोलिसीहरु छन् जुन अनिवार्य छैनन् ।
यसलाई बढाउन राज्यको नीति बीमामुखी हुनु पर्दछ, बीमा समिति र कम्पनीहरु बीच राम्रो समन्वय गरी बीमा शिक्षाको शुरुवात गनु पर्दछ । अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नु पर्दछ । बीमालाई अनिवार्य बनाउन सक्ने हो भने प्रिमियम घट्ने थियो र सस्तोमा सबैले किन्ने थिए ।
बीमालाई ब्यापक बनाउन बीमा पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ । पत्रकारहरुलाई बृत्ति विकास गर्न सकियो भने पनि बीमा बजार बलियो हुनेछ र ब्यापक रुपमा मानिसहरुले बुझ्ने छन् । यस तर्फ पनि बीमा समिति र कम्पनीहरुले ध्यानदिनु पर्दछ ।
र, अन्त्यमा तपाईलाई सरकारले दिएको जिम्मेवारी पूरा गर्न सकिदैन भन्ने त लागेको छैन् ?
राज्यको तर्फबाट मलाई एउटा जिम्मेवारी आएको छ, जसलाई इमान्दारीका साथ कार्यन्वयन गर्ने सन्दर्भमा पत्रकार जगतको सकारात्मक सहयोगको अपेक्षाा र स्वच्छ आलोचनाको सदैव स्वागत गर्ने छु ।